अर्थमन्त्रीले यसकारण राजीनामा दिनुपर्छ



 

अर्थमन्त्री युवराज खतिवडा यसपटक सम्भवतः उनको करियरमै सबैभन्दा बढी विवादास्पद र आलोचित बने । यसअघि गभर्नर, योजना आयोगको उपाध्यक्ष हुँदा र मन्त्री बनेपछि पनि विवादमा नआएका होइनन् । तर, आफूलाई ब्रम्हाण्डकै उत्कृष्ट विद्धान र अरुलाई अनपढ ठान्ने उनी यसअघिका विवादमा अर्थशास्त्रका प्राविधिक शब्द र तथ्यांकको जोडजाडमा बनाइएका कृत्रिम जवाफबाट उम्किएका थिए । यसपटकको बदमासीलाई बजेटको घाँटीमै समातेर पक्रेपछि उनी हल न चल भएका हुन् ।

‘सियो बनेर पस्ने र फाली भएर निस्कने’ उनको चरित्र हो । प्रधानमन्त्री केपी शर्मा राजनीतिक बन्दीको रूपमा कालकोठरीमा कोचिँदा मेची क्याम्पसमा आई.ए.अध्ययनरत खतिवडा राष्ट्रवादी विद्यार्थी मण्डलको चुनावमा सक्रिय थिए । डेढ दशकअघि राजाको शासनकालमा एमाले नेताहरू नजरबन्दमा छँदा उनी विद्यार्थी मण्डलको परिचयपत्र देखाउँदै योजना आयोगको सदस्यमा नियुक्त भए । त्यसपछि छेपारोले रंग फेरेझैँ उनी झापा आन्दोलनका नेताभन्दा क्रान्तिकारी र योद्धाहुँदै एमाले अर्थशास्त्रीमा रूपान्तरण भएका थिए ।

एमाले र माओवादीको गठबन्धनपछि निर्वाचनमा बहुमतको सम्भावना देखेपछि उनी माधव नेपाललाई चटक्कै छाडेर केपी शर्मा ओलीतिर लहसिएका हुन् । ढिलोचाँडो मन्त्रीको झिनो आशामा बसेकालाई आफ्नै शपथ ग्रहणमा प्रधानमन्त्रीले अर्थ मन्त्रीको शपथ ग्रहण गराउने थाहा पाएपछि खतिवडाको महत्वाकांक्षाले सीमा नाघेको थियो । प्रधानमन्त्रीले एकैपटक राष्ट्रिय सभाको सांसद, एमालेको केन्द्रीय सदस्य र अर्थमन्त्रीको जिम्मेवारी दिएपछि उनले टेकिरहेको भुईं एकाएक छाडिदिए ।

राष्ट्रिय सभाको सांसदको म्याद सकिएपछि परिस्थितिले उनलाई पूर्व उपप्रधानमन्त्री तथा सचिवालय सदस्य वामदेव गौतम भन्दामाथिको बनाइदियो । मन्त्री खुस्केपनि फागुनमा पुनः अर्थ मन्त्रीमा ठाडो नियुक्ती गरेर सञ्चारको समेत जिम्मेवारी दिइयो । दुईवटा मन्त्रालयको जिम्मेवारीसँगै प्रवक्ता बनेपछि वर्षौंदेखि दस नंग्रा खियाएर राजनीति गरेका नेता तथा कार्यकर्ताभन्दा आफूलाई धेरै माथि राख्न थाले । पार्टी र सरकारमा एमसीसीलाई लिएर प्रधानमन्त्रीको चर्को आलोचना हुन थालेपछि ‘बाँदरको पुच्छर, लौरो न हतियार’ को भूमिकामा रहेका खतिवडा पनि सरकारको लागि भरोसा बन्न थाले ।
लकडाउनको प्रारम्भतिर आईपुग्दा उनी बालुवाटारको किचेन क्याबिनेटको ‘शाकाहारी भान्छे’ भइसकेका थिए । कमजोर स्वास्थ्य, कोरोना महामारी र पार्टीभित्रको राजनीतिक खिचातानीका कारण प्रधानमन्त्रीले यसपटक बजेटको सर्वाधिकार उनैलाई दिए । आगामी बजेटसम्म अर्थमन्त्रालयको जिम्मेवारीमा नरहने सुनिश्चिततालाई आत्मसाथ गरिसकेका खतिवडाले नयाँ बजेटलाई सुवर्ण अवसर बनाउने योजना बुने । आफ्ना पूराना दोस्त व्यवसायीहरू अनुकूलको बजेट ल्याउन सहयोगीको रूपमा राष्ट्र बैंकबाट आफ्नै छोरीज्वाईं रामशरण खरेललाई सेटिङ्गमा प्रयोग गरे ।

व्यापारी उकास्ने तर सरकार र पार्टीलाई सिध्याउने योजनाअनुसार उनले बजेटमा कृषि मन्त्रीले प्रधानमन्त्रीसँगको सल्लाह पश्चात् पठाएका कतिपय कार्यक्रममा कैंची चलाए । पश्चिमा पुँजीवादी शैलीको सामुदायिक विद्यालय र सरकारी शिक्षाको लागि शिक्षा मन्त्रीलाई नै अप्ठेरो पार्नेगरी विवादास्पद कार्यक्रम घुसारिदिए । पार्टीको घोषणपत्र विपरित हुनेगरी विद्युतीय सवारी साधनको आयातमा कर थोपरिदिए । व्यवसायीको हित हुनेगरी बजेटअघि नै मगाइएका गाडीमा अरबौं राजश्व गुमाउन ज्वाईं मार्फत् सूचना चुहाइदिए । सरकारको प्राथमिकतामा नै नरहेको चकलेटमा राजश्वको दर घटाइदिए ।

गत आर्थिक वर्षमा तीन सय ६१ वटा विद्युतीय सवारी साधन भित्रिएको थियो । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म पाँच सय ७४ वटा आयात गरिएको छ । जेठ महिनामा बजेटअघि ९३ वटा र बैशाखमा ४५ वटा देखिन्छ । मंसीरमा सबैभन्दा धेरै एक सय १२ वटा र पुसमा ९५ वटा आयात गरिनुले विद्युतीय गाडीमा करको दर फेरबदलको गृहकार्य मन्त्री, ज्वाईं र अशोक अग्रवालबीच हिउँदमै भएको बुझिन्छ ।

जेठ १५ गतेसम्म विद्युतीय गाडीमा कुल कर २९.५ प्रतिशत थियो । बजेटपछि एक सय २० देखि बढीमा एक सय ८० प्रतिशत पुगेको छ । यो व्यवस्थालाई हेर्दा बैशाख र बजेटअघि रातारात छुटाइएका महँगा दुई सय ४० वटा गाडीबाट सोझै दुई अर्ब रूपैयाँ भन्दाबढीको राजश्व गुमेको छ ।

औसत ६० लाख रूपैयाँका एमजी, किया, कोना र बीवाईडी ब्राण्डका गाडीमा पूर्ववत्बमोजिम प्रतिगाडी १७ लाख ७० हजार रूपैयाँ भन्सार तिरे पुग्थ्यो । जसअनुसार सबै गाडीबाट ४२ करोड ४८ लाख रूपैयाँ राजश्व जम्मा भयो । तर, बजेट भाषणपछि छुटाउँदा प्रतिगाडी थप ९० लाख ३० हजार रूपैयाँ भन्सार हुन आउँथ्यो । त्यसबाट थप तिर्नुपर्ने कुल राजश्व २ अर्ब १७ करोड हुन आउँथ्यो जुन रकम अर्थ मन्त्रीले आफू, ज्वाईं र व्यवसायीको भागशान्तीमा सदुपयोग गरे ।

उता, राज्यले आवश्यक नठानेको चकलेटमा १० प्रतिशत भन्सार घटाइदिए । चुरोट र रक्सीमा यथावत राखिदिए । एमालेलाई उग्र समर्थन गर्दै भोट हालेका वृद्धवृद्धालाई पहिलो बजेटमा रुवाएर सुको नबढाएका खतिवडालाई यतिखेर राज्यकोषमा अर्बौं क्षति पुर्याउन केले प्रेरित गर्यो ? तसर्थ, अर्थमन्त्रीले पछिल्लो तीनवटा बजेटमा गरेका नीतिगत भ्रष्टाचारको पूर्ण छानबीन गर्नु नेकपा र सरकारकै हितमा देखिन्छ ।

प्रधानमन्त्रीको अन्धसमर्थन र पार्टिभित्रको अस्थिरताको मौकालाई अमेरिका र भारतीय संस्थापन पक्षले नेकपा र सरकारलाई एकैचोटी कमजोर बनाउन अर्थमन्त्रीलाई प्रयोग गरे । समाजवादको नाममा पुँजीवादी बजेट बनाइदिएपछि आगामी निर्वाचनमा नेकपा स्वतः बढारिने उनीहरूको रोडम्यापलाई खतिवडाले किन शिरोधार्य गरे होलान् ?
किनकी, उनको महत्वाकांक्षा अब प्रधानमन्त्री वा मन्त्रीपरिषद्को अध्यक्षमा अड्केको छ । अहिलेको प्रणालीमा उनी प्रधानमन्त्री हुनसक्ने सम्भावना कतैबाट पनि देखिँदैन । राजनीतिक उथलपथल भएमा भारत, अमेरिका र राजावादीको आडमा नयाँ तुलसी गिरी वा खिलराज रेग्मी बन्न आफू योग्य भएको उनको ठम्याई छ । त्यसका लागि पनि थैली गह्रौं बनाएर बस्नु उनको बाध्यता हुनसक्छ ।

अर्थमन्त्रालयबाट बाहिरनुपरेमा अमेरिकाको लागि नेपाली राजदूतको आशा पनि उनले मारिसकेका छैनन् । राजनीतिक क्षितिजमा नयाँ गिरी वा रेग्मीको संकेत नदेखिएमा उनी अमेरिका, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र राष्ट्र संघीय विकास कार्यक्रमको विगतको लिगेसी र एमसीसीलाई प्रयोग गरेर भएपनि विश्व बैंक छिर्ने वैकल्पिक दाउमा छन् । बैंकमा रहेका धेरैवटा भाइस प्रेसिडेन्टको पदमा उनले राम्रैसँग आँखा गाडेको बुझिन्छ । उक्त अवसर जुरेमा विश्व बैंकमा बसेर नेपाल सरकारमाथि नै हैकम चलाउन सकिने अर्को नसोचेको मौका पनि खतिवडालाई प्राप्त हुनेछ ।

अशोकशरण अधिकारी

प्रतिक्रिया दिनुहोस
अस्थायी, ज्यालादारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याउँछौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा

सर्वोच्च अदालतको बोर्डमा कालो छ्याप्ने विनु यादव पक्राउ

    श्रीमानबाट घरेलु हिंसामा परेको दाबी गर्दै आएकी विनु यादवले आज सर्वोच्चको

आजपनि तोलामा २ हजार ६ सय घट्यो सुन

    अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ घटेको सुन मंगलबार

रिहा भए पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

    कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी प्रहरी हिरासतबाट रिहा