प्रेम आले विकासबादी नेता हुन : मन्त्री भट्टराई
सँस्कृति पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री योगेश भट्टराईले डोटीका प्रतिनिधी सभा सदस्य प्रेम आलेमगरको पर्यायवाची नाम विकास भएको बताएका छन् । दिपायल विमानस्थल कालोपत्रेपश्चात पहिलो पटक शनिबार समिट एअरको विमानमार्फत सफल अवतरण गरेर संक्षिप्त प्रतिक्रिया दिंदै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
काठमाण्डौमा हरेक मन्त्रालयमा विकासका विषयलाई लिएर निकै दौडधुप गर्नुका साथै विभिन्न बिरामीलाई अस्पतालमै गएर सहयोग गर्ने, विभिन्न राजनीतिक नेतृत्वसँगको सुमधुर सम्बन्ध र जनतासँगको सम्बन्ध बलियो रहेको भन्दै मन्त्री भट्टराईले सांसद आलेमगरको तारिफ गरे । मन्त्री भट्टराईले भने–‘कहिले सडक, कहिले पुल, कहिले एअरपोर्ट त कहिल्यै पर्यटकीय गन्तव्यका विषयमा आले ज्यू लाग्नुहुन्छ, दिनमा ४/५ जना बिरामी भेट्नुहुन्छ, अस्पताल जानुहुन्छ, सांसद आले डाइनामिक, एकदमै खट्ने गर्नुहुन्छ, हामी पनि उहाँ जस्तै जननिर्वाचित हौं, तर त्यति खट्न सक्दैनौं ।’
यसका साथै स्थानीय जनप्रतिनिधी, नागरिक उड्ड्यन प्राधिकरण, स्थानीय प्रशासन, स्थानीय समुदाय सबैको अथक प्रयत्नले विमानस्थलको स्तरोन्नती हुन सकेको उनले बताए ।
पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सुदूरपश्चिममा डोटी, बैतडी र बझाङ्का गरी तीन विमानस्थलको कालोपत्रे गरिएको उनले बताए । तर यस क्षेत्रमा पहिलेदेखि नै राज्यको नजर नपरेकोमा अब गाउँपालिका, नगरपालिका, प्रदेश र संघीय सरकारसम्म सबैले यस क्षेत्रमा ध्यान दिईरहेको मन्त्री भट्टराईले बताए ।
डोटी जिल्लाबाट खप्तड जाने, बझाङ्ग, अछाम, बाजुरा लगाएत सबै ठाउँलाई जोड्ने गेट भएको बताए । यसका साथै कैलाश मान सरोवरसम्म र अन्य थुप्रै यस क्षेत्रका पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने मन्त्री भट्टराईले विश्वास व्यक्त गरे ।
सांसद प्रेम आलेमगरले दिपायलमा प्रदेश राजधानी बनाउन प्रयास गरेको भए पनि त्यो सफल हुन नसकेको यद्यपी राजधानी हुदैमा सबै कुरा नहुने भन्दै यहाँको विमानस्थल सुचारु हुन सके विभिन्न क्षेत्रका पर्यटक यहाँ आउने र राजधानी जस्तै चहलपहल हुने बताए ।
दिपायल विमानस्थलको पश्चिम क्षेत्रमा थप विस्तार गरेर स्तरोन्नती गर्न सकिने भन्दै केहि दिनमै नागरिक उड्डययन प्राधिकरणको प्राविधिक टोली पठाएर थप अध्ययन गरिने र स्थानीयबासीसँगको समन्वयमा जग्गा अधिकरणको प्रक्रियामा जाने बताए ।
आगामी दिनमा स्थानीय तह र प्रदेश सरकारले समेत विमानस्थलको स्तरोन्नतीका लागि लाग्नुपर्ने बताए ।
साथै दिपायल विमानस्थलमा रहेको कार्यालय भवन पनि पूरानो मोडेलको टर्मिनल बिल्डिङ् भएकाले आधुनिक संरचना निर्माणका लागि अध्ययन र प्रक्रिया अगाडी बढाईने प्रतिबद्धता जनाए ।
अब विमानस्थलमा हप्तामा २/३ वटासम्म उडान गर्ने र धनगढीसँगै काठमाण्डौबाट पनि उडान भर्ने गरी प्रयास हुने मन्त्री भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद प्रेम आलेमगरले आफु पहिलो पटक निर्वाचित भईसकेपछि आफ्नो पहलमा तत्कालीन पर्यटन मन्त्री कृपाशुर शेर्पाले ८ करोड बजेट व्यवस्था गरी दिपायल विमानस्थल कालोपत्रे भएको बताए ।

कार्यक्रम तालिका अनुसार शुरुमा बैतडी, त्यसपछि बझाङ्ग र अन्तिममा डोटी पुग्ने भनिएता पनि बैतडीमा अत्याधिक हावा चलेपछि शुरुमा डोटीको दिपायल विमानस्थल, त्यसपछि बझाङको चैनपुर विमान स्थल र अन्तीममा बैतडीको पाटन विमानस्थलमा कालोपत्रे पछिको परीक्षण उडान गरिएको हो ।




