ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनको सहमति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजेदेखि छलफल सुरु भएको थियो।
दुई नेताबीच मन्त्री नियुक्ति तथा बाँकी रहेको पार्टी एकताका विषयमा छलफल चलेको बालुवाटार स्रोतले जानकारी दिएको छ । दुई अध्यक्षबीच केही दिन भित्रै रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने सहमति भएको ती स्रोतको दावी छ ।
यस्तैगरी मन्त्रिमण्डल पुनर्गठन भने सकेसम्म दशैंपछि नत्र तिहारपछि हुने विषयमा सहमति नजिक पुगेको बताइएको छ । अहिले अर्थ, शहरी विकास र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त छ । यस्तै पार्टी एकताको बाँकी कामलाई टुंगो लगाउने विषयमा पनि सहमतिको खाका लगभग तयार भैसकेको बताइन्छ ।
खासगरि पूर्व एमालेतर्फबाट महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेको नाम चर्चामा थियो । अर्थ मन्त्रीमा पौडेल, सहरी विकास मन्त्रीमा पाण्डेको नाम तयारी अस्थामा थियो । तर पाण्डेले आफु अर्थ बाहेक अरु मन्त्रालयमा नजाने स्पष्ट संकेत दिइसकेका छन् । उनले अर्थ बाहेक अन्य मन्त्रालयको ‘अफर ‘ नस्विकार्ने बताइसकेका छन् ।


