प्रचण्डलाई सूर्य थापाको प्रश्न, जननेता मदन भण्डारीप्रति किन यति धेरै वैरभाव ? (भिडियोसहित)
प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जननेता मदन भण्डारीप्रति किन यतिधेरै वैरभाव भन्दै प्रश्न गरेका छन् । एक अनलाइनसँगको विशेष सम्वादमा बोल्दै सल्लाहकार थापाले उक्त प्रश्न गरेका हुन् । मदन भण्डारी प्रतिष्ठानप्रति यतिधेरै वैरभाव राख्नेले आफ्ना सन्तानप्रति यतिका धेरै मोह राख्न नहुने उनको भनाइ छ ।
उनले भने–‘मदन भण्डारी फाउण्डेसन न पार्टीले बनाएको हो न यो पार्टीसँग सम्बन्धित छ । न पार्टीले सञ्चालन गर्छ । मदन भण्डारी प्रतिष्ठान र मदन भण्डारीप्रति यो वैरभाव किन ? प्रज्ञा फाउण्डेसन प्रज्ञा स्मृति प्रतिष्ठान के हो त ? अहिले भर्खर प्रचण्डले दुई वटा पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठानमार्फत प्रकाशित गर्नुभएको छ । प्रकाश र ज्ञानुको नाम होइन त्यो ? मदन भण्डारीप्रति यत्रो वैरभाव किन ? छोरा छोरीप्रति यत्रो मोह किन ? पुष्पलाल मिलाप केन्द्र प्रज्ञा प्रतिष्ठान के हुन् ?’ आफ्ना छोराछोरीका नाममा प्रतिष्ठान चलाउनेले मदन भण्डारी छोरी उषा किरणको अध्यक्षतामा संचालित फाउण्डेसनप्रति पनि आशंका गर्न नहुनेमा उनको जोड छ ।
त्यस्तै आफूभन्दा बढी स्थापित नेताहरुलाई खुइल्याउने कार्यकारी अध्यक्ष दाहालको बानी भएको इतिहासले पुष्टि गरेको प्रेस सल्लाहकार थापाको भनाइ छ ‘उहाँको ऐतिहासिक विकास क्रमलाई हेर्दा आफूभन्दा बढी स्थापित नेताहरुलाई खुइल्याउने देखिन्छ’–उनले भने ‘सुरुको बेलादेखि नै पुष्पलालको विरुद्धमा मोहन विक्रमले । चाहे मोहन विक्रमको विरुद्धमा उहाँहरुको संलग्नतामा भरत दाहालले यस्ता प्रस्तावहरु राख्दै आएको पाइन्छ । चाहे गद्दार पुष्पलाल होस् । चाहे अराजकवादी व्यक्तिवाद वा अवसरवादको नेपाली आयाम होस् ।’ साथै अहिले पनि यी चिजहरुकै निरन्तरताका लागि कार्यकारी अध्यक्ष दाहालले विवाद सृजना गर्ने गरेको उनको आरोप छ । कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सैद्धान्तिक, वैचारिक, राजनीतिक, नेतृत्व वा हरेक प्रकारको प्रतिस्पर्धा गर्न नसकेकाले तेजोवध गरिएको उनको भनाइ छ ।
त्यस्तैगरी कार्यकारी अध्यपक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताप्रति गैरजिम्मेवार रहेको उनको आरोप छ । उनले भने–‘एक वर्षदेखि पार्टी एकताका कामहरु स्थगित छन् । मंसिर ४ गते क. प्रचण्डले पार्टी एकताका काम गर्ने क। ओलीले पूरै पाँच वर्ष सरकार चलाउने सचिवालयले सहमति गरेको थियो । त्यसपछि स्थायी र केन्द्रीय कमिटी बैठक बसेपछि जारी गरिएको विज्ञप्तिमा १०, १५ वा एक महिनामा पार्टी एकताका बाँकी काम टुंग्याउने भनिएको थियो । पार्टीका कार्यकारी अध्यक्ष दाहाललाई पार्टी एकताका काममा लागेको देख्नु भएको छ ? यो पार्टी एकताप्रतिको गैरजिम्मेवारीपन हो ।’
पार्टी एकताका काम गर्न कोरोना कहरले रोके पनि दिनहुँ गुट र उपगुटका बैठक गर्न नरोकेको सल्लाहकार थापाको आरोप छ । कोरोना कहरले पार्टी एकताका काम गर्न रोकेको भन्नु नजर एकातिर तीर अर्कोतिर भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीलाई अयोग्य र असफल भएको व्यक्तिको रुपमा चित्रित गर्ने पात्रहरु आफू बसेको पद वा जिम्मेवारी पूरा गर्न नसक्नेहरु नै भएको उनको दाबी छ । साथै, कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल पक्षले पार्टीभित्र जति विधि र पद्धतिका कुरा गरे पनि अन्ततः विवाद भागबण्डामा नै गएर मिल्ने गरेको उनको भनाइ छ ।