प्रचण्ड-माधव एकै ठाउँ, बामदेव एक्लै
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगे । फर्किएपछि कोटेश्वरस्थित निवासमा केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको अनौपचारिक भेलामा उनी सहभागी भए ।
स्थायी र केन्द्रीय कमिटीका आफू निकट करिब ४० नेता सहभागी भएको अनौपचारिक भेलामा अधिकांशको साझा चासो थियो, शनिबारको सचिवालय बैठकमा प्रचण्डले ओलीसँग चोचोमोचो मिलाएकै हुन् ? के अब प्रचण्डसँग दूरी बढेको हो ?
नेताहरुका जिज्ञासा सुनिसकेपछि बरिष्ठ नेता नेपालले नआत्तिन आग्रह गरे । प्रचण्ड र आफ्नो वीचमा दुरी नबढेको बताए ।
पहिले पनि अध्यक्ष ओलीले सरकार चलाउने र कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको काममा ध्यान दिने निर्णय भइसकेको हुनाले दुई नेतावीच त्यस्तो छलफल हुनु नौलो नभएको नेता नेपालले भेलामा बताए । तर, अब विधि र पद्दतिअनुसार पार्टी अगाडि बढ्छ कि बढ्दैन, व्यवहारमा हेर्नुपर्ने नेता नेपालको भनाइ थियो ।
भेलामा सहभागी नेताहरुले नेपाललाई तेस्रो बरियताको अध्यक्ष पद अस्वीकार गरेर उच्च नैतिकता देखाएको भन्दै धन्यवादसमेत दिए । पार्टीभित्र केही नेताहरुको उतार-चढाव देखेर आफूलाई आश्चर्य लागेको नेता नेपालले सुनाए ।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट तत्काल हटाउनुपर्छ भन्नेहरु नै रातारात अर्को कित्तामा उभिएर ओलीको बचाउमा लागेको देख्दा अचम्म लाग्ने गरेको भन्दै नेता नेपालले वामदेव गौतमप्रति कटाक्ष गरे ।
आफूले प्रधानमन्त्री ओलीको राजीनामा मागेको नभई पार्टीको सबै तहमा ‘एक व्यक्ति एक पद’ को अडान राख्दै आएको र त्यो अडान अहिलेसम्म कायमै रहेको नेपालले बताएको एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।
खुमलटारबाट फर्किएका नेता नेपालले प्रचण्डसँग आफ्नो दूरी नबढेको स्पष्ट पार्दै यसमा आश्वस्त हुन र नआत्तिन आग्रह गरेको स्रोतले अनलाइनखबरलाई बतायो । छलफलमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘नेता नेपालले बाहिर आए जस्तो केही होइन, सबै ठीक छ भन्नु भएको छ ।’
अहिले पनि सचिवालयमा रहेका चार नेता -प्रचण्ड, नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ एकठाउँमा रहेको भन्दै उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अप्ठ्यारो हल नभइसकेको बताए । उनले भने, ‘सचिवालय बैठक बोलाइएको छ, त्यहाँ हामी आफ्नो कुरा प्रष्टसँग राख्छौं ।’
यद्यपि कोटेश्वर भेलामा सहभगी माधव नेपाल पक्षका केही नेताहरुले भने अध्यक्ष प्रचण्ड अब केपी ओलीतिरै मिल्न गएका हुन् कि भन्ने आशंका प्रकट गरेका थिए ।
४० मिनेटको त्यो कानेखुशी
माधव नेपाल पक्षलाई प्रचण्डमाथि शंका बढाउने विषय थियो- शनिबार सचिवालयको बैठक बस्नुअघि ओली र प्रचण्डवीच भएको करिब ४० मीनेटको कानेखुशी । दुई नेतावीचको त्यो गोप्य भेटमा के भएको थियो भन्ने माधव नेपालले प्रचण्डसँग सोध्न नपाउँदै सचिवालय बैठक सुरु भएको थियो ।
आइतबार खुमलटारमा भएको भेटमा नेपालले प्रचण्डलाई सोधे, त्यो भेटमा के के भयो ?
सूत्रहरुका अनुसार दुई अध्यक्षवीचको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिन्छु, कार्यकारी अधिकारको परिभाषासहित भूमिका दिन्छु भनेका थिए । सबै काम परिभाषित गरेर गरौं, मलाई प्रधानमन्त्री राम्रोसँग चलाउन दिनोस् भनेर ओलीले प्रचण्डलाई ‘कन्भिन्स’ गरेका थिए ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आपसी सल्लाहमा पार्टी चलाउने र माधव कमरेडलाई पनि साथमै लिएर अगाडि बढ्ने बताएको प्रचण्डले नेपाललाई सुनाए ।
बलुवाटारको ओली-प्रचण्ड भेटपछि प्रचण्डमाथि केही आशंका उब्जिएको भए पनि आइतबार खुमलटारमा भएको भेटपछि प्रचण्ड-माधव दुबै नेताहरुवीच समझदारी र विश्वास बढेको माधव नेपाल पक्षका नेताहरुको दाबी छ ।
बामदेव टाढिए
प्रचण्ड-माधव समूहबाट उपाध्यक्ष वामदेव गौतम भने टाढिएका छन् । गौतमलाई विश्वास गर्न नसकिने निश्कर्षमा प्रचण्ड र माधव नेपाल दुबै नेताहरु पुगेका छन् ।

गौतमले यताका कुरा केपी ओलीलाई सुनाउने र उताका कुरा यता लगाउने दोहोरो भूमिका खेलेको नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए । उनले भने, ‘अब बामदेवलई कसैले विश्वास गर्दैन ।’
पछिल्लो समय प्रचण्ड-माधव समूहमा लागेर आफूलाई भावी प्रधानमन्त्रीका रुपमा राष्ट्रियसभामा सिफारिस गराउन सफल बनेका नेता गौतमलाई महासचिव विष्णु पौडेलले ओलीको खेमामा फर्काएको नेपाल पक्षका नेताहरुको निश्कर्ष छ ।
स्रोतले भन्यो, ‘तत्कालीन एमालेमा झलनाथ खनालको साथ छाडेर ओली पक्षमा लैजाने पनि विष्णु पौडेल नै हुन्, अहिले पनि उनैले गौतमलाई ओलीसँग नजिक बनाउन सफल भए । सचिवलायमा बहुमत पुर्याएर प्रधानमन्त्रीमाथिको संकट उनले टारिदिए ।’
महासचिव पौडेलले अब पाँच वर्ष केपी ओली नै प्रधानमन्त्री बन्ने सार्वजनिकरुपमै बताइसकेका छन् । यो अवस्थामा वामदेवको प्रधानमन्त्री बन्ने धोको पूरा नहुने नेपाल पक्षको दाबी छ । एक नेताले दाबाका साथ भने भने, ‘हेर्नुहोला, उहाँ प्रतिनिधिसभाको सदस्य बन्नुहुन्न, राष्ट्रियसभामा पनि जानुहुन्न । हदै भए श्रीमतीलाई मन्त्रीसम्म बनाइदेलान् ।’
बामदेवको भूमिकाप्रति आक्रोश पोख्दै नेपाल पक्षका नेताले थपे, ‘वामदेव गौतमले माधव नेपालसँग प्रचण्डलाई फुटाउनका निम्ति झोसपोल गरे । अन्ततः उनी केपी ओलीतर्फबाट पनि भकुण्डो बने, यताको पनि विश्वास गुमाए ।’


