पैँचो मल नआउने भो, खरिद गर्न प्रक्रिया सुरु



हाम्रो इकोनोमि

 

चार महिनादेखि बंगलादेशबाट पैँचोमा मल ल्याएर किसानलाई उपलब्ध गराउने भनिरहेको सरकार अहिले आएर मल किन्ने तयारी गर्न थालेको छ । लामो प्रक्रियापछि गत १६ भदौमा दुई प्रधानमन्त्रीबीच पैँचो लेनदेन गर्ने सहमति भएको थियो । तर, बंगलादेशले आलटाल गरेपछि सरकारले किन्ने प्रक्रिया अगाडि बढाउँदै छ ।

मल खरिदका लागि कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयबाट सहमति लिएर मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव दर्ता गरिसकेको छ । ‘सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मल खरिदसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ,’ कृषि मन्त्रालयका उपसचिव गंगा आचार्यले भने । उनका अनुसार पैँचोमा ल्याउने भनिएको ५० हजार टन युरिया अब बंगलादेशबाटै खरिद गरेर ल्याइनेछ ।

धानका लागि भनिएको मल अब किनेर ल्याउँदा गहुँका लागि काम लाग्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । किसानले धान भित्र्याएर गहँु छरिरहेका छन् । गहुँ छर्दा डिएपी मल हाल्ने गरिन्छ, उम्रिएपछि युरिया राखिन्छ । मन्त्रिपरिषद्ले खरिद गर्ने निर्णय गरेको एक महिनाभित्रै मल आउन सुरु हुने मन्त्रालयको भनाइ छ ।

धानको सिजनमै मलको चरम अभाव भएपछि सरकारले ५० हजार टन युरिया बंगलादेशबाट पैँचो ल्याउने बताएको थियो । कृषिमन्त्री घनश्याम भुसालले गत साउनदेखि नै त्यसको पहल गरेका थिए । उनले बंगलादेशी कृषिमन्त्री मोहम्मद अब्जुर रज्जाकलगायतका अधिकारीहरूसँग छलफल पनि गरेका थिए । १६ भदौमा प्रधानमन्त्री केपी ओलीले बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोनमा छलफल गरेका थिए । हसिनाले मल पैँचो दिने प्रतिबद्धता जनाएकी थिइन् ।

१ असोजको मन्त्रिपरिषद् बैठकले ५० हजार टन युरिया पैँचोमा ल्याउन स्वीकृति दिएको थियो । त्यसयता मन्त्रालय, कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशस्थित नेपाली राजदूतावासका अधिकारी तथा बंगलादेशको कृषि र उद्योग मन्त्रालय र मलको कारोबार गर्ने बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (बिसिआइसी) का पदाधिकारी निरन्तर संवादमा थिए । तर, बंगलादेशी अधिकारीहरूले राखेको सर्तका कारण पैँचोमा भन्दा किनेरै ल्याउँदा सस्तो पर्ने निष्कर्षमा नेपाली अधिकारी पुगेका हुन् । त्यसले चार महिनापछि सरकारले मल किनेर ल्याउने निर्णय गर्न लागेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...

कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...