मालपोत कार्यालयमा एकैदिन ३० करोड राजश्व उठ्यो



हाम्रो इकोनोमि

 

 

चावहिलस्थित मालपोत कार्यालयमा पुग्नुभयो भने तपाईंले एकछिनका लागि कोरोना भाइरस बिर्सिनुहुनेछ । सेवाग्राहीको निधारमा थर्मल गन तेस्र्याउने बाहेक यहाँ कुनै पनि सतर्कता अपनाइएको पाइँदैन ।

मालपोत कार्यालयमा पुग्दा मालपोत भवनको अगाडि कानून व्यवसायीको र्फममा सेवाग्राही भरिभराऊ थिए । कार्यालय प्रवेश गर्ने मुख्य द्वारमा पनि भिडभाड थियो । प्रवेशद्वारमा बसेका सुरक्षा गार्डले सेवाग्राहीको निधारमा थर्मल गन तेर्स्याएर तापक्रम नाप्थे । हातमा २ थोपा स्यानिटाइजर चुहाइदिन्थे र भित्र पठाउँथे ।

बाहिर मात्र होइन, भित्र हाकिमको चेम्बरमा समेत मानिसहरु झुरुप्प थिए । त्यहाँ सामाजिक दुरीको कसैलाई मतलव नभएको जस्तो भान हुन्थ्यो । दुरी कायम गर्न सम्भवै थिएन । कार्यालय प्रवेश गर्ने बाटो साँघुरो भएका कारण ठेलमठेल गर्दै भित्र पस्नुपर्ने अवस्था देखिन्थ्यो ।

चावहिल मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कलकबहादुर खड्कालाई भ्याई-नभ्याई थियो । उनको टेवलभरि फाइलहरु थुपि्रएका थिए । हस्ताक्षर गरेर फुर्सदै थिएन । उनलाई हामीले कार्यालयको सेवा प्रवाहबारे थोरै जिज्ञासा राख्न खोज्यौं ।

‘म अहिले बोल्न भ्याउदिनँ,’ कार्यालय प्रमुख खड्काले जवाफ दिए । तर, हामीले केहीबेर पर्खेपछि उनी एकैछिन खाली भए ।

‘मेरोमा पाँचजना अफिसर हुनुहुन्छ, तर आज ममात्रै छु,’ उनले टेवलमा थुप्रिएका फाइलहरु देखाउँदै भने, ‘सबै अफिसरले गर्नुपर्ने काम म एक्लैले गरिरहेको छु ।’
‘अनि अरु अधिकृतहरुचाहिँ किन आउनुभएन त ?’ हामीले जिज्ञासा राख्यौं । उनले लकडाउनमा गाउँ गएकाहरु आउन नसकेको बताए ।

खड्काका अनुसार सेवाग्राहीको भीड दिनदिनै बढ्न थालेको छ । सरकारले बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरेर २ सिफ्टमा सेवा दिने निर्णय गरेको छ । तर, बिहानदेखि बेलुकासम्म उही कर्मचारी खटिइरहेका खड्काले बताए ।

‘बिहान ८ बजे कार्यालय आएका कर्मचारी पनि साँझ ६ बजे घर जान्छन्,’ उनले भने, ‘२ सिफ्टमा चलाउने भए त २ जना हाकिम चाहियो, कर्मचारी पनि दोब्बर चाहियो नि ।’
सेवाग्राहीहरु मध्ये सबैभन्दा धेरै जग्गा रोक्का फुकुवा गर्न आउने गरेका छन् । राजीनामा पास गर्नेहरु पनि आउँछन् ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्ली बजारमा पनि हामी पुग्यौं ।

तुलनात्मक हिसाबले चावहिल मालपोतको भन्दा डिल्लीबजारमा भीड कम थियो । कोभिड-१९ बाट जोगिन यहाँ अलि राम्रै सुरक्षा सतर्कता अपनाइएको पाइयो ।

मुख्य प्रवेशद्वारमा ज्वरो नाप्ने, स्यानिटाइजर लगाउने मात्रै होइन, दूरी कायम गर्न रेखांकन समेत गरिएको रहेछ । प्रवेश गर्ने र निस्कने बाटो पनि छुट्टाछुट्टै बनाइएको थियो ।
डिल्लीबजार कार्यालयका कामु कार्यालय प्रमुख बुद्धिबहादुर कार्कीले लकडाउन यता दिनप्रतिदिन सेवाग्राहीहरुको संख्या बढ्दो क्रममा रहेको बताए ।

चावहिलमा जस्तै यहाँ पनि बिहानदेखि साँझसम्म एकै सिफ्टमा कार्यालय सञ्चालनमा छन् । अधिकृत कार्की बिहान ८ बजे नै आउँछन् । अन्य कर्मचारीहरु प्राय ८ बजे आउँछन् । कोही ढिला गर्छन् । तर, सबैजना कार्यालय समय पूरा भएपछि मात्रै घर र्फकने गरेको कार्कीले बताए ।

‘बिहान त आउछौं, तर बिहानै सेवाग्राही पनि आउनुहुन्न,’ अधिकृत भन्छन्, ‘दुई सिफ्ट नगरे पनि बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म नै सेवा दिन सक्छौं ।’

डिल्लीबजार पुगेका सेवाग्राहीहरु पनि खुसी देखिए । रोक्काको काम आधा घण्टामै सकिएको धेरैले सुनाए । टोकन प्रणाली बनाइएकाले लाइनमा बस्नुपर्दैन । ‘सेवाग्राहीको संख्या बढेको छ, राजश्व संकलन पनि राम्रै भइरहेको छ,’ कामु प्रमुख कार्कीले भने ।

डिल्लीबजारमा पनि धेरै सेवाग्राहीहरु जग्गा रोक्काका लागि नै आउने गरेका छन् । ‘धेरै सेवाग्राहीहरु ऋण लिनका लागि जग्गा रोक्का गर्न आएका हुन्छन्, सँगै बैंकका कर्मचारी पनि हुन्छन्’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...