अर्थमा को जाने, वामदेवलाई कहाँ लाने ?



हाम्रो इकोनोमि

 

संघीय सदनको सदस्य (सांसद) बिनाको मानिस मन्त्री हुन पाउने ६ महिने समयसीमा घर्किने पूर्वसन्ध्यामा भावी अर्थमन्त्रीको विषयलाई लिएर यावत टिप्पणी शुरु भएका छन् । अहिले नेकपाभित्र यस विषयमा चारखाले टिप्पणी चलिरहेको छ । अस्ति बिहानसम्म छर्लङ्ग देखिएको सम्भावना थियो, राष्ट्रियसभा सदस्यका रुपमा पुनः सिफारिससँगै डा.युवराज खतिवडाको निरन्तरता । झिनो आशा हो, महासचिव विष्णु पौडेलको आगमन । तेस्रो छ, पार्टी विवाद मिलाउने कार्यदलमा बसेका सुरेन्द्र पाण्डेको नियुक्ति ।

र, अन्तिम विकल्पका रुपमा च्याप्टर क्लोज भैसकेर अस्ति साँझदेखि नयाँ तरङ्ग सिर्जना गर्ने उपाध्यक्ष वामदेव गौतम । तर, यी सबै विकल्पका थरिथरि समस्या छन् । डा.युवराज खतिवडाका कारण पार्टी विवादको वीजारोपण भएको वास्तविकता हिजो थियो । तर, प्रधानमन्त्रीको नजरबाट ओझेल पर्नासाथ कोटरीका तिनै मान्छेले गुनासो पोख्ने गरेका छन्, खतिवडा त्यस्ता को मानिस हुन्, जसलाई एउटापछि अर्को पद दिइहाल्नुपर्ने ? के पदबिना उनी बाँच्नै नसक्ने स्थितिका प्राणी हुन् ? कोरोना संक्रमणको समयमा पनि कर संकलनदेखि दातृ निकायसँग प्रभावकारी समन्वय गरेको र फेरि पनि त्यस्तै व्यक्ति चाहिने भन्दै प्रधानमन्त्रीले खतिवडालाई २० गतेअघि नै राष्ट्रियसभा सदस्यमा फेरि सिफारिस गर्ने घनघोर तयारी थियो । त्यसो त विष्णु पौडेललाई पार्टी महासचिवबाट फिर्ता गराएर मन्त्री बनाउने कुराले अर्कातिर क्षति पुग्ने खतरा सँगसँगै छ ।

चैतमा महाधिवेशन नगरी नछाड्ने भनिसकेपछि विष्णुलाई महासचिवबाट तान्दा सङ्गठन कसले हेर्ने ? अनि महाधिवेशन हुन्छ नै भनेर कसले पत्याउने ? पूर्वएमाले समूहबाट महासचिवका दुई आकांक्षी र पछिल्लो महाधिवेशनका प्रत्यासी हुन्, ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे । तर, यी दुबैजना प्रधानमन्त्री अनुकूलका छैनन् । केपीका निम्ति ईश्वर ‘ढोडको लौरो, पुच्छर न हतियार’ भनेजस्ता, उपयोग ग¥यो– उपादेयता सकियो । सुरेन्द्र त घोषित रुपमै फरक धारका भइहाले । त्यसैले पार्टी संगठनको पकड आफूमै राख्ने मूल्यमा विष्णुलाई अर्थमन्त्री बनाउने हिम्मत प्रधानमन्त्रीले किमार्थ गर्नुहुने छैन । केपी ओली भएर सोच्दा सुरेन्द्र पाण्डेमा केही समस्या छन् । झलनाथ खनाल पार्टी अध्यक्ष हुँदा केन्द्रीय कमिटी बैठकमा ओलीका विरुद्ध एउटा १२ बुँदे आरोपपत्र दर्ता भएको थियो । ०२७ सालदेखि ०७७ सालसम्मका राजनीतिक घटनाक्रम सम्झी–सम्झी मानिसबारे मूल्यांकन गर्नुहुने प्रधानमन्त्रीले १० वर्ष पनि नबितेको यो कुरा बिर्सन सक्नुहोला भन्ने अनुमान कसैले पनि गर्न सकेका छैनन् ।

यसकारण केपी ओलीलाई बरु प्रधानमन्त्री छाड्दा बेमज्जा नहोला, तर सुरेन्द्रलाई अर्थमन्त्री बनाउन थोरै पनि रुची छैन । सम्भवतः सुरेन्द्र शहरी बिकासमन्त्री बन्न सक्नुहुन्छ । अनि, अस्ति बिहानसम्मका अन्तिम तर बेलुकादेखि पहिलो विकल्पको रुपमा देखिनुभएका वामदेव गौतमलाई कहाँ लगेर राख्ने ? केपी ओलीको दुःखचाहिँ के हो भने, वामदेवलाई एक ठाउँमा राम्रोसँग सेटल गर्न सकिएन भने बिजुली चम्किएजस्तो कुन दिन अनायासै अर्को आपतमा परिएला भन्ने डर । अस्तिसम्म पनि कि डोल्पाबाट चुनाव लडेर आउने या उस्तै परे महाधिवेशनमा केपी पक्षबाट अध्यक्षको एक्लो दावेदारका रुपमा खडा गर्ने योजना वामदेवलाई सुनाइएको थियो ।

दुई हप्ताअघि गोकुल बाँसकोटाहरुले बालुवाटारमा प्रधानमन्त्रीकै अगाडि भनेका थिए, आजैदेखि लागेर उहाँलाई पार्टी अध्यक्ष बनाइछाडौँ, ‘त्यसपछि प्रधानमन्त्री बन्ने कुरा त पार्टी अध्यक्ष आफैँले सुनिश्चित गरेर जाने हो ।’ तर, अब केपीको डर छ, बिनाकुनै सेटलमेण्ट वामदेवलाई ७–८ महिना खालि राखियो भने समस्या हुन्छ । किनभने, केपीले वामदेवसँग थुप्रै उधारो कुरा गरिसक्नुभयो । अब वामदेव उधारो सहमति पत्याउने स्थितिमा हुनुहुन्न । वामदेवलाई ०७४–०७५ सालतिर राष्ट्रिय पुनःनिर्माणको जिम्मा दिने भनेर केपीले वचन दिनुभएकै हो । पछि त्यो तुहियो, आन्तरिक समीकरण पनि बद्लियो । इतिहास कस्तो रहेछ भने, आजसम्म गृह मन्त्रालय चलाएर कोही पनि अर्थ मन्त्री बनेका छैनन्, न अर्थ मन्त्रीहरु नै गृह गएका छन् । जनआस्थाबाट साभार

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...