प्रचण्डले माधवलाई सोधे : पार्टी फुट्दा हामीतिर कति हुन्छन ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समुह पार्टी एकता भन्दा बिभाजनकै रोडम्यापसहित अघि बढेको तथ्य बाहिर आएको छ ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक आक्षेपसहित आरोपपत्र प्रकाशन गरेर अघि बढेको प्रचण्ड-माधव समुहले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने एक सूत्रीय अभियानसहित पार्टी बिभाजनकै दिशामा अघि बढेको पाइएको हो । प्रचण्ड-माधव समुहले बिहीबार काठमाडौंमा वाग्मती प्रदेशका जिल्ला पदाधिकारीको भेला गरी बिभाजनको प्रष्ट रोडम्यापसहित आफूतिर कति संख्यामा जिल्ला पदाधिकारी र सदस्यहरु आउछन भन्ने प्रश्न गरेको छ । वाग्मती प्रदेश कमिटी ईन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले आयोजना गर्नुभएको भेलामा वाग्मती प्रदेशका दाहाल–नेपाल निकट जिल्ला इन्चार्ज, सह–इन्चार्ज, अध्यक्ष र सचिव सहभागी थिए ।
सो भेलामा इञ्चार्ज शाक्य र अध्यक्ष दाहालले पार्टी फुटदा हामीतिर कति हुन्छन ? भन्दै प्रश्न सोध्नुभएको थियो । भेलामा सहभागी एक नेताका अनुसार शाक्य र दाहालले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबिरुद्ध चर्काे बिष बमन गर्दै अहिलेको मुख्य कार्यभार वा लडाई भन्नु नै ओली हटाउनु रहेको बताउनु भएको थियो । उहाँहरुल ओलीलाई अध्यक्ष र प्रधानमन्त्री स्वीकार गरेर अव एउटै पार्टीमा बस्नु भनेको आफूहरुको आत्महत्या हुने भन्दै स्थानीय तहसम्म अभियान चलाएर शक्ति आँकलन गर्नुपर्ने निश्कर्ष निकालिएको छ ।
ओलीलाई देखाएरै छाडने भन्दै पार्टी फुटदा हामीतिर कति हुन्छन भन्ने प्रश्न गरेपनि सहभागीहरुले भने बिभाजनमा आफूहरुको साथ नपाउने निश्कर्ष सुनाएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीबिरुद्ध जाँदा जिल्ला र स्थानीय तहमा जनतामाझ स्थापित भएका नेता कार्यकर्तादेखि जनतासम्मको साथ पाउन नसक्ने तथ्यसमेत राखेका थिए । ‘पार्टी बिभाजन गर्ने योजना हो भने त्यागि हाल्नोस, फुट्यो भने कोही पनि लाग्दैनन, पार्टी फुटनु हुन्न,’ सहभागी जिल्ला नेताहरुको भनाई उधृत गर्दै अर्का नेताले भने, ‘तर हामीलाई जिल्लामा पनि यस्तै भेला गरेर समग्र अवस्थाबारे बताउने भनिएको छ ।’
ती नेताका अनुसार भेलामा अधिकांश समय बिभाजन हुने निश्चित भइसकेकोले हरेक जिल्लामा पार्टी कार्यालय कब्जादेखि स्थानीय तहसम्म अभियान लैजानसमेत निर्देशन दिइएको छ । ‘तपाईहरुले नचाहे पनि पार्टी त फुटने नै भयो, कात्तिकदेखि नै यो अभियान अघि बढेको छ, तपाईहरु पनि अव दुविधामा नपरी त्यसैअनुसारको तयारी गर्नाेस भन्ने प्रचण्ड र माधव कमरेडको निर्देशन छ,’ शाक्य र दाहालको भनाई उधृत गर्दै ती नेताले भने ।


