कार्यवाहक अध्यक्ष बुढाथोकीकाे यस्ता छन प्रतिबद्धता
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले आफ्नो प्रद्धिबद्धतापत्र सार्वजनिक गरेका छन् । ०७७ असोज ९ गते काउन्सिलको नेतृत्व सम्हालेका बुढाथोकीले बुधबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । जसमा पत्रकारिताको स्वतन्त्रता, स्वायत्तता, स्वच्छता, व्यवसायिकता तथा काउन्सिलको स्वायत्तताको रक्षा र कामकारबाही चुस्त–दुरुस्त बनाउने उल्लेख छन् ।
प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कार्यवाहक अध्यक्ष बुढाथोकीले युट्युब च्यानलको नियमनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पत्रकारिताको परिभाषाभित्र नपर्ने युट्युवरहरूले भ्युजको लोभमा सामाजिक मर्यादा नाघेर सामग्री प्रसारण गर्दै आएका छन् । यसले पत्रकारिताको विश्वसनीयता ह्रास गराउनुको साथै सामाजिक सद्भाव खलल पुगेकाे भन्दै चिन्ता व्यक्त भइरहेका छन् । यद्यपि, यसको नियमन गर्ने क्षेत्राधिकार काउन्सिलसँग छैन । बुढाथोकीले नीति–नियम बनाएर युट्युबको व्यवस्थापनका लागि नेपाल पत्रकार महासङ्घ, सम्बन्धित संस्था तथा विभिन्न विज्ञहरूसँग समन्वय गरी सरकारलाई आग्रह गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रेस काउन्सिलबाट प्रवाह हुने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने प्रतिबद्धता पनि कार्यवाहक अध्यक्ष बुढाथोकीले व्यक्त गरेका छन् । त्यसका लागि सोही दिन काम गर्ने व्यवस्था मिलाउने बुढाथोकीकाे भनाइ छ। विशेष गरी कर्णाली, सुदूरपूर्व र सुदूरपश्चिमबाट आउने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएर अब काउन्सिलले सेवा प्रवाह गर्नेछ । ‘प्रक्रिया पुगेको अवस्थामा आजको आजै (सोही दिन) वा २४ घण्टाभित्र काम फत्ते गर्ने गरी व्यवस्था मिलाइनेछ । काउन्सिलको कार्यसम्पादन थप मितव्ययी तथा पारदर्शी बनाइनेछ,’ बुढाथोकीद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ ।
देशभर सञ्चालित अनलाइन र तिनबाट सम्प्रेषण हुने सामग्रीलाई अझ व्यवस्थित, जनउत्तरदायी र पत्रकार आचारसंहिताको मर्मअनुरूप गराउन ती सञ्चारमाध्यमको वस्तुस्थिति तथा संरचनाबारे सर्भेक्षण गर्ने प्रतिबद्धता पनि बुढाथोकीले जनाएका छन् । बुढाथोकीका अनुसार, तिनको अवस्था, सम्प्रेषित सामग्रीको प्रभाव, आचारसंहिता पालना, सामाजिक उत्तरदायित्व बहनलगायतका आधारमा श्रेणी निर्धारण गर्न सरोकार पक्ष र सम्बन्धित विज्ञहरू सम्मिलित बैठक÷छलफलबाट समयसापेक्ष कार्यविधि बनाएर निश्चित मापदण्डका आधारमा श्रेणी तोकी सहजीकरण एवं यसबारे बजेटमा उल्लेखित विषयको मूर्तरूपमा कार्यान्वयनका लागि काउन्सिलले पहल गर्नेछ ।
मितव्ययी कार्यप्रणाली अवलम्बन गर्ने प्रतिबद्धता पनि बुढाथोकीले व्यक्त गरेका छन् । विशेष काम र परिस्थितिबाहेक कार्यदिन र कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने तथा सार्वजनिक बिदाको दिन कार्यालयको कामबाहेक सवारी साधन र अन्य सेवा प्रयोग नगर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । कार्यवाहक अध्यक्षका हैसियतमा प्राप्त सेवा सुविधा र खर्च (इन्धनलगायत) सकेसम्म कटौती गरी मितव्ययी बनाउने घोषणा पनि बुढाथोकीले गरेका छन् ।
त्यस्तै, पारिश्रमिकको १० प्रतिशत सामाजिक कार्य र खोज अनुसन्धानमा लगाउने घोषणा पनि बुढाथोकीले गरेका छन् । ‘पदमा बहाल रहँदा आफूले प्राप्त गर्ने सुविधा पारदर्शी बनाउँदै पारिश्रमिकको १० प्रतिशत सामाजिक सेवा, असहाय, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्त्वका अनुसन्धान तथा खोजमा संलग्न व्यक्ति÷संस्थाको लागि उपलब्ध गराइनेछ,’ बुढाथोकीद्वारा जारी प्रतिबद्धतापत्रमा भनिएको छ ।
बुढाथोकीले नैतिकताकाे कारण दर्शाउँदै साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट पनि अलग हुने घोषणा गरेका छन् । साथै उनले विभिन्न संघ–संस्थासँगको आबद्धता पनि त्यागेका छन् ।
यसअघि प्रेस काउन्सिलको नेतृत्वमा रहेका व्यक्ति पत्रिकाको सम्पादकसहित दोहोरो भूमिकामा रहने गरेका थिए । सञ्चार माध्यमको नियामककारी निकायको नेतृत्व गर्ने व्यक्ति दोहोरो भूमिकामा रहेको भन्दै आलोचना हुने गरेको थियो ।
काउन्सिल नेतृत्वमा रहँदा पत्रिकाको सम्पादक हुन मनासिव नहुने भएकाले साँघु साप्ताहिकको सम्पादकको जिम्मेवारीबाट अलग भएको बुढाथोकीले उल्लेख गरेका छन् ।
‘सर्वप्रथम म यस संस्थाको कार्यवाहक अध्यक्ष बहाल रहुञ्जेल म कार्यरत रहेको साँघु साप्ताहिकको सम्पादक पदमा नरहने जानकारी गराउँदछु,’ बुढाथोकीद्वारा बुधबार जारी प्रतिबद्धतामा भनिएको छ,‘ साथै यस पदमा बहाल रहुञ्जेल कुनै पनि सञ्चारमाध्यमको सम्पादकको भूमिकामा नरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
साँघु ०३५ सालदेखि प्रकाशित हुँदै आएको छ । बुढाथोकी सुरुदेखि नै यसको प्रकाशक तथा सम्पादकको भूमिकामा रहेकोमा हाल सम्पादकको भूमिकाबाट अलग भएको घोषणा गरेका छन् ।
पत्रकारितालाई हतियार बनाएर निजी स्वार्थ पूरा गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै बुढाथोकीले पत्रकारिताको शुद्धीकरणका लागि प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । त्यसका लागि पत्रकार महासंघ, विभिन्न पेसागत संघ–संघ संगठन तथा सुरक्षा निकायको साथ लिइने उल्लेख छ ।
‘पछिल्लो समय पत्रकारको नक्कली परिचयपत्र बनाएर अथवा पत्रकारको परिचयपत्र भिरेर निजी स्वार्थका निम्ति पेसाको बदनाम गर्ने प्रवृत्ति बढेको देखिएको छ । पत्रकारको रूपमा पेसागत तथा व्यावसायिक मर्यादाभन्दा बाहिर गएर विभिन्न सौदाबाजी गर्ने, धाकधम्की दिने, गुण्डागर्दी गर्ने, समाचार तथा विभिन्न श्रव्यदृृष्य सामग्रीको दुरुपयोग गरी समाज भड्काउने पात्र र प्रवृत्तिको नियमन तथा नियन्त्रण आवश्यक देखिएकाले नेपाल पत्रकार महासङ्घ, विभिन्न पेसागत सङ्घ–सङ्गठन, सुरक्षा निकाय समेतको समन्वयमा पेसागत शुद्धीकरणका लागि आवश्यक कदम चालिनेछ,’ प्रतिबद्धतापत्रमा लेखिएको छ । बढुाथोकीले समाजमा देखिएका यस्ता प्रवृत्तिविरुद्ध काउन्सिलमा तत्काल उजुरी गर्न आम सर्वसाधारण तथा जिम्मेवार व्नागरिकलाई अपिलसमेत गरेका छन् । उजुरीको गोपनीयता सुरक्षित राख्ने र तत्काल सुनुवाई तथा कारबाही गर्ने बुढाथोकीको भनाइ छ ।
पत्रकार तथा सञ्चारमाध्यममाथि बढेको आक्रमणको घटनाप्रति चिन्ता व्यक्त गर्दै बुढाथोकीले पत्रकारिता आचारसंहिता (संशोधन–२०७६) को प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिबद्धतापत्रमा भनिएको छ– हामी पत्रकार आचारसंहिता पालनामा सचेत र संवेदनशील नबन्दा भएका कमिकमजोरीका कारण पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण बढिरहेको अवस्थालाई मध्यनजर गर्दै पत्रकार आचारसंहिता (संशोधन–२०७६)को प्रभावकारी अनुगमन र पूर्णरूपमा पालना गर्नेे÷गराउनेतर्फ प्रयास गरिनेछ ।
आ.व. ०७५/०७६ को पत्रपत्रिका वर्गीकरण कार्य तत्काल सम्पन्न गर्ने उनले जनाएका छन् । यसअघि नै पत्रपत्रिकाको वर्गीकरण भइसकेको हुनुपर्ने भए पनि त्यो यथास्थितिमा छ ।
प्रेस काउन्सिल इतिहासमै प्रतिबद्धता सार्वजनिक गर्ने पहिलो व्यक्ति बढुथोकीले यसको कार्यान्वयनका लागि काउन्सिल बोर्ड, सचिवालयका सम्पूर्ण कर्मचारी, पत्रकारिता कर्ममा सम्बद्ध सबैको सहयोगको अपेक्षा गरेको जनाएका छन् ।


