चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ?



हाम्रो इकोनोमि

 

हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड दसैँ आउन लगभग तीन साता बाँकी छ । सामान्य अवस्थामा यतिबेला बजारमा दसैँको चहलपहल बढेको हुन्थ्यो तर कोरोना महामारीका कारण बजारमा दसैँको रौनक देखिएको छैन ।

दसैँ लक्षित किनमेल सुस्ताएको छ । कोरोना माहामारीका कारण कयौँ श्रमिक एवम् निजी क्षेत्रका कर्मचारीले रोजगारी गुमाएका छन् । नियमित आम्दानी नै सुकेपछि चुल्हो बाल्नै सकस भएकाहरुलाई के दसैँ, के तिहार ?

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ मा जारी लकडाउन चार महिना लम्बिँदा कयौं श्रमिक तथा कर्मचारी घरमै थन्किएर बस्नुप¥यो । मध्यम वर्गका परिवारले सामान्य अवस्थामा दसैँका लागि दुई÷चार महिना अघिदेखि नै खर्चको जोहो गर्नुपर्ने हुन्छ । लकडाउन र निषेधाज्ञाले गर्दा दुई छाक टार्नसमेत मुस्किल भइरहेको अवस्थामा त्यस्ता परिवारका लागि दसैँको रौनक निकै टाढाको विषय भएको छ ।

व्यापारी–व्यवसायीका लागि पनि दसैँ महत्वपूर्ण अवसर हो । वार्षिक उपभोगको झण्डै ३० प्रतिशत हिस्सा दसैँले ओगट्ने भएकाले पनि यो समय व्यापार–व्यवसायको मुख्य सिजन पनि हो । तर रोजगारी गुमाएका, आर्थिक रुपमा थिलथिलो भएका उपभोक्ताले विगतकै सरह उपभोग्य वस्तु खरिद गर्न नसक्ने अवस्था रहेका कारण यो वर्ष व्यापारी–व्यवसायीका लागि पनि दसैँले खासै रौनक ल्याउन सकेको छैन ।

अहिले अर्थतन्त्र नै मुर्झाएको छ । दशै लक्षित किनमेल छैन । विगतमा असार लागेसँगै दसैँ लक्षित सामान आयात गर्न व्यवसायीहरु एलसी खोल्न थाल्थे तर अहिले न एलसी खोलिएको छ, न त नयाँ सामानको माग नै भएको छ ।

 

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवाल विगतमा दसैँ–तिहार तथा छठ जस्ता पर्वमा लत्ताकपडा, खाद्यान्नदेखि गरगहनाको बिक्री हुने गरे पनि यस वर्ष माग नै नभएकाले व्यवसायीले आयात नगरेको बताउँछन् । गत वर्ष माग गरिएको मालसामान पनि चीनको केरुङ नाकामा अड्किएको छ । रोजगारी नै गुमेपछि आममानिसको क्रयशक्ति गुमेको छ । अग्रवाल भन्छन्, ‘आफन्तहरुकोमा टिका लगाउन जाने, कतै घुम्न जाने भए नयाँ लत्ताकपडाको माग हुन्थ्यो होला  तर कोरोनाले सबै घरमै हुने भएकाले यो वर्ष दसैँमा पनि लत्ताकपडाको माग छैन । व्यवसयीहरुले नयाँ सामान ल्याएका पनि छैनन् ।’

यो दसैँमा २० प्रतिशत व्यापार हुन पनि मुस्किल रहने उनको भनाइ छ ।

गत आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्यांक हेर्ने हो भने वार्षिक ३० खर्ब ८५ अर्ब (कुल ग्रार्हस्थ उत्पादनको ८१.९० प्रतिशत) उपभोगमै खर्च हुन्छ । नेपालको अर्थतन्त्र ३७ खर्ब  ८७ अर्ब पुगेको छ ।

बचत ज्यादै न्युन छ । यद्यपि अहिले बचत १९ प्रतिशतको हाराहारीमा पुगेको भनिएको छ । अर्थविद् केशव आचार्य यस पटक सवा १ खर्ब पनि खर्च हुन मुस्किल रहेको बताउँछन् । अघिल्ला वर्षमा साढे ४ खर्ब  रुपैयाँ दसैँ उपभोगमै खर्च हुने गरेको भए पनि यस पटकको दसैँ आर्थिक, सामाजिक, सांस्कृतिक रुपले खल्लो हुने आचार्यको अनुमान छ ।

 

बैंकिङ प्रणालीबाट बाहिर आएन मुद्रा

लत्ताकपडा, गरगहना, गाडी, मोटरसाइकल, टीभी, फ्रिज र वासिङ मेसिनजस्ता विद्युतीय उपकरण, भाँडाकुँडा र मरमसलादेखि माछामासु र फलफूलको किनबेच यही बेला चम्किने गर्छ । नाडा अटो शोमै अर्बौँको सवारी साधन बुकिङ हुन्थ्यो । जसले यी सामाग्रीहरु ल्याउन असारदेखि नै एलसी खोलेर व्यवसायीहरुले तयारी गर्थे ।

यतिबेलासम्म बजारमा नयाँ नयाँ सवारी साधन आइसकेको हुन्थ्यो । बैंकिङ प्रणालीबाट पनि ठूलो रकम उपभोगको लागि बाहिरन्थ्यो । जसले बैंकमा पैसाको अभाव हुन थल्थ्यो । तर दसैँ आउन २० दिन पनि बाँकी छैन । बैंकिङ सिस्टममा दुई खर्ब बढी तरलता छ । दसैँताका न्यूरोडका पसल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपको बजार, डिपार्टमेन्टल स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्थ्यो तर अहिले खुलेका एकाध पसल पनि ग्राहक कुरेर बसेको देखिन्छ । कसैले बचत गरेको रकम खरिद नै गर्नु नपरेपछि बैंकबाट रकम झिक्ने कुरै भएन ।

छिमेकी मुलुकमा मजदुरी गर्न जाने सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश मजदुर कोरोना कहरमा फर्किए तर महिनौँसम्म पनि अवस्था उस्तै रहेपछि बालबच्चा पाल्नकै लागि फेरि भारत गएका छन् । त्यस्ता वर्गले आफ्नो संरक्षक र लालनपालन गर्ने अभिभावक बिनानै दसैँ मनाउनु पर्ने अवस्था भएको उनी बताउँछन् ।

अर्कोतर्फ दसैँमा नयाँ नोटको माग हुने भएपछि त्यसको व्यवस्थापनमा राष्ट्र बैंकलाई भ्याइ नभ्याइ हुन्थ्यो तर अहिले नयाँ नोट साट्ने वा नसाट्ने भन्नेमै राष्ट्र बैंक अन्यौलमा छ ।

 

‘आँशु दुःख र विरहको दसैँ’

दसैँ भनेको सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, आर्थिक पर्व हो । अहिले सबै हिसाबले मानिसको मनोदसा विक्षिप्त भएको अर्थविद् आचार्यको भनाइ छ । ठेलागाडा व्यवसाय, दैनिक मजदुरी गरेर छाक टार्ने वर्गका लागि आँशु, दुःख र विरहको दसैँ हुने उनी बताउँछन् ।

सरकारले एकपटक राहत दिए पनि त्यसपछि सरकारले उनीहरुको वास्ता नगरेको र अपनत्व नलिएको आचार्यको भनाइ छ ।

अर्कोतर्फ घटस्थापना शुरु भएसँगै गाउँ झर्नेको लर्को लाग्थ्यो । यातायात व्यवसायीले पनि झण्डै एक महिना अघि टिकट बुकिङ खोल्थे । चैत ११ यता कयौंले रोजगारी गुमाएर गाउँ फर्किनु परेको र कतिपयले कोरोनाको कहरमा फेरि लकडाउन हुने पो हो कि भनेर यात्रामा अनिश्चितता बनाएका कारण पनि अहिलेसम्म यातायात क्षेत्रमा चहलपहल देखिएको छैन । यात्रु आउने नआउनेमै शंका भएपछि व्यवसायीहरु अग्रिम टिकट बुकिङ खुलाउने पक्षमा देखिदैनन् ।

 

कोरानाबाट कयौं संक्रमित छन् भने कतिले कोरानाकै कारण ज्यान गुमाएका छन् । बाँच्नेहरुमा पनि कतिपयले एक छाक टन्न खान पाउने अवस्थासमेत गुमाएका छन् । मानिसलाई खानै समस्या भएको बेला लत्ताकपडा किनमेलमा ध्यान नदिने व्यवसायी अग्रवाल बताउँछन् ।

राज्यको राजस्व गुम्यो

माग नै नभएपछि व्यवसायीले मालसामान ल्याउन खासै चासो देखाएनन् । जसले गर्दा राज्यको राजस्व गुमेको छ । चालु आर्थिक वर्षको दुई महिनामा आयात २२.०७ प्रतिशतले घटेको छ । जसले गर्दा व्यापार घाटा साँघुरिएको छ । आयात कम भएपछि सरकारको भन्सार राजस्व स्वाभाविक रुपमा प्रभावित भएको छ । यद्यपि उठ्नुपर्ने आन्तरिक कर भने उठिरहेकै छ, जसले सरकार दैनिक खर्च सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...