सुरेन्द्र पाण्डेलाई महासचिवको जिम्मेवारी दिने तयारी
मन्त्रिपरिषद् हेरफेरको बिषयमा मत बाझिँदा सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पु्ष्पकमल दाहालबीचका बारम्बारका भेटवार्ता अर्थहीन हुँदै गइरहेका छन् । गुटगत स्वार्थ, मन्त्रालय रोज्ने हानथाप हुँदै अहिले पार्टीकै जिम्मेवारी हेरफेरको दाउपेचले दुई अध्यक्षबीच समझदारी नजुट्दा मन्त्रिपरिषद पुनर्गठन नै अलपत्र परेको छ ।
एक महिनादेखि रिक्त अर्थमन्त्रीको जिम्मेवारी पार्टी महासचिव विष्णु पौडेललाई दिने बिषयमा नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच मतभेद छैन । तर पौडेललाई अर्थमन्त्री बनाउने हो भने महासचिवको जिम्मेवारी अर्को नेतालाई दिनुपर्ने अडान वरिष्ठनेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले अध्यक्ष दाहालसँग राखेका छन्। प्रधानमन्त्री ओलीले सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री नदिने र पाण्डेले अर्थबाहेक अर्को मन्त्रालय नलिने अडान राखेपछि यस्तो प्रस्ताव आएको स्रोतको दाबी छ ।
नेपालपक्षले पौडेललाई अर्थमन्त्री बनाउने हो भने पाण्डेलाई महासचिवको जिम्मेवारी दिनुपर्ने भनेको छ। ओली भने पौडेलको पार्टी जिम्मेवारी यथावत राखेर अर्थमन्त्री बनाउने पक्षमा छन् । जसका कारण दुइअध्यक्षको भेटबार्ता निष्कर्षविहीन बनिरहेको छ। पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेपाल र खनालले दरिलो साथ दिएकोले पनि अहिले दाहाल उनीहरुलाई उपेक्षा गर्ने पक्षमा छैनन् ।
अर्कोतर्फ जिम्मेवारी फेरबदल नै गर्ने हो भने उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि यसमा दाबा गरेको स्रोतको भनाइ छ । प्रधानमन्त्री अहिले खाली रहेका मन्त्रालय मात्र भर्न चाहन्छन । उनी फेरबदलका पक्षमा देखिन्नन । अर्कोतिर दाहाल भने टिम नै फेर्न चाहन्छन् । मन्त्रीका आकांक्षी धेरै भएकाले दुइबर्ष कार्यअवधि पुरा गरेका प्राय सबैलाई बिदा गरेर नयाँलाइ अवसर दिनुपर्ने दाहालको प्रस्ताव छ ।
यो रस्साकस्सी किन पनि चलिरहेको छ भने दुबै अध्यक्षले मन्त्रिपरिषद पुनर्गठनबाट शक्ति आर्जन गर्ने र महाधिवेशनको रणनीति बनाउनेसँग पनि जोडेर हेरिरहेका छन् । यही कारण बारम्वरको भेटवार्ता अर्थहीन भइरहेको छ ।


