‘एमाले’ जोगाउने कसरत शुरु, नेकपा नरहने पक्का



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । २०७४ फागुनमा सरकार गठन भएपछिको एक वर्ष निर्वाध अघि बढ्न पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले विगत पौने दुई वर्षयता पार्टीभित्रबाट उत्पन्न चुनौतीको पटक-पटक सामना गर्दै आएको छ । गत चैत-वैशाखमा जुन स्तरको चुनौती प्रधानमन्त्री ओलीले सामना गर्नुपरेको थियो, त्योभन्दा जटिल अवस्था यतिबेला पैदा भएको छ ।

चैत–वैशाखमा उत्पन्न तनावको व्यवस्थापन वामदेव गौतमको भूमिकाका कारण सहज र सम्भव भएको थियो । यतिबेला गौतम पनि केपीसँग भित्री मनदेखि नै टाढिनुभएको बुझिन्छ । झलनाथ खनाल केपीको पक्षमा कहिल्यै हुनुहुन्न । वरिष्ठ नेता माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठलाई विश्वासमा लिन पनि प्रधानमन्त्री ओली असमर्थ रहनुभएको छ । केपीलाई पाँच वर्ष पूरा प्रधानमन्त्री रहन दिनु नहुने निष्कर्षमा ‘माओवादी’ नेता प्रचण्ड धेरै पहिले नै पुगिसक्नुभएको हो । अब अन्य नेताहरू पनि प्रचण्डको यही निष्कर्षमा सहमति जनाउँदै पुनः एकजुट भएका छन् र, संसदीय दलको नेताबाट केपीलाई हटाउने ‘अन्तिम प्रयास’मा जुटेका छन् ।

ओली पार्टीको सचिवालयमा अल्पमतमा हुनुहुन्छ र, कदाचित ओली परास्त हुने सङ्केत देखिन थाल्यो भने रामबहादुर थापा, विष्णु पौडेल र ईश्वर पोखरेलले पनि साथ छोड्ने अनुमान गर्न थालिएको छ । पार्टीको सचिवालयका नौ सदस्यहरूमध्ये केपीको पूर्ण समर्थनमा केपी स्वयम् बाहेक अरु कोही रहेको ठानिँदैन । तथापि, अहिलेसम्म ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादलले ‘धर्म’ छोडेका छैनन् ।

सचिवालयका सदस्यहरूकै कारण अस्थिरताको स्थिति पैदा भएपछि अध्यक्ष केपी ओली सचिवालयको दायरा फराकिलो बनाउनेबारे विमर्शमा रहनुभएको बुझिन्छ । सचिवालयमा सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, सुवास नेम्वाङ, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, घनश्याम भुसाल, लेखराज भट्ट र वेदुराम भुसाललगायतलाई समावेश गर्नेबारे नेकपाको उच्च तहमा छलफल चलिरहेको बुझिन्छ । माधव नेपालसँग भइरहेको सहमतिको प्रयास सफल या असफल जे भए पनि कुनै पनि दिन अध्यक्ष ओलीबाट सचिवालय विस्तारको घोषणा भयो भने आश्चर्य हुने छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘माओवादी’ पक्षका प्रभावशाली सबैजसो नेताहरूलाई मन्त्रिमण्डलमा समावेश गरी निकम्मा प्रमाणित माओवादी पक्षका केही मन्त्रीहरूलाई बिदा दिने योजना बनाउनुभएको बुझिएको छ । विना मगर, शक्ति बस्नेत, वर्षमान पुन र रामेश्वर यादवलाई बिदा गरेर माओवादी पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, हरिबोल गजुरेल, प्रभु साह र पम्फा भुसाललाई मन्त्रिमण्डलमा समेट्ने तथा लेखराज भट्ट र रामबहादुर थापा बादललाई निरन्तरता दिने प्रधानमन्त्रीको सोच अहिलेसम्म प्रचण्डका कारण कार्यान्वयन हुन नसकेको बताइन्छ । अब मङ्सिर महिनाभित्रै प्रधानमन्त्रीले आफ्नो सोचलाई कार्यान्वयनमा ल्याउनुहुने प्रबल सम्भावना छ ।

यसरी मन्त्रिमण्डल पुनर्गठन गरिएपछि नेकपाभित्रको माओवादी कित्ता पनि प्रशन्न हुने विश्वास गरिएको छ । तर मन्त्रिमण्डल पुनर्गठन भन्दा पहिले नै संसदीय दलमा केपीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी प्रचण्डबाट भइरहेको छ र, त्यसनिम्ति हस्ताक्षर सङ्कलन गर्ने कार्य शुरु भइसकेको छ । प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन पहिले गर्ने हुन् कि त्यसअघि नै प्रचण्डले ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने हुन्, त्यसबारे यकीन हुन सकेको छैन । तर आफ्नो स्थिति अनुकुल तुल्याउन दुवै नेताहरू आ-आफ्नै प्रकारले गृहकार्यमा रहनुभएकोले ‘को पहिले’ भन्ने कुराको खास राजनीतिक अर्थ रहने देखिएको छ ।

अविश्वासको प्रस्ताव ल्याइएमा केपीले चाल्न सक्ने कदमबारे विवेचना र विश्लेषण गर्ने कार्य प्रचण्ड पक्षले गरिरहेको बुझिन्छ । संसदीय दलमा अविश्वासको प्रस्ताव आएलगत्तै केपी ओलीले केही सांसद÷नेतालाई अनुशासनहीन काम गरेको भन्दै पार्टीबाट निष्काशन गर्ने, प्रस्ताव दर्ता हुने वित्तिकै काङ्ग्रेससँग सत्ता गठबन्धन हुन सक्ने, संसद विघाटन गरेर आमनिर्वाचन घोषणा हुने र सङ्कटकाल लगाइने जस्ता सम्भावनालाई समेत दृष्टिगत गरेर मात्र अचानक अविश्वास प्रस्ताव दर्ता गर्ने सोच प्रचण्ड पक्षले बनाएको बुझिन आएको छ । त्यसैले प्रचण्डबाट काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला, शेखर कोइराला र रामचन्द्र पौडेललाई प्रयोग गरी काङ्ग्रेसलाई केपी ओलीसँग सत्ता गठबन्धन गर्न नजाने परिस्थिति निर्माण गर्ने प्रयास भइरहेको छ ।

उता नेकपाभित्रको मूलधार एमालेलाई एकतावद्ध तुल्याउन केपी र माधव नेपाल पक्षधर युवा नेताहरू सक्रिय भएका छन् । प्रचण्डसँग सहयात्रा गर्न नसकिने निष्कर्षमा पुगेका युवा नेताहरू ‘एमाले’ विभाजित हुन नदिन सक्रिय भएका हुन् र, उनीहरूले केपी ओली र माधव नेपालमाथि एकताका लागि दबाब दिइरहेका छन् । ‘एमाले’का नेता-कार्यकर्ताहरूको भावनालाई विचार गरेर नै केपी र माधव पटक-पटक वार्तामा बस्दै आएका हुन् । माधवकुमार नेपालसँगको एकल वार्तालापले विश्वासको वातावरण बनाउन नसकेपछि पहिलोपटक गत आइतबार (कात्तिक २३ गते) केपीले माधव नेपालको टीमसँग नै संवाद गरेर ‘एमाले एकता’का निम्ति पहल गर्नुभएको थियो । यसरी ‘एमाले एकता’को प्रयास भएपछि प्रचण्ड नराम्रोसँग झस्किनुभएको छ । केपी र माधवबीचको मतभिन्नता र अनेकतामा मात्र आफ्नो भविष्य सुरक्षित देख्नुहुने प्रचण्ड ‘एमाले एकता’को पहलबाट आत्तिनुभएको बताइन्छ ।

यतिबेला प्रचण्डसँग विकल्पहरू सीमित हुँदै गएका छन् । ‘एमाले कित्ता’लाई एकतावद्ध हुन नदिने, जुनसुकै परिणाम आए पनि केपीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने, केपीसमक्ष आत्मसमर्पण गरी चुपचाप समयको प्रतीक्षा गर्ने, पार्टी विभाजन गरी आफ्ना समर्थकहरूलाई लिएर बाहिरिने र पूर्वमाओवादी जति सबैलाई समेटेर जातिवाद तथा क्षेत्रियतावादमा आधारित शक्ति निर्माण गर्ने बाहेकको विकल्प प्रचण्डसँग देखिएको छैन । एमालेसम्वद्ध नेताहरू मदन भण्डारीकृत ‘जनताको बहुदलीय जनवाद’लाई तिलाञ्जली दिने पक्षमा छैनन् । माधवकुमार नेपाल र वामदेव गौतमसमेत ‘जबज’को पक्षमा दृढ रहनुभएको बताइन्छ । जबकि प्रचण्ड अहिलेसम्म ‘जबज’को अवधारणाप्रति सकारात्मक हुनुहुन्न । उहाँ जनवादी क्रान्ति सम्पन्न भइसकेकोले अब समाजवादमा छलाङ्ग मार्ने भन्दै हुनुहुन्छ ।

यसरी नेकपाभित्रको लडाइँ सत्ताका निम्ति मात्र नभइ वैचारिक पनि देखिन्छ । त्यसैले ढिलो या चाँडो प्रचण्डहरू एमाले छोडेर बाहिरिन बाध्य हुने सम्भावना प्रबल छ । आफूलाई महाधिवेशनबाट अध्यक्ष पनि नबनाइने र प्रधानमन्त्री पद पनि हस्तान्तरण हुने सम्भावना नभएकोले प्रचण्ड बाहिरिन सक्ने सङ्केत देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...