अर्थमा को जाने, वामदेवलाई कहाँ लाने ?
संघीय सदनको सदस्य (सांसद) बिनाको मानिस मन्त्री हुन पाउने ६ महिने समयसीमा घर्किने पूर्वसन्ध्यामा भावी अर्थमन्त्रीको विषयलाई लिएर यावत टिप्पणी शुरु भएका छन् । अहिले नेकपाभित्र यस विषयमा चारखाले टिप्पणी चलिरहेको छ । अस्ति बिहानसम्म छर्लङ्ग देखिएको सम्भावना थियो, राष्ट्रियसभा सदस्यका रुपमा पुनः सिफारिससँगै डा.युवराज खतिवडाको निरन्तरता । झिनो आशा हो, महासचिव विष्णु पौडेलको आगमन । तेस्रो छ, पार्टी विवाद मिलाउने कार्यदलमा बसेका सुरेन्द्र पाण्डेको नियुक्ति ।
र, अन्तिम विकल्पका रुपमा च्याप्टर क्लोज भैसकेर अस्ति साँझदेखि नयाँ तरङ्ग सिर्जना गर्ने उपाध्यक्ष वामदेव गौतम । तर, यी सबै विकल्पका थरिथरि समस्या छन् । डा.युवराज खतिवडाका कारण पार्टी विवादको वीजारोपण भएको वास्तविकता हिजो थियो । तर, प्रधानमन्त्रीको नजरबाट ओझेल पर्नासाथ कोटरीका तिनै मान्छेले गुनासो पोख्ने गरेका छन्, खतिवडा त्यस्ता को मानिस हुन्, जसलाई एउटापछि अर्को पद दिइहाल्नुपर्ने ? के पदबिना उनी बाँच्नै नसक्ने स्थितिका प्राणी हुन् ? कोरोना संक्रमणको समयमा पनि कर संकलनदेखि दातृ निकायसँग प्रभावकारी समन्वय गरेको र फेरि पनि त्यस्तै व्यक्ति चाहिने भन्दै प्रधानमन्त्रीले खतिवडालाई २० गतेअघि नै राष्ट्रियसभा सदस्यमा फेरि सिफारिस गर्ने घनघोर तयारी थियो । त्यसो त विष्णु पौडेललाई पार्टी महासचिवबाट फिर्ता गराएर मन्त्री बनाउने कुराले अर्कातिर क्षति पुग्ने खतरा सँगसँगै छ ।
चैतमा महाधिवेशन नगरी नछाड्ने भनिसकेपछि विष्णुलाई महासचिवबाट तान्दा सङ्गठन कसले हेर्ने ? अनि महाधिवेशन हुन्छ नै भनेर कसले पत्याउने ? पूर्वएमाले समूहबाट महासचिवका दुई आकांक्षी र पछिल्लो महाधिवेशनका प्रत्यासी हुन्, ईश्वर पोखरेल र सुरेन्द्र पाण्डे । तर, यी दुबैजना प्रधानमन्त्री अनुकूलका छैनन् । केपीका निम्ति ईश्वर ‘ढोडको लौरो, पुच्छर न हतियार’ भनेजस्ता, उपयोग ग¥यो– उपादेयता सकियो । सुरेन्द्र त घोषित रुपमै फरक धारका भइहाले । त्यसैले पार्टी संगठनको पकड आफूमै राख्ने मूल्यमा विष्णुलाई अर्थमन्त्री बनाउने हिम्मत प्रधानमन्त्रीले किमार्थ गर्नुहुने छैन । केपी ओली भएर सोच्दा सुरेन्द्र पाण्डेमा केही समस्या छन् । झलनाथ खनाल पार्टी अध्यक्ष हुँदा केन्द्रीय कमिटी बैठकमा ओलीका विरुद्ध एउटा १२ बुँदे आरोपपत्र दर्ता भएको थियो । ०२७ सालदेखि ०७७ सालसम्मका राजनीतिक घटनाक्रम सम्झी–सम्झी मानिसबारे मूल्यांकन गर्नुहुने प्रधानमन्त्रीले १० वर्ष पनि नबितेको यो कुरा बिर्सन सक्नुहोला भन्ने अनुमान कसैले पनि गर्न सकेका छैनन् ।
यसकारण केपी ओलीलाई बरु प्रधानमन्त्री छाड्दा बेमज्जा नहोला, तर सुरेन्द्रलाई अर्थमन्त्री बनाउन थोरै पनि रुची छैन । सम्भवतः सुरेन्द्र शहरी बिकासमन्त्री बन्न सक्नुहुन्छ । अनि, अस्ति बिहानसम्मका अन्तिम तर बेलुकादेखि पहिलो विकल्पको रुपमा देखिनुभएका वामदेव गौतमलाई कहाँ लगेर राख्ने ? केपी ओलीको दुःखचाहिँ के हो भने, वामदेवलाई एक ठाउँमा राम्रोसँग सेटल गर्न सकिएन भने बिजुली चम्किएजस्तो कुन दिन अनायासै अर्को आपतमा परिएला भन्ने डर । अस्तिसम्म पनि कि डोल्पाबाट चुनाव लडेर आउने या उस्तै परे महाधिवेशनमा केपी पक्षबाट अध्यक्षको एक्लो दावेदारका रुपमा खडा गर्ने योजना वामदेवलाई सुनाइएको थियो ।
दुई हप्ताअघि गोकुल बाँसकोटाहरुले बालुवाटारमा प्रधानमन्त्रीकै अगाडि भनेका थिए, आजैदेखि लागेर उहाँलाई पार्टी अध्यक्ष बनाइछाडौँ, ‘त्यसपछि प्रधानमन्त्री बन्ने कुरा त पार्टी अध्यक्ष आफैँले सुनिश्चित गरेर जाने हो ।’ तर, अब केपीको डर छ, बिनाकुनै सेटलमेण्ट वामदेवलाई ७–८ महिना खालि राखियो भने समस्या हुन्छ । किनभने, केपीले वामदेवसँग थुप्रै उधारो कुरा गरिसक्नुभयो । अब वामदेव उधारो सहमति पत्याउने स्थितिमा हुनुहुन्न । वामदेवलाई ०७४–०७५ सालतिर राष्ट्रिय पुनःनिर्माणको जिम्मा दिने भनेर केपीले वचन दिनुभएकै हो । पछि त्यो तुहियो, आन्तरिक समीकरण पनि बद्लियो । इतिहास कस्तो रहेछ भने, आजसम्म गृह मन्त्रालय चलाएर कोही पनि अर्थ मन्त्री बनेका छैनन्, न अर्थ मन्त्रीहरु नै गृह गएका छन् । जनआस्थाबाट साभार


