वरिष्ठ गायक जगतमर्दन थापाको निधन
वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन भएको छ । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे उनको निधन भएको छोरा मोहितमर्दन थापाले बताए ।कोरोना संक्रमणपश्चात् लगभग एक महिनादेखि थापा अस्पतालमा उपचाररत थिए । झन्डै डेढ हप्ताअघि कोरोनामुक्त भए पनि छातीमा समस्या देखिएपछि थापालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।बाबुको जागिरे जीवनकै क्रममा सप्तरीको बरमझियामा जन्मेका थापाले २०१३ सालबाट नै रेडियो नेपालबाट आफ्नो सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका थिए । अध्ययनसँगै साहित्य र संगीतमा निरन्तर लागेका थापाले २०१८ सालमा नै कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए । २०२१ सालमा उनले कथासंग्रह ‘पलाँसको फूल’ ल्याएका थिए ।
थापाले सञ्चय कोष, कृषि चुन उद्योग जस्ता निकायमा रहेर तीन दशकभन्दा लामो सरकारी सेवा गरे । ५० को दशकमा जागिर जीवनपछि पुन: उनी सांगीतिक क्षेत्रमा सक्रिय भएका थिए । यसै क्रममा उनले ‘४० वर्ष अघि र ४० वर्ष पछि’, ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’, ‘म मक्किएको धुरी खाँबो’ जस्ता एल्बम ल्याए । संगीतलाई जीवनको अपरिहार्य तत्वका रुपमा लिएका थापाले ६४ वर्षका उमेरमा शास्त्रीय संगीतको ज्ञानलाई निरन्तरता दिई ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।नेपाली गीतसंगीतलाई मौलिकता झल्कने गरी अमर र अजर बनाउनुपर्छ भन्ने धारणा राख्ने थापा महामारीकालमा पनि ८५ औं जन्मोत्सवको अवसरमा छैटौं एल्बम सार्वजनिक गर्नलाई दौडधुपमा नै थिए ।
थापाको निधनप्रति दु:ख व्यक्त गर्दे कलाकार मदनकृष्ण श्रेष्ठले संगीतका अलावा कर्म क्षेत्रमा अडिग र अटल भएर लाग्ने एउटा कर्मठ, मिलनसार र निष्ठावान व्यक्तित्वलाई मुलुकले गुमाएको बताए । सञ्चय कोषमा जागिरकै क्रममा आधा दशकभन्दा लामो समय थापासँगै बिताएका श्रेष्ठले भने, ‘उहाँको निधनले पुरानो समयको असाध्यै याद आयो । सञ्चय कोषमा हामीसँगै काम गर्दा उहाँ संगीतको कुरासँगै गाउनु हुन्थ्यो भने मचाहिँ क्यारिकेचर गर्थेँ । मनोरञ्जनका लागि उहाँलगायत हाम्रो छुट्टै टिम नै थियो ।’थापाका एक छोरा र तीन छोरी छन् । छोरा मोहितका अनुसार थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ ।


