कोरोना अपडेट : हेर्नुहोस आज के – के भयो



हाम्रो इकोनोमि

 

कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गरे ।

गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।

काभ्रेमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

काभ्रेमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ९८ वर्षीय वृद्धको मृत्यु भएको छ ।

धुलिखेल नगरपालिका-७ का ९८ वर्षीय वृद्धको धुलिखेल अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । साउन २७ गते कोरोना पुष्टि भएपछि उनलाई धुलिखेल अस्पतालमा राखेर उपचार गरिएको थियो । कार्यविधिअनुसार नै उनको शव व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने तयारी गरेको उनले जानकारी दिए ।

उनमा कोरोना पोजेटिभ देखिए लगत्तै उनिसँगै बस्ने बुहारी र छोरामा कोरोना पुष्टि भएको थियो । उनिहरु दुवै जना काठमाडौंमा उपचारार्थ रहेका छन् । परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण भइरहेको छ ।

योसँगै काभ्रेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । यस अघि जिल्लामा पाँचखाल नगरपालिका वडा नम्वर १ घर भएकी ५२ वर्षिया महिलाको कोरोनाकै कारण उपचारका क्रममा साउन २६ गते किस्ट अस्पताल काठमाडौंमा निधन भएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जिल्लामा संक्रमति देखिएका ८० मध्ये २ को निधन भएको, ३४ जना उपचारपछि घर फर्किएको र बाँकी उपचारार्थ रहेको बताए ।

सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण

राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड–१९ प्रयोगशालाले जानकारी दिएको छ ।

यसअघि सोही बाहिनीका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि अन्यको परीक्षण गरिएको बाहिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले जानकारी दिए । साठ्ठी जनाको नमूना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए । नौ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ एक जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए । बाहिनीमा ३०० भन्दा बढी सशस्त्र प्रहरी रहेका छन् । यो बाहिनीले वाग्मती प्रदेशको राजधानीका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ ।

दुई दिनअघि पूर्वी चितवनका नगरप्रमुखहरुको बैठकले सो बाहिनी उच्च जोखिममा रहेको भन्दै त्यहीँ आइसोलेसन निर्माण गर्न वाग्मती प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

राप्ती नगरप्रमुख प्रभा बरालले सङ्क्रमण देखिएपछि सशस्त्र प्रहरी सबै बाहिनीभित्रै रहेकाले बाहिर सङ्क्रमण फैलन नपाएको अनुमान गरिएको बताए । सङ्क्रमण देखिएका प्रहरीलाई त्यहीँभित्र आइसोलेसन तयार गरी उपचार गरिने उनले जानकारी दिए । सोमबार राति अबेर कोभिड–१९ प्रयोगशालामा आएको नतिजाअनुसार ५० सङ्क्रमितमध्ये ४६ चितवनका हुन् ।

तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।

तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा. पदम खड्काले जानकारी दिए ।

अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ । शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दुई हजार

नाघ्यो

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण बढदै गएपछि काठमाडौं उपत्यकामा पनि सङ्क्रमित बढेका छन् ।

अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित बढ्न थालेका हुन् ।

उहाँका अनुसार अहिलेसम्म काठमाडौँ जिल्लामा एक हजार ७०५, भक्तपुरमा १४७ र ललितपुरमा २८२ जना रहेका छन् । यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ । यसरी मृत्यु हुनेमा नौ जना काठमाडौँ र एक जना ललितपुरका रहेका छन् ।

यस्तै २४१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । काठमाडौँ जिल्लामा १६२, भक्तपुरमा ३५ र ललितपुरमा ४४ जना निको भएर घर फर्किएका छन् । आज मात्र उपत्यकामा १६८ जना सङ्क्रमित फेला परेका छन् । काठमाडौँमा १३९ जना, ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेका छन् ।

उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन् । काठमाडौँ जिल्लामा एक हजार ५३४, भक्तपुरमा ११२ र ललितपुरमा २३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा २७ हजार २४१ सङ्क्रमित, १७ हजार ४९५ निको भएका, १०७ जना सङ्क्रमणले गर्दा मृत्यु भएका र नौ हजार ६३९ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...