विश्‍वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो



हाम्रो इकोनोमि

 

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका छन् ।

अक्टोबर महिना संक्रमणका हिसाबले सबैभन्दा खराब रह्यो । त्यस्तै पछिल्ला केही दिनमा अमेरिकामा दिनहुँ एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा युरोपेली मुलुकमा पनि संक्रमण दर बढेकाले विश्वव्यापी रुपमा संक्रमितको संख्या बढिरहेको छ

पछिल्ला ७ दिनमा विश्वभर दैनिक रुपमा ५ लाख ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । संक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लागेकोमा पछिल्लो समय २१ दिनमै थप एक करोडमा कोरोना पुष्टि भएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ३ लाख ९५ हजार १ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ४ सय ९० पुगेको छ भने करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन् ।

विश्वकै करिब २० प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या करिब एक करोड पुगेको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६२ हजारभन्दा बढी पुगेको छ । अमेरिकामा कोरोनाबाट २ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३९ लाख निको भएका छन् । अमेरिकामा पछिल्ला ७ दिनमा औसत एक लाखका दरले संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्रै अमेरिकामा एक लाख ३० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।

अक्टोबर चुनावी अभियानका क्रममा पनि अमेरिकामा कोरोना संक्रमण ह्वात्तै बढेको विज्ञहरुले बताएका छन् । स्वास्थ्य मापदण्ड नअपनाई चुनावी ऱ्याली आयोजना हुँदा कोरोना संक्रमण बढेको उनीहरुले बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी ऱ्यालीमा अधिकांश व्यक्ति मास्कबिना सहभागी भएका थिए । ट्रम्पको तुलनामा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनका चुनावी सभा भने व्यवस्थित भएको बताइन्छ । स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले गरेको अनुसन्धानमा ट्रम्पको ऱ्यालीमा सहभागीमध्ये ३० हजारमा कोरोना संक्रमण भएको र ७ सयभन्दा बढीको मृत्यु भएको उल्लेख गरिएको छ ।

रोयटर्सका अनुसार युरोपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब एक करोड २० लाख रहेको छ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये २४ प्रतिशत युरोपमा मात्रै भएको छ । रोयटर्सका अनुसार युरोपमा प्रत्येक तीन दिनमा करिब १० लाखमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । पछिल्लो समय फ्रान्समा संक्रमण ह्वात्तै बढेको छ । फ्रान्समा केही दिनयता दिनहुँ करिब ५४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

कोरोना संक्रमणका हिसाबमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एक लाख २६ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये ७८ लाखभन्दा बढी निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...