कोरोना संक्रमित बढ्न थालेपछि सार्वजनिक यातायातमा अनुगमन कडाइ



हाम्रो इकोनोमि

 

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि सरकारले सार्वजनिक यातायातको अनुगमनमा कडाइ गर्ने भएको छ ।

करिब ६ महिना लामो बन्दाबन्दीपछि यही असोज १ गतेदेखि लामो, मध्यम र छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालन भएका थिए ।

गत भदौ २९ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार भदौ ३१ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘कोभिड–१९ अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ ल्याएको थियो ।

उक्त निर्देशिकाअनुसार सार्वजनिक यातायात सञ्चालन तथा यात्रु व्यवस्थापन निर्देशिका बमोजिम भए नभएको, स्वास्थ्य सुरक्षा मापदण्डको कडाइका साथ पालना भए नभएको अनुगमन गर्ने जिम्मेवारी यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीलाई दिइएको छ ।

सार्वजनिक यातायातमा निर्देशिका पालना नभएको भन्ने गुनासो बढेपछि यातायात व्यवस्था विभागले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तहसम्म अनुगमनको निर्देशनका लागि आग्रह गरेको छ ।

एकातिर दैनिकजसो कोरोना संक्रमितको संख्या बढेको छ भने अर्कोतिर चाडपर्व नजिकिँदै गर्दा राजधानीबाट बाहिरिने र भित्रिनेको संख्या पनि बढेको छ । यस्तो जोखिमका बेला निर्देशिका थप कडाइका साथ पालना गराउन ५५३ वटै स्थानीय तहलाई आग्रहका लागि पत्र लेखेको विभागका सूचना अधिकारी लोकनाथ भुसालले जानकारी दिए ।

‘सरकारले जारी गरेको निर्देशिका कडाइका साथ प्रभावकारी बनाउन पत्र पठाइएको हो’ भुसालले भने, ‘केन्द्रबाट मात्र नभई प्रदेश र स्थानीय तहबाट पनि सार्वजनिक सवारीको अनुगमन गर्नुपर्छ ।’

उनका अनुसार उक्त पत्रमा यातायात सेवामा कार्यरत कर्मचारी, सवारी चालक र सहचालकले निर्देशिका पालना गरे/नगरेको र सार्वजनिक यातायातमा सवार यात्रुहरूले पालना गरे/नगरेको विषयमा अनुगमन समिति गठन गरी व्यवस्थित बनाउन सबै स्थानीय तहहरूलाई परिपत्र गरिदिन अनुरोध गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई एकसाथ परिपत्र गरी असोज १८ गते नै निर्देशन दिइसकेको जनाएको छ ।

यस्तो व्यवस्था छ निर्देशिकामा

‘कोभिड १९ अवधिभर सार्वजनिक यातायात सञ्चालन निर्देशिका, २०७७’ अनुसार यातायात सेवामा कार्यरत सवारी चालक र सहचालकले यात्रु चढ्ने स्थान, पुग्ने स्थान र खाना खाने स्थानबाहेक अन्यत्र कहीँ पनि सवारी साधन रोक्न तथा यात्रु चढाउन र ओराल्न पाउने छैन ।

चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्छ । स्यानिटाइजर प्रयोग गर्नुपर्छ । सार्वजनिक यातायातमा सामाजिक दूरी कायम भएको हुनुपर्छ ।

यातायात पूरा भएपछि आफूले प्रयोग गरेका सबै कपडा साबु पानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ । यात्रुसँग भौतिक दूरी कायम गरी रकम फिर्ता गर्न नपर्ने गरी भाडा संकलन गर्नुपर्छ वा बाकसमा हाल्न यात्रुलाई आग्रह गर्नुपर्छ ।
एकपटकको सेवा सकिएपछि सवारीसाधन निःसंक्रमीकरण गर्नुपर्छ ।

यात्रुहरूले पनि कोभिड–१९ संक्रमण हुन सक्ने माध्यम, जोखिम र जोखिम न्युनीकरणका उपाय सम्बन्धी जानकारी लिनु र सावधानी अपनाउनुपर्छ । अति आवाश्यक कामका लागि र पैदल यात्रा सम्भव नभएका स्थान लागि मात्र सार्वजनिक यातायात प्रयोग गर्नुपर्छ ।

अशक्त वा शारीरिक अवस्था कमजोर भएकाहरूले सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्नु हुँदैन । यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्छ वा कपडाले नाकमुख छोप्नुपर्छ ।

सार्वजनिक यातायात प्रयोग गर्दा वा सार्वजनिक स्थलमा रहँदा कुनै पनि किसिमको खाने कुरा खानु हुँदैन । सवारी साधनभित्र सामाजिक दूरी कायम हुने गरी तोकिएको सिटमा मात्र बस्नुपर्छ र अरूलाई पनि सतर्क तुल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...