प्रचण्ड र पौडेल मिल्दा माधवकुमार नेपाल एक्लै
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा छलफलका लागि लैजाने प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले पाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलपछि कार्यकारी अध्यक्ष र महासचिवले प्रस्ताव तयार पार्ने भएका हुन् ।
अब अध्यक्ष र महासचिवले शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पार्ने छन् ।
बालुवाटार स्रोतका अनुसार दुई अध्यक्षबीच आज भएको छलफलमा गत मंसिरमा सहमतिकै आधारमा व्यवहारिक कार्यान्वयनको मोडालिटीसमेत तयार भएको छ ।
गत मंसिर ४ गतेको निर्णयमा प्रधानमन्त्री केपी ओलीले पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने र अध्यक्ष प्रचण्डले कार्यकारी अध्यक्षको हैसियतमा पार्टी काम सञ्चालन गर्ने भनिएको थियो ।
उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा निर्णनायक शक्ति मानिएका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले फेरी एकलिनु परेको अनुभव गरेको छ ।
शनिबारको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलको साथ पाउँदा नेपाल खेमा सशंकित बनेका हुन् ।
शनिबारको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ठूलै दवाव पर्न सक्ने आकलन गरिएको थियो । तर, विवाद एकाएक साम्य भयो ।
कारण थियो गत बुधबार बसेको नेकपा सचिवालय बैठक । बैठकसम्म सचिवालयका बहुमत सदस्य प्रधानमन्त्री ओलीको विपक्षमा थिए ।
राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि विवादमा परेका ओलीसँग प्रधानमन्त्री र पार्टी अध्यक्षबाटै राजीनामा माग्ने तयारी विरोधी खेमाले गरिरहेका कारण परिस्थिति असहज हुने अनुमान गरिएको थियो ।
तर, शनिबारको सचिवालय बैठकमा यस्तो केही भएन । बरू सचिवालय बैठकले नाटकीय मोड लियो र दुई अध्यक्षबीचको संघर्षमा निर्णायक ठानिएका वरिष्ठ नेता माधव नेपाल नै किनारामा परे ।
दाहाल, नेपाल मिल्दा सचिवालय, स्थायी र केन्द्रीय समितिमा समेत रक्षात्मक अवस्थामा पुगेको ओली खेमाले अर्का अध्यक्ष दाहाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडलको साथ पाउँदा फेरि शक्तिशाली बन्ने अवसर पायो ।
आफूलाई उपेक्षा गरि प्रचण्डले ओलीसँग गोप्य लेनदेन गरेका त होइनन् भनेर नेपाल खेमा सशंकित बनेको छ ।
सचिवालय बैठकको भोलिपल्ट बिहानै खुमलटार पुगेर नेपालले प्रचण्डसँग यथार्थ जानकारी दिन भनेका थिए । यद्यपि प्रचण्डले त्यस्तो गोप्य सम्झौता नभएको, गौतमले धोका दिएका कारण अहिले विवाद गर्नुको अर्थ नरहेकाले अब स्थायी समितिमा नयाँ रणनीतिका साथ लाग्नुपर्ने बताएका थिए ।
यही कुरा नेपालले आफूनिकट स्थायी र केन्द्रीय समिति सदस्यलाई बोलाएर जानकारी गराएका छन् । ओली र प्रचण्डले आफ्नो खेमा कमजोर हुँदा नेपाललाई महत्व दिने र संगठनमा शक्तिशाली भएका बेला एक्लाउने रणनीति लिएको देखिन्छ ।
ओलीले तत्काल प्रचण्डसहितका नेताको साथ लिएर विवाद मत्थर पारे पनि ढिलोचाँडो हिजोसम्मको असन्तुष्ट समूह एक ठाउँ उभिन सक्नेछ । अहिले पनि एक व्यक्ति एक पदको माग स्थायी समितिमा दरोसँग राख्न र ओलीलाई थप गलाउन एक ठाउँमा उभिने कसरतमा प्रचण्ड, नेपाल र खनाल रहेका छन् । त्यसैले असन्तुष्ट खेमाले उठाएका जयाज सवालको सम्बोधन नगरेसम्म विवादको स्थायी समाधान नहुने विश्लेषक बताउँछन् ।
प्रधानमन्त्री ओलीले आत्मालोचना गर्दै सहमतिमा सरकार र पार्टी चलाउने भनेपछि नेकपाको विवाद तत्कालका लागि साम्य भएको छ । तर, एक दिन अघिसम्म प्रधानमन्त्रीको राजीनामा माग्न सहमत भएका प्रचण्ड, गौतमलाई समेत उछिनेर एकाएक ओलीप्रति नरम देखिँदा दाहालले आफ्नो मोलमोलाइ शक्ति बढाउन मात्र प्रयोग गरेका त होइनन् भन्ने नेपाल खेमाको आशंकामा बल पुगेको छ ।


