सचिवालय बैठक बोलाउने प्रचण्ड-नेपालको गोप्य तयारी
प्रधानमन्त्री ओलीले मंगलबारसम्म पनि बैठक नबोलाए प्रचण्डले नै सचिवालय बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षले गरेका छन्। उक्त सचिवालय बैठकले स्थायी समिति बैठक डाक्ने निर्णय गर्नेछ। ‘त्यसपछि जे निर्णय गर्ने हो स्थायी समितिले नै गर्नेछ,’ प्रचण्ड-नेपाल पक्षका एक स्थायी समिति सदस्यले भने।
प्रचण्डले आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागिमात्र अध्यक्ष ओलीलाई लिखित पत्र दिएको जानकारी बताएका छन्। उनले विधानको प्रावधान यो प्रसंगमा आकर्षित नहुने पनि बताए। बहुमत सचिवालय सदस्यले माग गरेअनुसार प्रधानमन्त्री ओलीले चाँडै सचिवालय बैठक बोलाउनु पर्ने पनि प्रचण्डले बताए।
प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले कात्तिक २२ गते सचिवालय बैठकको माग राखी प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।
उता नेकपाका दुई अध्यक्षबीच विवाद बढिरहेका बेला प्रधानमन्त्रीको सन्देश लिएर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
प्रचण्डनिवास खुमलटारमा भएको भेटमा महासचिव पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बतायो।
अध्यक्ष ओलीसँग सचिवालय सदस्यहरूले लिखित माग गरेको १५ दिनभित्र विधानअनुसार बैठक बोलाउने जानकारी गराएका थिए।


