लकडाउन जेठ १० सम्म बढाउने सरकारकाे तयारी
कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले फेरि १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ।
मन्त्रिपरिषदको आइतबारको बैठकमा पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै हुँदा लकडाउन थप १५ दिन बढाउनु पर्ने विषयमा छलफल भएको थियो।
भारतले लकडाउनलाई निरन्तरता दिइरहेका बेला खुला सीमा भएको नेपालमा लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० सम्म बढाउने सहमति भएको स्रोतले जनाएको छ।
केही मन्त्रीले कोरोना प्रभावित क्षेत्र वर्गीकरण गरी सोही आधारमा लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका खबर आजको नागरिक दैनिकले छापेको छ।
नेपालगञ्जमा संक्रमितको संख्या अचानक बढेपछि सरकार थप सतर्क अवस्थामा पुगेको छ। नेपालमा आइतबारसम्म ७५ जना संक्रमित भएका छन्। जसमा १६ जना उपचारपछि घर फर्किएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन नेपालगन्जमा १५ र वीरगन्जमा एक नयाँ संक्रमित देखिएको बताए ।
शुक्रबार नेपालगन्ज उपमहानगरपालिका– ६ का ६० वर्षीय व्यक्तिमा संक्रमण देखिएको थियो । त्यसपछि शनिबार उनको परिवारका सदस्य, छिमेकी, उनी काम गर्ने मस्जिद र मदरसा, ट्युसन पढाएका बालबालिकासहित उनी र उनको परिवारका सदस्यसँग सम्पर्क भएका ९० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । रिपोर्ट आएका ६० जनामध्ये १५ मा संक्रमण रहेको पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट शनिबारसम्म ७३ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने पाँच हजारभन्दा धेरै संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिको तथ्यांकअनुसार बेलायतमा मात्रै ४९ जनाको मृत्यु भएको छ ।
बेलायतको ग्रेटर लन्डनमा २७, मिडल्यान्डमा आठ, साउथ–इस्टमा ११, साउथ–वेस्टमा तीन गरी ४९ जनाको मृत्यु भएको एनआरएनएले जनाएको छ । अमेरिकाको मध्यन्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक गरी १५ जनाको मृत्यु भएको छ ।