मलकाण्डमा यसरी फसे मन्त्री भुसाल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी समकक्षी शेख हसिनासँग गत मंगलबार नेपाललाई खाँचो परेको भन्दै ५० हजार मेट्रिकटन मल पैँचो मागे । बंगलादेशकी प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको प्रधानमन्त्रीले सोही दिन ट्वीटरमार्फत जानकारी दिए ।

दुई देशका प्रधानमन्त्री तहमा भएको छलफलपछि किसानमा मल पाइने आशा जगाएको छ । तर कतिपयले भने निकट छिमेकी भारत र चीनलाई छोडेर नेपालले किन बंगलादेशको मल रोज्यो भन्ने चासो राखेका छन् ।

नक्सा जारी र राम जन्मभूमिको विवादपछि नेपाल र भारतको सम्वन्ध चिसिएको मात्रै छैन, संवाद पातलिएको अवस्था छ । यही भएर नेपालले भारतसित मुन्टो बटारेर बंगलादेशसँग पहल गरेको हो त ?

भारतमै मल अभाव

ठेक्का पाएको ठेकदारका कारण धानमा हाल्ने मल अभाव हुने निश्चित भएपछि कृषिमन्त्री धनश्याम भुसालले मलको तत्कालीन जोहोबारे व्यक्तिगत र कुटनीतिक छलफल थालेका थिए । नजिकको छिमेकी र सजिलै आयात गर्न सकिने भएकाले सबैभन्दा पहिले मल खरिद वा पैँचोका लागि भारतसँग नै नेपालले प्रस्ताव गरेको थियो ।

कृषि मन्त्री  भूषालको व्यक्तिगत सम्बन्ध तथा अन्य नेताको चिनजानको आधारमा नेपालमा मलका विषयमा भारतीय अधिकारीसँग कुराकानी भएको थियो । स्रोतका अनुसार दिल्लीस्थित नेपाली राजदूतले पनि नेपाललाई मल चाहिएको बारे अनौपचारिक छलफल गरेका थिए ।

‘भारतको मनोविज्ञान बुझ्ने र ऊ सकारात्मक भए औपचारिक च्यानलबाट प्रक्रिया थाल्ने नेपालको सोच थियो,’ एक अधिकारी भन्छन् ।

नेपालले प्रस्ताव गरेको विषयमा भारतीय पक्षबाट कुनै रेस्पोन्स नभएको स्रोतले बतायो । ‘हामीले कुरा राख्यौँ तर उहाँहरुले केही जवाफ दिनु भएन,’ ती अधिकारीले भने, ‘पछि बुझ्दा उहाँहरुलाई पनि २ लाख मेट्रिक टन मल अभाव रहेछ ।’

त्यसपछि अर्को विकल्पमा गएको कृषि मन्त्रालय स्रोत बताउँछ । मल खरिदका लागि भारतसँग विगतमा त्यस्तो कुनै समझदारी नभएको पनि मन्त्रालयले जनाएको छ ।

चीनसँग अप्ठेरो प्रक्रिया

नेपाललाई तत्कालै मल चाहिएको विषयमा चिनीयाँ सरकारसँग पनि कुरा पुगेको थियो । चीनले दुईवटा सरकारी स्वमित्वको कम्पनीले मल उत्पादन गरिरहेको भन्दै ती कम्पनीसँग नै डिल गर्न लिखित पत्रमार्फत आग्रह गर्‍यो ।

‘मल तत्काल चाहिएको छ, तर चीनबाट अमूर्त र प्रक्रियागत कुरा आयो, त्यसमाथि आयातका झन्झटका कारण नेपालले थप पहल गरेन,’ स्रोत भन्छ । कम्पनीमा बुझ्दा मलको भाउ पनि मँहगो देखिएपछि अन्य मुलुकमा बुझ्न थालियो ।

दुई ठूला छिमेकी मुलक भारत र चीनबाट मल नआउने भएपछि ओमन, रसिया, साउदी अरब, बंगलादेश लगायतका मुलुकसँग तत्काल नेपालको गर्जो टार्न छलफल गरेपनि बंगलादेश मात्रै मल दिन राजी भएको मन्त्रालय स्रोत बताउँछ ।

१४ दिनमा मल आइपुग्ने दावी

दुवै देशका प्रधानमन्त्रीबीच मल लिन र दिन सहमति भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल ल्याउने तयारी तीब्र पारेको छ । मन्त्रालयका अनुसार दुई प्रधानमन्त्रीले कुरा गरेको दिनको १४औँ दिनभित्र मल ल्याई पुर्‍याउने गरी कार्यदल बनाएर काम अघि बढाइएको स्रोतले बतायो ।

बंगलादेशलाई पछि फिर्ता दिन सजिलो होस भनेर मलको गुणस्तर र प्याकेजिङको लेबलसमेत समेटिने गरी सम्झौताको खाका बनाइँदै छ । मल लिने समझदारी दुई देशका कुन तह र निकायबाट गर्ने भन्ने विषयमा कार्यदलले काम गरिरहेको छ । ढाकास्थित नेपाली राजदूत, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन वा वाणिज्यस्तरमा रहेको सहसचिव तहबाट बंगलादेशी समकक्षीसँग मल लिन सम्झौता गरिने मन्त्रालयले जनाएको छ ।

समझदारीको मोडालिटीमा बंगलादेशलाई कसरी मलको पैँचौ तिर्ने भन्ने पनि टुंग्याइने छ । ग्लोबल टेण्डर गरेर ढाकामै मल पुर्‍याइदिने वा बंगलादेशले मल किन्ने तर नेपालले पैसा तिर्ने विकल्पमा छलफल अघि बढेको छ ।

नेपालसम्म मल ल्याउनकालगि बंलगादेशको सरकारी आयातकर्ता एजेन्सी, निजी व्यापारी तथा ढाकासम्म पहुँच भएका कारण भारत रेल्वेसँग पनि छलफल भई रहेको मन्त्रालयले जनाएको छ ।

अहिले ल्याउने मल धानको लागि नभई कात्तिकदेखि सुरु हुने तरकारी, तोरी र गहुँखेतिको लागि भएको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...