प्रधानन्यायाधीश कसरी बने राणा, चित्रबहादुर केसीको सनसनी खुलासा



हाम्रो इकोनोमि

 

सशस्त्रका पूर्वडिआईजी रञ्जन कोइरालाले पत्नी गीत ढकालको हत्या गरेको अपराधमा सजाय छोट्याएर विवादमा आएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा थप विवरण सार्वजनिक हुने क्रम जारी छन् ।

नेपालको न्यायीक निकायका प्रमुखका विषयमा अत्यधिक विवाद र सतहमा राणाका सन्दर्भमा विविध जानकारी दिने क्रममा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सनसनी खुलासा गरेका छन् ।

सर्वोच्चमा न्यायाधीश बन्नका लागि राणाले नेपाली कांग्रेस र तत्कालिन नेकपा माओवादी तथा एमाले दुवै दलका नेतालाई प्रभावमा पारेको खुलासा गरेका हुन् । सार्वजनिक भएको एउटा भिडिओ बयानका क्रममा केसीले भनेका छन्,‘अन्तिममा आएर त्यसबेलाका माओवादी र एमाले बिकेका थिए ।’

०७१ सालमा न्यायाधीश प्रस्ताव भएपछि संसदीय सुनुवाईका क्रममा राणालगायत केहीलाई ल्याउन हुन्न भनी आफूले अडान कसेको स्मरण गर्दै केसी भन्छन्,‘कांग्रेसको कुरै छाडौं । ३१ दिनसम्म चलेको त्यो सुनुवाई प्रक्रियामा मैले हुन्न भन्दा नेकपा माओवादी र एमालेका नेताले २०–२२ दिनसम्म साथ दिएका थिए । तर पछी लत्तो छाड्न बाध्य भए ।’

व्यक्तिगत रुपमा पनि राणाले न्यायाधीश बन्नका लागि समितिमा सदस्य रहेको आफूलाई प्रभावमा पार्न मान्छे परिचालन गरेको केसीले खुलासा गरेका छन् ।

 

उनले अगाडि थपेका छन्,‘दिपकराज जोशीले फोन गरेर भेटौं भने, चालेन्द्र आफैंले भने फोन गरेनन् । तपाईहरूको सुनुवाई गर्दैछु, किन भेट्छु भनें ।’

राणाले भने आफन्तमार्फत प्रभावमा पार्न खोजेको स्मरण केसीले गरेका छन् । गलकोटे राजाकी छोरी राणाकी भान्जीको उपयोग गरेको उनी बताउँछन् ।

उनी अगाडि भन्छन्,‘विष्णुबम मल्लकी पत्नी चोलेन्द्रको भान्जी पर्ने रहेछ । उनले फोन गरेर मामा चोलेन्द्र शमशेरले भेट्न खोज्नुभएको छ । मामाले औधी भेट्न खोज्नु भाछ भन्नुभयो । मैकहाँ आउने कि म लिन आऊँ भनेर प्रस्ताव गरिन् । म सुनुवाई समितिको मान्छे अहिले भेट्दिन, सुनुवाईपछि भेटौंला भनें ।’

आफ्नो अडानमा साथ दिएका नेताहरूले नै गैरजिम्मेवार भएर लत्तो छाडेको विषयमा पनि आफूले सोधेको उनले खुलासा गरेका छन् । केसी भन्छन्,‘माओवादी र एमालेका नेताले लत्तो छाडे । अग्नी सापकोटा, गिरीराजमणि, टोपबहादुरलाई एकान्तमा सोधें, यस्तो मान्छेलाई छाड्ने हो ?’

टोपबहादुरले जवाफ दिएको स्मरण गर्दै केसी भन्छन्,‘दाईले भनेको ठिक हो तर बालुवाटारमा प्रचण्डले आफ्नो भाग बुझिसके हामी त विरोधमा उत्रिन सक्तैनौं ।’

यति मात्र नभएर विरोधमा साथ दिएका तत्कालिन एमालेका नेताहरू भिम रावल, सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डेलाई पनि आफूले सोध्दा उनीहरू पनि नाजवाफ भएको केसीको भनाई छ ।

‘कांग्रेसले मार्ने भए यहिँ मार्थे विरोध गर्दा तिमीहरूले किन लत्तो छाडेको भनेर सोधें, उनीहरूले के गर्ने दाई नेताहरू मिलिसके भन्ने जवाफ दिए’, केसीले अगाडि भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...