वन जोगाउन खोज्दा माफियाहरुले फसाउन असफल प्रयास गरेः सांसद आले
डोटीका सांसद तथा नेकपाका नेता प्रेमबहादुर आलेको बिषयमा नेपाल फेस डटकममा २०७७ असोज ८ गते प्रकाशित समाचारप्रति उनले आपत्ति जनाएका छन् । अदालतबाट सफाइ पाइसकेको बिषयमा नेपालफेसले मेरो राजनीतिक र सामाजिक प्रतिष्ठामा आँच आउने गरी समाचार प्रकाशित गरिएकोमा दुःख लागेको छ, आलेको पत्रमा उल्लेख छ ।
‘मन्त्री बन्ने दौडमा रहेका सांसद आलेमाथि लाग्यो गम्भीर आरोप’ शीर्षकमा प्रकाशित समाचारमा आलेमाथि वन मुद्दा लागेको कुरा उल्लेख भएको थियो । तर वन फँडानी गर्नेहरुबिरुद्ध मुद्दा दायर गरेपछि आफूबिरुद्ध नै वनमाफियाहरुले झुटा मुद्दा दायर गरेको र त्यो मुद्दामा आफूले सफाइ पाइसकेको अदालतको फैसलाको मिसिल नै नेपालफेसलाई पठाएका छन् । डोटी जिल्लाका तत्कालीन जिल्ला विकास समिति सदस्य आलेले २०५५ बैशाख १० मा डोटीको छतिवन गा.वि.स.मा फँडानी गर्ने ठक्करबहादुर जेठारा समेत २२ जना बिरुद्ध जिल्ला वन कार्यालय डोटी, क्षेत्रीय वन निर्देशनालय कैलाली रर वन मन्त्रालयमा उजुरी गरेका थिए ।
आलेले जेठारासहित २२ जनाका बिरुद्ध उजुरी दिएपछि केन्द्रबाटै छानबिन टोली पठाइयो । आलेको उजुरीपछि वनरक्षक प्रेम खड्का र रेन्जर कृष्णदेव यादव निलम्बन भएका थिए । जुन बेला जिल्ला वन अधिकृत (डीएफओ) हरिनारायण मण्डल थिए । छानबिनमा आवादी जग्गामा रुख काटेको भनेर हजारौं रोपनी सरकारी वन फँडानी गरेको खुल्यो । डीएफओ मण्डल कारबाहीस्वरुप वन विभागमा छानबिनका लागि तानिए । त्यसपछि डीएफओका रुपमा उपेन्द्र चौधरी आए । उनी आएपछि कारबाहीमा पर्ने डरले छानबिन हुने भएपछि वनमाफिया जेठारासहितले आलेलाई आकर्षक घुससहितको प्रलोभन दिएर मिलापत्र गर्न खोजे । त्यस प्रलोभनमा उनी नपरेपछि राधेश्याम बडायरको साझेदार भनी फसाउन झुटा मुद्दा दायर गरे । तर राधेश्याम बडायरले अदालतमा बयान दिंदा प्रष्ट रुपमा भनेका थिए– ‘मैले थाहा पाएअनुसार वनकटानी भएको देखेर वन संरक्षणको लागि जिल्ला वन कार्यालय डोटीमा र क्षेत्रीय वनमा प्रेमबहादुर आलेले उजुरी गरी वनको छानबिनको लागि डोर आएको भन्ने कुरा सुनेको थिएँ । प्रेमले आफ्नो पदीय जिम्मेवारी र मर्यादा राखी अवैध रुपले भइरहेको काठ कुटानीलाई रोक्न उजुर समेत गरी ठक्करबहादुर जेठारासमेत उपर जिल्ला वन कार्यालय डोटीमार्फत् जिल्ला अदालतमा मुद्दा चलेको थियो । उनको वनफँडानीमा कुनै संलग्नता छैन ।’
यसरी आवादी जग्गा हो भनेर हजारौं रोपनी सरकारी हजारौं रोपनी सरकारी वनवन फँडानी गरेपछि उजुरी गरेकाले आफूलाई फसाउन जेठारा सहितका वनमाफियाले राधेश्याम बडायरको साझेदार बनाई वन कार्यालयमा उजुरी गरेपछि आले न्याय माग्न अदालत गएका थिए । जिल्ला अदालत डोटीले आलेमाथि प्रतिशोध साँध्नका लागि मात्र बडायरको साझेदार भनेर मुद्दा दायर गरिएको र उनको वनफँडानीमा संलग्नता नभएको भनी २०५७ बैशाख १४ मा सफाइ दिएको थियो । पछि उनका बिरुद्ध पुनरावेदन अदालतमा परेको मुद्दामा पनि उनले सफाइ पाइसकेका थिए । पुनरावेदन अदालत दिपायलका न्यायाधीशद्वय प्रमोद बिजयी र दामोदरपुरुष ढकालले पनि जिल्ला अदालत डोटीकै फैसला सदर गरेका थिए । वास्तविकता यस्तो हुँदाुहँदै मसँग एकपटक पनि नसोधी समाचार प्रकाशन गरिएकोमा दुःख लागेको आलेको पत्रमा उल्लेख छ । वनफँडानी, मन्त्री हुन मिडिया र विभिन्न ब्यक्तिलाई प्रयोग गरेका लगायतका सबै आरोप झुटा भएको उनको खण्डनमा उल्लेख छ ।
वन फँडानीका सम्बन्धमा आलेले जिल्ला अदालत र पुनरावेदन अदालतबाट सफाइ पाइसकेको बिषयमा नेपालफेसका तर्फबाट यथार्थता बुझ्ने कुरामा कमजोरी रहेकोस्वीकार गर्दै अदालतका बिषयमा समाचार लेख्दा आगामी दिनमा तथ्यपूर्ण कुरालाई मात्र प्राथमिकता दिने प्रतिबद्धता प्रकट गर्दछौं ।


