माधव नेपाल घाती कि जाति ?



हाम्रो इकोनोमि

 

‘माधव नेपाल घाती छन् । भर पर्दा नेता हैनन् । यत्रो वर्ष हामीले उहाँलाई झेल्यौँ, के–के भोग्यौँ, त्यो तपाईंलाई के थाहा छ र ?’ यसो भन्दै बालुवाटारको दूतका रुपमा खुमलटार पुगेका नेताबाट प्रचण्डसामु एउटा शव्दजाल त फ्याँकियो, तर त्यसबापत प्रचण्डबाट उल्टै माधवकै बढाइ–चढाइका कुरा गरिएपछि बाटो अलग पारौँ भन्नेतिर कुरा पुग्यो । पछिल्लो समय कर्णाली प्रदेश सरकारविरुद्ध यामलाल कँडेलहरुले तयार पारेको अविश्वासको प्रस्तावबाट बिष्फोटित नेकपा विवादको पृष्ठभूमिमा दुई अध्यक्षको संवादहीनता तोड्ने प्रयासअन्तर्गत यस्ता कुरा चलेका हुन् ।

माधवबारे अनेकन कुरा भएपछि प्रचण्डले बालुवाटारका दूतलाई भन्नुभयो, ‘तपाईं यस्ता कुरा गर्दै नगर्नुस् । कर्णालीको विवाद माधव कमरेडहरुले चर्काएको होइन । बरु, मैले मेरा तीनजना मान्छेलाई फर्काउन सकिन । उहाँले आफ्ना सातैजनालाई इन्ट्याक्ट राख्नुभयो । कर्णालीको सरकार कसैले जोगाइदिएको हो भने त्यो माधव कमरेडले नै हो । अहिले यसरी माधव कमरेडलाई विश्वास नगर्नुस्, उहाँले दोहोरो भूमिका खेल्नुभएको छ भनेर अविश्वास सिर्जना गर्ने, स्थितिलाई भड्काउने काम नगर्नुस् ।’

खुमलटारमा आफ्ना निकटस्थहरुलाई प्रचण्डले सुनाउनुभयो, ‘कर्णाली विवादको चुरो ओलीजी नै हो । उहाँले नै चर्काउनुभएको हो । माधव कमरेडले चाहनुभएको भए सरकार ढलिसक्थ्यो । तर, उहाँले त्यस्तो गर्नुभएन ।’
प्रधानमन्त्रीका तर्फबाट सम्झाउन खुमलटार पुग्नुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रचण्डले यसरी

माधव नेपालको बचाव गर्दै आफ्नो पोजिसन क्लियर गर्नुभएको हो ।
हुन पनि दुई अध्यक्षबीच संवादविहीनताको स्थितिमा दिनहुँ अनेक रुप र रंगका मान्छेहरुको प्रचण्डलाई घेराबन्दी गर्न, सम्झाउन र फकाउन आइतबारसम्म पनि अहोरात्र कुदाकुद जारी थियो ।

यस्तोबेलामा केन्द्रीय कमिटीको बैठक कसरी बस्न सक्ला भनेर अघिल्लो सोमबार कुरा गर्दागर्दै त्योभन्दा अघि नै बैठक स्थगनको सूचना जारी गर्ने काम केपी पक्षबाट भएको माधव नेपालको आरोप छ । प्रचण्डलाई के लागेको छ भने, केपीले जसरी आफ्नो पक्षका नेताहरुलाई चोर्ने र मन्त्री बनाउने तयारी गर्दै हुनुहुन्छ, यसलाई ल्याप्चे लगाइयो भने स्वीटरको धागो फुत्किएजस्तो हुन्छ । र, प्रचण्ड भन्ने मान्छेको हातमा केही पनि बाँकी रहेनछ, एउटा मान्छेलाई मन्त्री बनाउने शक्ति रहेनछ, यसले चाहेर कोही हट्न र बन्न पनि नसक्ने भएछ भन्ने ठाडो अर्थ लाग्छ ।

 

बादल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, प्रभु साह, मणि थापाहरु अलिअलि किनारा लागेर केपीबाट मात्रै पार लाग्छ भन्नेमा पुगेका छन् । उनीहरुमा अब प्रचण्डबाट हुँदैन भन्दै निराशाको स्थिति आएको बताइन्छ । यस्तो स्थितिमा केपीको हात माथि हुने गरी मन्त्रिपरिषद् पुनर्गठन हुँदा झन् खतरा देखेकै कारण प्रचण्ड बरु, मन्त्रिपरिषद् विस्तार ढिलो भए होस् भन्नेमा पुग्नुभएको थियो । हुन पनि केपी कहिले टोपबहादुर र मणिलाई ‘तपाईं क्षेत्री, म पनि क्षेत्री’ भन्दै फकाउनुहुन्छ । कसैलाई जागिर, नियुक्ति, आकर्षक पदको अफर दिने काम पनि भएकै छ ।

प्रचण्डले आफूलाई प्राप्त अधिकार सदुपयोग गर्न नसक्नुभएको पात्र भनिँदै छ । पार्टी एकताका लागि गत असारमा गठित कार्यदलले उहाँलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दियो । तर, एउटा पनि बैठक राख्न सक्नुभएन ।
यसरी प्रचण्ड अहिले इतिहासकै सबभन्दा कमजोर, निरीह पनि हुनुभएको छ । उहाँका निम्ति पार्टी एकता निल्नु न ओकल्नु भएको छ । एक आदेशमा मान्छे मर्न र मार्न तयार हुने स्थितिका प्रचण्ड आज दाह्रा–नङ्ग्रा झिकिएको बाघजस्तो बन्न पुग्नुभएको पूर्वमाओवादीहरुकै ठहर छ ।

यसबीच, कर्णाली विवादमा माधव पक्षका सात जनाले हस्ताक्षर फिर्ता लिए । तर, पूर्वमाओवादीका तीनजना उताको उतै भए । बचनमा इमान्दारिता माधव पक्षले देखायो भन्ने प्रचण्डलाई लागेको छ । जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...