ओलीको गोप्य कोसेली बोकेर प्रचण्ड निवासमा नेम्वाङको धर्ना
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच देखिएको विवादको निकासको प्रयास दोस्रो तहका नेताहरुले गर्दैछन् ।
अध्यक्ष दाहालसँग कुराकानी गर्नका लागि नेकपा नेता सुवास नेम्वाङ अहिले खुमलटार पुगेका छन् । दुई अध्यक्षबीच देखिएको विवादबाट निकास दिनका लागि प्रयास थालिएको नेताहरुले बताएका छन् ।
नेम्वाङले आफू अहिले खुमलटार रहेको जानकारी दिँदै दुई अध्यक्षबीच सहमतिको विकल्प नरहेको बताए । ओली–प्रचण्ड विवादले पार्टीलाई दुर्घटनाउन्मुख गराएपछि दोस्रो तहका नेताहरूले अनौपचारिक तहमा सम्पर्क बढाएका छन् ।
विहीबार स्थायी कमिटी सदस्य तथा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेको समस्या पार्टीको आन्तरिक जीवनको संस्थागत समस्या भएकाले त्यसलाई संस्थागत विधि र प्रक्रियाबाटै समाधान खोज्नुपर्ने बताएका थिए ।
उनले बिहीबार स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र देवेन्द्र पौडेलसँग पार्टीको आन्तरिक संकटकै विषयमा केहीबेर छलफलसमेत गरेका थिए ।