नेपाल र गौतमलाई फकाउदै ओली, तर असफल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अन्तर कलह उत्कर्षमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्व एकमालेका नेताहरुसँगको भेटघाट बोक्लो बनाएका छन् ।
एजेण्डागत रुपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग नजिक रहेका वरिष्ठ नेता माधव नेपालसँग २८ कात्तिकको सचिवालय बैठकपछि ओलीले दुईपटक संवाद गरिसकेको अवस्था छ ।
तिहारको रमझम चलिरहेका बेला बेचैनीमा रहेका प्रधानमन्त्री ओलीले आइतबार त झन्डै साढे ४ घण्टा नेता नेपालसँग विमर्श गरे । नेपालसँग भेट्नुअघि बिहानै करिब एक घण्टा प्रचण्ड कित्तामा रहेका पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग पनि ओलीले संवाद गरेका थिए । नेकपा स्रोतका अनुसार ओलीसहित उनीनिकटका नेताहरु नेता नेपाललाई अध्यक्षको अफर गरिरहेका छन् । त्यो आइतबारको भेटमा पनि दोहोरिएको छ ।
ओलीनिकट स्रोतका अनुसार नेपालसँगको संवादमा अध्यक्ष ओलीले ‘मैंले के त्याग गर्नुपर्छ सबै त्याग गर्न तयार छु र तपाईंलाई मैले के गर्नुपर्ने सबै गर्न तयार छु’ भनेर प्रस्ताव गरेका थिए । त्यसको अर्थ ओली र नेपाल समूहबीच मिल्ने प्रस्ताव थियो र विवाद सचिवालयबाट टुंगो लगाउनुपर्ने पक्षमा ओली थिए ।
ओलीले प्रष्टै रुपमा विवादलाई स्थायी समितिमा नलैजाऔं भनेर पनि प्रस्ताव गरेको स्रोतका दाबी छ। त्यसको जवाफमा नेपालले विषय कमिटिमा आईसकेकोले अब कमिटिमा छलफल गर्नुपर्ने अडानमात्र राखेनन्, कसले के त्याग गर्ने र कसले के प्राप्त गर्ने हो त्यो ठोस प्रस्ताव सचिवालय बैठकमा लिएर आउनु भनेका थिए । अहिले ओली समूह र राष्ट्रपति भण्डारी नेपाल समूहलाई फकाउनुपर्ने पक्षमा छन् ।
जसरी ओली र नेपालबीचको संवाद प्रीतिकर भएन, आजै बिहान वामदेव गौतम र ओलीबीचको संवाद पनि आशातित थिएन । आइतबार बिहानको भेटमा पनि गौतम २८ कात्तिकको झै कडा रुपमा ओलीसँग प्रस्तुत भएका थिए । गौतमले प्रष्टैसँग अहिले साथ दिन नसकिने बताएका थिए ।
आइतबारको भेटमा गौतमले ‘दस्तावेज प्रचण्डको एकल नभएको मात्रै होइन, ओलीको कमजोरीलाई स्वीकार गरेर जान नसकिने’ भनाइ पनि राखेका थिए ।
स्रोतका अनुसार, नेता गौतमले आइतबारको भेटमा ‘ओलीलाई २६ भदौको स्थायी कमिटी बैठकमा सहमति कार्यान्वयनदेखिका कमजोरी स्वीकार गरेर सार्वजनिक आत्माआलोचना गर्नुस् र पार्टीभित्र सहमतिको वातावरण बनाउनुहोस् प्रचण्डको दस्तावेज फिर्ता गराउने जिम्मा म लिन्छु’ समेत भनेका थिए ।
तर, ओली अहिले राजनीतिक दलसम्बन्धी अध्यादेश र मध्यववधि निर्वाचनको चर्चा गराएर प्रचण्डलाई दबाबमा राख्ने रणनीतिमा छन्, जसले गर्दा प्रचण्डको दस्तावेज फिर्ता गराउन सकियोस् । गौतम र नेपालसँगको निरन्तर संवादले पनि प्रचण्डलाई मनोवैज्ञानिक दबाब पर्ने रणनीति बुझेका ओली नेपालसँग सहमति नजुट्ने सम्भावना हुदँहुँदै पनि भेट गरिरहेका छन् ।
नेकपा स्रोतका अनुसार नेपालसँगको आइतबारको भेट भने राष्ट्रपति विद्यादेवी भण्डारीको सुझावअनुसार भएको हो । नेकपामा संकट गहिरिदैँ गएपछि राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार प्रधानमन्त्री ओली शीतलनिवास पुगेका थिए ।
हुन त, २८ कात्तिकमा सचिवालय बैठक सकिएलगत्तै ओलीले पूर्वएमालेका नेताहरुलाई फकाउने प्रयास गरेका थिए । ४५ मिनेट लामो बैठक सकिएलगत्तै अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता झलनाथ खनाल बाहिरिए अनि ओलीले माधव नेपाल, वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेल, विष्णु पौडेललगायत नेताहरुसँग विमर्श गरेका थिए ।
अनपेक्षित रुपमा अध्यक्ष प्रचण्डले १९ पेजको राजनीतिक प्रतिवेदन पेश गरेपछि ओली तनावमा परेका थिए । सो तनावपछि ओली माधव नेपालसहितका नेतालाई फकाउने प्रयासमा लागेका हुन् । नेकपा स्रोतका अनुसार त्यतिबेला पनि ओलीले प्रचण्डको दस्तावेजमाथि प्रश्न उठाएका थिए । तर तपाईका धेरै सुन्नु छैन भनेर गौतम १५ मिनेट पनि नबसी निस्केका थिए ।
ओलीसँग पछिल्ला दिनमा नारायणकाजी श्रेष्ठ र झलनाथ खनाल निकै आक्रोशित छन् । कुनै बेला सरकार ढाल्न हुँदैन भनेर हिड्ने श्रेष्ठमा बढ्दो आक्रोशकै कारण खनाल र श्रेष्ठलाई सम्झाउन सकिदैन भन्ने ठानेर हुनसक्छ, त्यस दिन उनीहरु निस्केपछि अन्यसँग बसेका थिए । तर, त्यस बसाईमा पनि नेता नेपालले भने प्रचण्डको दस्तावेजलाई एकल दस्तावेजका रुपमा नलिन र आफू सुुध्रिन सुझाव दिएका थिए ।
लिखित दस्तावेज नै प्रस्तुत भएपछि थप तनावमा परेका ओली सचिवालय बैठकको भोलिपल्ट २९ कात्तिकमा आफ्नो समूहका नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, भानुभक्त ढकाललगायतका नेताहरुसँग विमर्श गरेका थिए । ओलीले चाल्न सक्ने सम्भावित कदममाथि विमर्श गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
स्रोतका अनुसार शीतल निवासमा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र पार्टी विभाजनका लागि तयार हुने, संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने सम्मका विषयमा छलफल केन्द्रित थियो । तर राष्ट्रपति भण्डारीले भने माधव नेपाललाई फकाउन सुझाव दिएकी थिइन् ।
सचिवालयको समीकरणमा फेरबदल ल्याउने परिस्थितिको निर्माणका लागि माधव नेपाललाई साथ लिनुपर्ने र प्रचण्डमाथि दबाब बढाउनुपर्ने राष्ट्रपति भण्डारीको सुझावपछि ३० कात्तिक (आइतबार) दिउँसो करिब साढे ४ घण्टा ओली र नेपालबीच संवाद भयो । नेकपाको सचिवालयका ५ जना नै दस्तावेज छलफलमै लैजाने मुडमा देखिएका कारण ओली अहिले सबै मुद्दा सचिवालयमै टुंगो लाउने प्रयत्नमा छन् ।
बहुमत सचिवालय सदस्यले दस्तावेज स्थायी समिति र केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरे थप समस्या हुने देखेर प्रधानमन्त्री ओली अहिले जसरी पनि नेता नेपाललाई फकाउने प्रयासमा लागेको नेपालनिकट एक नेताले दाबी गरे । तर, नेपाल अहिले ओलीसँगको सम्बन्धमा प्रचण्डभन्दा पर पुगेका छन् ।


