किन खुल्दैन नेपालमै मल कारखाना ? यस्तो छ कारण



हाम्रो इकोनोमि

 

सायनिक मल उत्पादन गर्ने कारखाना खोल्न सम्भव छ त ? कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार रसायनिक मलमा नेपाल पूर्णरुपमा परनिर्भर छ । देशको कुल खेतियोग्य जमिनमा वार्षिक ७ लाख मट्रिक टन कम्तिमा युरिया मल आवश्यक हुने मन्त्रालयको अनुमान छ ।

यसका अतिरिक्त हरेक वर्ष मलको माग बढ्दै गएको छ । तर, सरकारले वार्षिक तीन लाख मेट्रिक टन हाराहारी मात्रै मल खरिद गर्छ ।

आर्थिक वर्ष २०७६/०७७ मा मल खरिद गर्न ९ अर्ब बजेट छुट्याएको थियो । उक्त बजेटबाट करिब साढे ४ लाख मेट्रिक टन मल आयात गर्न सकिने भए पनि मल आयात नभएर अहिले किसानले समस्या भोगिरहेका छन् ।

वर्षिक औषत ७ अर्ब मलकै लागि बाहिरिन्छ

आर्थिक वर्ष ७६/७७ मा मल भित्र्याउन कृषि सामाग्री लिमिटेडले प्रति मेट्रिकटन ३९० डलरमा बोलपत्र आह्वान गरेको थियो । जसको लागत नेपाली रुपैयाँ ४५ हजार ६ सयभन्दा धेरै हुन्छ ।

डलरको मूल्यअनुसार मलको भाउ केही तलमाथि हुने भए पनि कम्तिमा ४० देखि बढीमा ४८ हजार रुपैयाँमा एक मेट्रिकटन मल नेपाल भित्रिन खर्च हुन्छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/०७३ मा ३ लाख २७ हजार ५२० मेट्रकटन मल आयात भएको थियो ।

२०७३/०७४ मा ३ लाख २८ हजार २१७ मेट्रिक टन आयात भयो ।

२०७४/०७५ मा ३ लाख ४८ हजार ७३४ मेट्रिकटन मल भित्रियो ।

त्यस्तै, २०७५/०७६ मा ३ लाख ४४ हजार मेट्रिकटन मल नेपालमा भित्रिएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा मल आयातका लागि सरकारले ९ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । चालु आबमा ११ अर्ब रुपैयाँ बजेट मल खरीदकै लागि विनियोजन गरिएको छ ।

नेपालमा वार्षिक १३ अर्बको मलको कारोबार हुने र यसमा सरकारी खर्च मात्रै वार्षिक औषत ७ अर्ब हाराहारी हुने कृषि मन्त्रालयले जनाएको छ ।

नेपालमा मल काराखाना खोल्ने प्रयास

आर्थिक वर्ष २०७३/०७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपालमै रसायनिक मल कारखाना खोल्ने घोषणा गरेका थिए । त्यसपछि नेपालमा मल कारखाना खोल्नेबारे बहस हुन थालेको हो । सरकारको नीति तथा कार्यक्रममै परेपछि मल कारखाना खोल्न अध्ययनहरु पनि भए ।

तत्कालीन कृषि मन्त्रालयले मल कारखानाबारे अध्ययन गर्न लगानी बोर्डलाई जिम्मा दिएको थियो । भारतको डेभलपमेन्ट कर्पोरेसन अफ कर्नाटकमार्फत गराइएको सम्भाव्यता अध्ययनले नेपालमा प्राकृतिक ग्यासबाहेक अरु ऊर्जा प्रयोग गरेर तत्काल मल कारखाना सञ्चालन सम्भव नभएको प्रतिवेदन दिएको थियो ।

मल कारखाना खोल्न नसकिनुको कारण ऊर्जा नै प्रमुख भएको प्रतिवेदनको निश्कर्ष भएको बोर्डका अधिकारी बताउँछन् ।

त्यसो त नेपाल रसायनिक मलका लागि भारतको एउटा महत्वपूर्ण बजार हो । नेपालमा मल कारखाना खोल्न सम्भव छ कि छैन भन्ने कुराको सम्भाव्यता अध्ययन गर्ने जिम्मा पनि सरकारले भारतीय कम्पनीलाई नै दियो र उसले सम्भव छैन भनिदियो । यसमाथि तेस्रो पक्षबाट स्वतन्त्र अध्ययन भएको छैन ।

७६ अर्ब लगानी, प्रतिकिलो लागत ३१ रुपैयाँ

लगानी बोर्डले गराएको अध्ययनमा नेपालमा रसायनिक मल कारखाना खोल्न ७६ अर्ब नेपाली रुपैयाँ (६५० मिलियन डलर) लाग्ने अनुमान गरिएको थियो । धनुषाको ढल्केबर वा नवलपरासीको बर्दघाटमा कारखाना बनाउन बोर्डले प्रस्ताव गरेको थियो ।

सुरु गरेको तीन वर्षमा कारखाना बनाउन सकिने र यसका लागि ४ सय हेक्टर जमिन चाहिने भनिएको थियो । प्राकृतिक ग्यासबाट चल्ने कारखानाका लागि दैनिक ११५ मेगावाट बिजुली खपत हुने र ११ सय ९७ मेट्रिकटन प्राकृतिक ग्यास हरेक दिन खर्च हुने रिपोर्ट तयार पारिएको थियो ।

सार्वजनिक निजी साझेदारी तथा निजी लगानीमा मात्रै मल कारखाना बनाउन सकिने बोर्डको निश्कर्ष छ । आयोजनाका लागि कम्तिमा २० देखि २५ वर्ष नाफा सुरक्षित हुने बोर्डको भनाइ छ ।

बिजुली र कोइलाबाट उद्योगलाई चलाउँदा उत्पादन लागत निकै महंगो हुने भएकाले प्राकृतिक ग्यास नै उक्त विकल्पका हुने बोर्डको अध्ययनले देखाएको छ ।

सो अध्ययनअनुसार बिजुलीबाट उत्पादन गर्दा प्रतिकिलो उत्पादन लागत ४९ रुपैयाँ हुन्छ भने सरकारले किलोमै ३० रुपैयाँभन्दा बढी अनुदान कम्पनीलाई दिनुपर्ने अवस्था आउँछ ।

यस्तै उद्योगका लागि ५ सय मेगाबाट बिजुली आवश्यक पर्छ भने झण्डै ४ सय मेगावाटको छुट्टै प्लान्ट नै बनाउनुपर्छ । बिजुलीको विकल्पमा कोइलामा जाने हो भने किलोमा २० रुपैयाँभन्दा बढी अनुदान दिनुपर्ने अध्ययनको निश्कर्ष छ ।

कोइलाबाट एक किलो मल उत्पादन गर्न ४० रुपैयाँभन्दा बढी खर्च हुन्छ । १ खर्ब खर्चिएर कोइलाबाट चल्ने मल उद्योग बनाइए १६ लाख मेट्रिक टन कोइला नै आयात गर्नुपर्छ । प्राकृतिक ग्यासमा जाने हो भने प्लान्टले एक किलो मल ३१ रुपैयाँमा उत्पादन गर्न सक्छ ।

यस्तो मल उद्योग चलाउने हो भने सरकारले किलोमा १३ रुपैयाँ अनुदान दिनुपर्ने अध्यायनको निचोड छ ।

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...