नेकपाका ५ वाम एक ठाम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाएपछि बहुमत सदस्यहरू ‘स्टेप’ चाल्ने तयारीमा देखिएका छन् ।

बहुमत सदस्यहरू ओलीले सोमबारसम्म बैठक बोलाउने आशामा थिए । तर, तोक लगाएको पत्र बोकेर बिहानै महासचिव पौडेल खुमलटार छिरेपछि बहुमत सदस्य आफ्नो तयारीमा जुटेको छ ।

सचिवालयका एक नेताले दिएको जानकारी अनुसार बहुमत पक्षले प्रचण्डको कार्यकारी अधिकार उपयोग गर्दै बैठकको बोलाउने तयारी थालेको छ । त्यसका लागि प्रचण्डले ‘आवश्यक गृहकार्य’ पनि गरिरहेका छन् । आज, भोलि नै बहुमत सदस्यहरू अनौपचारिक बैठक बसेर त्यसलाई मूर्तता दिने पनि उनीहरूको तयारी छ ।

‘प्रचण्डले सचिवालय बैठक बोलाउनुहुन्छ । आवश्यकताअनुसार स्थायी कमिटी बैठक आह्वान हुनसक्छ । त्यसपछि केन्द्रीय कमिटी निर्धारित समय (मंसिर १५–१७) मै बस्नेबारे आवश्यक निर्णय लिइन्छ,’ एक सदस्य भन्छन् ।

पहिलो कदम प्रधानमन्त्रीलाई स्थायी कमिटीको बैठकका निर्णयप्रति इमान्दार बन्न नै निर्देशन दिइने उनीहरू बताउँछन् । संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रधानमन्त्रीले बैठकको तयारी गर्न महासचिवलाई निर्देशन दिइसकेको बताउँछन् ।

‘प्रधानमन्त्रीले महासचिवलाई बैठकको तयारी गर्न भनिसक्नुभएको छ,’ नेम्वाङ भन्छन्, ‘बैठककै तयारी गर्न महासचिव यता (बालुवाटार) र उता (खुमलटार) हिँडिराख्नुभएको छ ।’
उनले विधानअनुसार १५ दिनभित्र बोलाउनुपर्ने भए पनि छिट्टै बैठक बस्न सक्ने पनि बताए ।

‘सबैकुरा मिलाएर (अध्यक्षद्वयको सहमतिमा साझा कार्यसूची तयार पारेर) बैठक बस्नुपर्‍यो । नत्र स्थायी कमिटीको बैठकजस्तै हुन्छ,’ उनी भन्छन् । प्रचण्डसहित बहुमत सचिवालय सदस्य तत्काल सचिवालय बैठक बोलाउनुपर्ने अडानमा यथावत छन्।

‘अबको केही दिनमा पार्टी सचिवालयको बैठक बस्छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तत्काल बैठक बस्ने वातावरण नबने बहुमत सचिवालय सदस्यको मात्रै भएपनि औपचारिक बैठक बस्छ।’

विवादबीच नेकपामा महासचिव विष्णु पौडेल सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगे ।

प्रचण्डले प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर आएका होलान् भनेर अपेक्षा गरेका थिए । कतै बैठक बोलाउने सहमतिसहितको सन्देश बोकेर आएका हुन् कि भन्ने पनि उनलाई लागेको थियो ।

तर, महासचिव पौडेलले न कुनै ‘मूर्त सन्देश’ ल्याएका थिए, न पार्टीभित्र बढ्दै गएको सङ्कट निवारणका लागि कुनै ‘विकल्प’ ।

महासचिव पौडेलले शनिबार बहुमत सदस्यले बैठक डाक्न सहमतिको माग गर्दै पठाएको पत्रमा ओलीले लगाएको ‘तोक–आदेश’ बोकेर गएका थिए ।

खुमलटार स्रोतका अनुसार पत्रको माथिपटिट् पहिलो वरीयताको अध्यक्षका हिसाबले ओलीले ‘विधानअनुसार बैठक डाक्ने तयारी गर्नु भन्ने व्यहोराको ‘तोक’ लगाएका रहेछन् । त्यही बोकेर महासचिव पौडेल खुमलटार हानिएका बुझियो ।

गत मङ्सिर ४ गते र भदौ २६ को स्थायी कमिटी बैठकको निर्णयानुसार प्रचण्डले बैठक बोलाउन बाधा छैन । नेकपाका एक सचिवालयका सदस्यअनुसार बैठक नै बोलाउन बालुवाटारमा निवेदन ‘चढाउनु’ पर्ने पनि होइन । तर, पार्टी फुटको डिलमा पुगेका वेला सानै ‘कदम’ ठूलो परिणामको कारक बन्न सक्छ । विभाजन कसैले टार्न नसक्ने पनि हुनसक्छ ।

सचिवालय र स्थायी कमिटी बैठकको निर्णयानुसार नै ओलीलाई पनि बैठकमा सहमत गराउन र सहमति माग गर्न लिखित आग्रह गरिएको थियो । तर, ओलीले पार्टीको कार्यकारी अधिकार आफूमै निहित रहेको जिकिर गर्दै पत्रमा तोक आदेशलगाएर महासचिव बैठकको तयारी गर्न भनेको बुझिएको छ ।

तर पछिल्लो विवादमा प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरू पार्टी कमिटीबाटै निर्णय गराएर जाने रणनीतिमा छन्। पार्टीमा ओलीको स्वेच्छाचारिता बढेकाले एक ढिक्का भई मुकाबिला गर्ने बहुमत सचिवालय सदस्यहरूको तयारी छ।

तर, ओली पार्टी सचिवालय र स्थायी कमिटीमा अल्पमत भएकाले बैठक पर धकेल्न विभिन्न रणनीति बनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...