भागवण्डा मिलेपछि मुख्यमन्त्रीको पद जोगियो



हाम्रो इकोनोमि

 

आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि धर्मराउन पुगेको महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो ।

नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव ) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीतर्फका नेताहरुलाई समेत बालुवाटारबाटै ‘यूटर्न’ हुन संकेत दिइएको छ ।

मंगलबार बिहानमात्रै प्रधानमन्त्री ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन टेलिफोनबाट दिएका थिए ।

तर, शाहीको मुख्यमन्त्री पद जोगिनुमा प्रदेशस्तरीय नेताहरुको भागवण्डा नै अर्थपूर्ण बन्यो ।

आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका नेताहरु समेत सुर्खेत पुगेका थिए । सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल सुरु भएको थियो ।

राति अबेरसम्म छलफल चले पनि सोमबार सहमति जुट्न सकेन । यसपछि मंगलबार बिहानै प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भयो र जसरी पनि मिल्न दबाव दिइयो ।

मंगलबार बिहानबाट फेरि शुरु भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने अनि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुट्यो ।

सहमतिअनुसार, अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको संसदीय दलको बैठकमा नेता नेपाल र माओवादी तर्फका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आफैं अल्पमतमा पर्‍यो ।

कर्मराज शाहीलाई तत्काल सचेतक नियुक्त गरेर मुख्यमन्त्री शाहीले आफ्नो पद जोगिएको सन्देश दिएका छन् । दुई समूहबीचको सहमतिमा मुख्यमन्त्री शाहीले नेता नेपाल समूहका थप तीनजनालाई मन्त्री बनाउने सहमति जुटेको छ ।

नेकपाको केन्द्रीय राजनीतिमा देखिएको प्रचण्ड–नेपाल समीकरण मुख्यमन्त्री शाहीको पद जोगिने आधार बन्यो । अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रचण्डले लगातार भेटवार्ता र फोन सम्वाद गरेका थिए ।

प्रचण्डले सोमबार प्रधानमन्त्री ओली र नेता नेपालसँग भेटेरै शाहीलाई जोगाउन आग्रह गरेका थिए । मंगलबार दिउँसो पनि सुर्खेतमा सहमति जुट्दै गर्दा कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै थिए ।

 

प्रतिक्रिया दिनुहोस
चैत १९ गते दुवै सदनको अधिवेशन आह्वान

    संघीय संसद् सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेको...

पूर्व सीडीओ छवि रिजाल पक्राउ

     काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध...

पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय समिति र जिल्ला सभापतिको बैठक

  नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय...

सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...