केपीले मात्र गर्न सक्ने केही ऐतिहासिक कामहरू



 

पृथ्वीका कुनै पनि राज्य र सरकारहरूको मूख्य कार्य आफ्नो सीमाको सुरक्षा गर्नु, जनतामा एकता र सद्भावको स्थिति बनाइराख्नु, सार्वभौमिक सर्वोच्चता र अखण्डताको रक्षा गर्नु, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, जनताको जिन्दगी र सम्पत्तिको सुरक्षा गर्नु, जनजीवन सहज र सुलभ तुल्याउनु, रोजगारी प्रवद्र्धन गर्नु, आर्थिक विकासको मार्ग पहिचान गर्दै समृद्ध मुलुक बनाउनु, देशमा न्यायिक सुनिश्चितता दिनु र पर्यावरणीय स्वच्छता कायम गर्नुलाई मानिन्छ । राज्यहरूको परिकल्पना माक्र्सवादी दृष्टिमा एउटा वर्गले अर्को वर्गमाथि शोषणका निम्ति भएको मानिए पनि प्लेटो या अरिस्टोटलको विचार दर्शनका आधारमा भन्नुपर्दा मानव, प्राणी, वनस्पति र पर्यावरणको कल्याणका निम्ति राज्य स्थापना भएको मान्न सकिन्छ ।

पूर्वीय दर्शनका पौराणिक शास्त्रहरूले पनि राज्यलाई एउटा कल्याणकारी संस्था या निकाय नै मानेको छ । त्यसैले सामान्य अवस्थामा संसारका कुनै पनि मुलुकमा बनेका या बन्ने सरकारहरू आफ्नो विदेश–नीतिद्वारा राष्ट्रिय हित संरक्षण गर्ने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, बजार भाउ नियन्त्रण गरी सुलभ र गुणस्तरीय उत्पादन जनतालाई उपलब्ध गराउने, न्याय, रोजगारी, शिक्षा, स्वास्थ्य र सुरक्षाको ग्यारेण्टी दिने, प्रशासनलाई जनमुखी एवम् कार्यमुखी तुल्याउने र विकास तथा समृद्धिको मार्ग छोट्याउने काममा केन्द्रित रहेका हुन्छन् । नेपालमा हाल अस्तित्वमा रहेको केपी शर्मा ओली नेतृत्वको सरकारले गर्नुपर्ने मूल कार्य पनि यिनै हुन् । र, यसलाई सामान्य अवस्थामा गरिने सामान्य काम मानिन्छ ।

तर विगत डेढ दशकयता नेपालले असामान्य अवस्थाको सामना गर्दैछ र, जनताले पनि असामान्य काम र कदमको अपेक्षा केपी ओलीबाट गर्दैछन् । त्यो असामान्य काम राष्ट्रियतासम्वद्ध छ र, देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा मौलिक धर्म/संस्कृति सङ्कटमा परेको हुनाले नै केपीलाई असामान्य कर्म सम्पन्न गर्ने अवसर मिलेको छ । सरकारले गर्नैपर्ने सामान्य काममा सरकार असफल रहेको ठानिएका बेला केपी ओली असामान्य काम गरेर राष्ट्र र आफ्नो साख जोगाउन पाउने सुविधामा हुनुहुन्छ ।

विश्वमा जुनसुकै स्तरको ठगी क्रान्ति, शान्ति, समृद्धि, परिवर्तन आदि नाममा भइरहेका हुन्छन् । मिखाइल गोर्वाचोभले ग्लास्नोस्त र पेरोस्त्रोइका (खुलापन र पुनःसंरचना) का नाममा सोभियत जनतालाई एकतावद्ध तुल्याउँदै देशको (सोभियत सङ्घ) विघटन गराउने विदेशी इच्छा पूरा गरिदिएका थिए । सिक्किमका क्रान्तिकारी नेता लेण्डुप दोर्जीले पनि परिवर्तनको नाममा इन्दिरा गान्धीको सपना साकार पारिदिएका हुन् । बाबराक कर्माल र नजिव उल्लाहहरूले पनि क्रान्ति र परिवर्तनकै नाममा अफगानिस्तानलाई आजको अवस्थामा पुऱ्याइदिएका हुन् । माओ त्से तुङ्गले चिनियाँ अर्थतन्त्र तथा समाजलाई ध्वस्त पारिदिएको पनि क्रान्ति र सांस्कृतिक क्रान्तिकै नाममा हो । देङ सियाओ पिङ्ले प्रतिक्रान्तिकारी, दक्षिणपन्थी र संशोधनवादीको आरोप ब्यहोर्दै पूर्वगल्तीहरूलाई करेक्सन गर्ने हिम्मत नगरेका भए चीन आजको समृद्ध स्वरूपमा पुग्न सम्भव थिएन ।

एक दृष्टिले राजनीतिकर्मीहरू दुई प्रकारका हुन्छन्, आफ्नो महत्वकाङ्क्षा पूरा गर्न देशलाई दाउमा राख्नेहरू र देशको महत्वकाङ्क्षा पूरा गर्न आफूलाई दाउमा राख्नेहरू । नेपाल डेढ दशकयता ‘आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न देशको दाउमा राख्नेहरू’को कब्जामा परेको छ र, यसबाट मुलुकलाई मुक्त गर्ने हिम्मत भएका नेताका रूपमा केपी शर्मा ओलीलाई हेरिँदैछ । प्रचण्ड-बाबुरामले प्रधानमन्त्री पद पाउनका लागि २०५२ सालमा शुरु गरेको हिंसात्मक सङ्घर्ष र त्यसको परिणामका रूपमा प्राप्त पीडाबाट देशलाई मुक्ति दिलाउने सामर्थ्य केपीले पनि दर्शाउन सक्नुभएन भने समकालिक अन्य कुनै नेताबाट यो महान् कार्य सम्पादन हुने सम्भावना रहन्न । परायाशक्तिको इच्छा र इसारामा नेपालको नाम परिवर्तन गर्न भएको प्रयासलाई केपी ओली र उहाँको पार्टीले असफल तुल्याइदिएको स्मरण नेपाल रहेसम्म भइरहने छ ।

 ( लेखक, देवप्रकाश त्रिपाठी )

नेपाललाई तेह्र जातीय राज्यमा विभाजन गर्न भएको प्रयास असफल तुल्याउन पनि केपी र उहाँको पार्टीले नै योगदान दिएको हो । सात भागमा विभाजित सार्वभौमिकतालाई जातीय राज्य नामाकरण गर्न प्रचण्ड-बाबुराम आदिबाट भएको दुष्प्रयत्नलाई चित पार्दै प्रदेशहरूको सर्वमान्य नाम चयन गराउन पनि केपीकै मूख्य योगदान रहेको छ । देशलाई ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नभनी ‘नेपाल’का रूपमा मात्र चिनाउने निर्णय जुन केपी ओली नेतृत्वको सरकारले गरेको छ, यसलाई पनि यो साहसिक कार्य मान्नुपर्ने हुन्छ । केपीका यस्तै कार्यले प्रचण्ड-बाबुरामहरूको छटपटी बढाएको बुझ्न सकिएन भने कालान्तरमा छटपटिने पालो सबै नेपालीको आउने छ ।

केपी ओलीले सामन्ती राजा-महाराजाबाट निर्माण भएको भनेर रानीपोखरीको उपेक्षा गर्नुभएन, भत्किएको रानीपोखरी पुनर्निर्माणलाई उच्च प्राथमिकता दिनुभयो । ऐतिहासिक धरहरा ठड्याउँदै हुनुहुन्छ, अब पोखराको मध्यभागमा राष्ट्रद्रोहीहरूद्वारा ढालिएको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक उठाउने अपेक्षा पनि केपीबाट नै राखिएको छ । पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मान्यता प्रदान गर्दै उक्त दिन सार्वजनिक बिदा दिएर उत्सवपूर्ण ढङ्गले मनाउने कार्यको थालनी गराउन सकेमा केपी ओलीको स्मरण चिरकाल पर्यन्त भइरहने छ । पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिका रूपमा अपनाउँदै उनलाई ‘राष्ट्रपिता’ घोषणा गर्ने र पृथ्वीनारायण शाहको तस्बिररअङ्कित नेपाली नोट प्रचलनमा ल्याउन सक्ने हो भने नेपाली जनताको मन केपीले सदाका निम्ति जित्न सक्नुहुनेछ ।

विख्यात भूगर्भशास्त्री एवम् नेपालप्रेमी टोनी हेगनले ६ दशकअघिको एक घटना सन्दर्भलाई समेत उल्लेख गरेर प्रकाशित पुस्तकमा नेपालको जनगणना गर्दा ‘कुन धर्म मान्ने कति छन्’ भनी जनगणनाको फाराममा उल्लेख भएको कुरालाई विस्मातपूर्ण मानेका छन् । नेपालमा केन्द्रीय तथ्याङ्क विभागको स्थापना भइसकेपछि त्यसको काम-कारबाही बारे जानकारी पाउन उक्त कार्यालय पुग्दा फारामको ढाँचा देखेर आफू चिन्तित भएको हेगनले आफ्नो पुस्तकमा लेखेका छन् । युरोपियन ढाँचाको जनगणना फारामका कारण नेपालमा जातीय एवम् धार्मिक द्वन्द्व निम्तिन सक्ने चिन्ता उनको थियो । तर २०६३ को परिवर्तनपछि प्रचण्ड-बाबुरामहरू जातिवाद, क्षेत्रियतावाद र बहुराष्ट्रियता जस्ता विनासकारी मुद्दा उठाएर नेपाली-नेपालीबीचको एकता बिथोल्न निरन्तर प्रयत्नरत छन् ।

जातियतामा आधारित आरक्षण प्रणालीले परस्पर शङ्का र अविश्वासलाई स्थायित्व दिँदै अन्ततः द्वन्द्व र विभाजनको जग मजबूत बनाइरहेको छ । त्यसैले जातीयतामा आधारित आरक्षण प्रणाली खारेज गरी विपन्न, अशिक्षित र अन्य कुनै कारणले पछाडि परेका जनतालाई विशेष अवसर दिइने नीति अवलम्बन गर्नु उपयुक्त हुनेछ । आरक्षणको आधार ‘जात’ नबनाएर ‘वर्ग’ बनाउने व्यवस्था केपीले गर्न सक्नुभयो भने मुलुकलाई लगाएको अर्को एउटा ‘गुन’ यही हुनेछ ।

प्रचण्ड-बाबुरामझैँ केपी ओली प्रजातन्त्रविरुद्धको हिंसात्मक सङ्घर्षमा कहिल्यै कुनै पनि प्रकारले संलग्न हुनुभएको थिएन । झापामा लघु स्तरमा भएको हिंसात्मक क्रियाकलापसँग केपीको नाम त जोडियो, तर त्यसबेला प्रजातन्त्र नभएर पञ्चायती राज्य-प्रणाली मुलुकमा थियो । प्रजातान्त्रिक पद्धतिमा रमाएको र, सोही प्रणालीभित्र जनताको मन र विश्वास जितेर सत्ता प्राप्त गर्न सफल केपी ओली जनमतको कदर गर्न खोज्ने/सक्ने नेतामा पर्नुहुन्छ । र, उहाँलाई एकासी प्रतिशत भन्दा बढी (ओमकार परिवारसम्वद्ध चौरान्नब्बे प्रतिशत) जनताको भावनाविपरीत विदेशी योजना र इच्छाअनुसार नेपालको मौलिक पहिचान (हिन्दुराष्ट्र) मेटेर धर्मनिरपेक्ष बनाइएको पनि राम्रोसँग थाहा छ ।

बहुसङ्ख्यक जनताको भावनाविपरीत निर्णय लिने कामलाई प्रजातन्त्रसम्मत मानिँदैन र, केपी ओली प्रजातन्त्रसम्मत बाहेकका काममा अभिरुचि लिनुहुन्न भन्ने विश्वास अहिले पनि धेरैमा छ । एकातिर जातिवादी विखण्डनकारी र अर्कोतिर समाजवादको नाममा एकल अधिनायकवादीको चङ्गुलबाट मुलुकलाई मुक्त गर्ने हो भने जनभावनाअनुरूप नेपाललाई विश्वको एक मात्र हिन्दुराष्ट्रका रूपमा राख्नु उपयुक्त हुनेछ । हिन्दुराष्ट्रको अवधारणाले नेपालको आन्तरिक एकता (तराई-पहाड)लाई मजबूत तुल्याउने छ र, संसारमा नेपालको विशिष्ट पहिचान पनि पुनःस्थापित हुनेछ । बौद्ध, किराँत, जैन, शिख, बोनसहित नेपालको एकीकरणमा विशिष्ट योगदान पुऱ्याउने इस्लाम धर्मावलम्बीहरूको समेत संरक्षण गर्ने वैदिक सनातन हिन्दुराष्ट्र बनाउन केपीले अग्रसरता लिँदा उहाँ नेपाली जनताको मनबाट नेपालको अस्तित्व रहेसम्म अस्ताउनुहुने छैन ।

विश्वमा सङ्घीय संरचनाको अवधारणा विभाजित देशहरूलाई जोड्नका निम्ति ल्याइएको हो । ब्रिटिस साम्राज्यवादविरुद्ध अमेरिकाका तेह्र राज्यहरू एक भएर सङ्घर्ष गरेपछि जुन सुखद परिणाम हासिल भयो, त्यही खुशीलाई कायम राख्न उनीहरू ‘सङ्घ’ बनाउने निर्णयमा पुगे र, परिणामस्वरूप ‘संयुक्त राज्य अमेरिका’को जन्म भयो । तर नेपालमा जोड्नका लागि नभइ तोड्नका निम्ति सङ्घीय अवधारणा भित्र्याइएको जगजाहेर छ । एकात्मकतामा रमाइरहेको मुलुकलाई कृत्रिम ढङ्गले सङ्घीयतामा लैजाँदा हासिल हुने परिणाम भनेको युक्रेन, नाइजेरिया, सुडान र इथियोपियाकै जस्तो हो । त्यसैले स्थानीय तह (गाउँ र नगरपालिका)लाई अझै अधिकारसम्पन्न तुल्याउँदै विकास कार्यमा सहभागी गराउने र, केन्द्रसँग स्थानीय तहको सम्बन्ध थप सुदृढ बनाउँदै प्रदेशको अवधारणा खारेज गरिएमा त्यसले मुलुकलाई विभाजनको दिशामा जानबाट रोक्नेछ, राष्ट्रिय खर्चमा भइरहेको असाध्य वृद्धिमा नियन्त्रण आइ साधारणतर्फको खर्च न्यून हुनेछ । यो महान् कार्यका निम्ति अगुवाई गर्न सक्ने केपीबाहेक अन्य कुनै नेता यतिबेला देखापरेका छैनन् । पृथ्वीनारायण शाहले बनाएको र जङ्गबहादुर राणा, भीमसेन थापा, कालु पाँडे, बलभद्र कुँवर, भक्ति थापा तथा राजा महेन्द्रले बचाएको नेपाल सुगौली सन्धिपछि सबैभन्दा ठूलो सङ्कटको सामना गर्दैछ । यदि केपी ओली सङ्घीयताको बोझबाट मुलुकलाई मुक्त गर्न समर्थ हुनुभयो भने उहाँको नाम इतिहासमा स्वर्णाक्षरले लेखिनेमा शङ्कै गर्नुपर्ने छैन ।

को प्रगतिशील, को राष्ट्रवादी देशभक्त, को क्रान्तिकारी र को प्रतिगामी भन्ने कुराको निर्धारण कार्य-परिणामले गर्ने गर्दछ । गणतन्त्रमा जानु प्रगतिशील र त्यसबाट फर्किएर राजसंस्था पुनर्स्थापित गर्नु प्रतिगमनकारी कार्य थियो भने त्यस्तो प्रतिगामी कार्य बेलायतीहरूले सन् १६५९ मै गरेका हुन् । कङ्गो र जिम्बावे जस्ता मुलुकको क्रान्तिकारिता भन्दा बेलायतको प्रतिगमन लाखौँ गुणाले सही सावित भएको छ । त्यसैले देश र जनताको हित हुने कार्य नै वास्तविक अर्थमा प्रगतिशील भएको तथ्यलाई हामी सबैले स्विकार गर्न सक्नुपर्छ ।

क्रान्तिकारिताको आवरणमा उत्तर कोरिया, जिम्बावे र भेनेजुएलाले भोगेको परिणति नेपालले भोग्नु नपर्ने स्थितिको निर्माण गर्ने साहस केपीले पनि गर्न सक्नुभएन भने वर्तमानमा देखापरेका अनेक आकार-प्रकारका राजनीतिजीवीहरूबाट यो सम्भव हुने छैन । बाटोघाटो, सडक र भौतिक विकासको संरचना आवश्यकता र सामर्थ्यअनुसार बन्दै जान्छन् । विकास कार्यमा योगदान पुऱ्याउनेहरूलाई दीर्घ कालसम्म स्मरण गरिन्छ, तर राष्ट्र रक्षामा योगदान पुऱ्याउनेहरूको कीर्ति मुलुकको अस्तित्व रहेसम्म स्तुत्य रहन्छ । चङ्गेज खाँ जस्ता क्रुर र घृणायोग्य ठहरिएका व्यक्ति पनि देश निर्माणमा योगदान पुऱ्याएका कारण हज्जार वर्षपछि सम्मानित भए । मङ्गोलियाले केही वर्षअघि मात्र चङ्गेजलाई राष्ट्रिय विभूतिको रूपमा उच्च सम्मान दिएको छ भने केपी त चङ्गेज होइनन् र, अहिले इतिहासले राष्ट्र रक्षाको नयाँ जग बसाउने अभिभारा उहाँलाई नै सुम्पिएको छ ।

श्री ३ सहितको प्रधानमन्त्री बन्ने अवसर नौ भाइ राणाले पाएका थिए, पदले मात्र मानिसलाई स्मरणीय तुल्याउने भए सबै राणा प्रधानमन्त्रीहरूलाई बराबरी स्मरण गरिनुपर्ने थियो । तर, जङ्गबहादुर, चन्द्र शमशेर, वीर शमशेर र जुद्ध शमशेरबाहेकका श्री ३ प्रधानमन्त्रीहरूलाई किताबको पानामा खोजेर मात्र स्मरण गर्न सकिन्छ । महान् क्रान्तिबाट प्रधानमन्त्री बनेको दाबी गर्नेहरूले पनि आफ्नो निम्ति लडेका केही गुरिल्लालाई जागिर दिलाएर विश्राम लिएका हुन् । सेनापति बदलेर सत्ता कब्जा गर्न भएको दुष्प्रयासलाई असफल तुल्याउन पनि केपीले महत्वपूर्ण योगदान पुऱ्याउनुभएको हो, अब मौलिक धर्म-संस्कृतिको सम्मान, एकात्मकता र जातीयतामा आधारित विध्वङ्शकारी प्रणाली खारेजीको पक्षमा दृढतापूर्वक उभिन सकेमा केपीका हज्जार त्रुटि, कमजोरी र असफलतालाई बिर्सिएर नेपाली जनताले उहाँको जयजयकार अवश्य गरिरहने छन् । जय मातृभूमि !

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्