देशभर कोरोना संक्रमितको संख्या ७५ पुग्यो विदेशमा ७३ नेपालीको मृत्यु



हाम्रो इकोनोमि

 

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार एकैदिन नेपालगन्जमा १५ र वीरगन्जमा एक नयाँ संक्रमित देखिएको बताए ।

शुक्रबार नेपालगन्ज उपमहानगरपालिका– ६ का ६० वर्षीय व्यक्तिमा संक्रमण देखिएको थियो । त्यसपछि शनिबार उनको परिवारका सदस्य, छिमेकी, उनी काम गर्ने मस्जिद र मदरसा, ट्युसन पढाएका बालबालिकासहित उनी र उनको परिवारका सदस्यसँग सम्पर्क भएका ९० जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । रिपोर्ट आएका ६० जनामध्ये १५ मा संक्रमण रहेको पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन नरेशबाबु श्रेष्ठले स्वाब संकलन गरिएका ३० जनाको रिपोर्ट आउन अझै बाँकी रहेको बताए । ‘आइतबार सार्वजनिक रिपोर्टले संक्रमितको संख्या अझ बढ्ने संकेत गरेको छ, किनभने डेन्जर जोनका व्यक्तिको रिपोर्ट आउनै बाँकी छ,’ उनले भने ।

संक्रमण देखिएकामध्ये आठ पुरुष र सात महिला छन् । जसमा सात वर्षकी बालिकादेखि ६२ वर्षका वृद्धसम्म रहेको श्रेष्ठले बताए । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार संकलित स्वाब दैनिक ३०–३० का दरले परीक्षण भइरहेको छ । एकपटक पोजेटिभ रिपोर्ट आएपछि तीनपटकसम्म परीक्षण भइरहेको उनले बताए । ‘एकपटक पोजेटिभ आउँदैमा कोरोना संक्रमण भएको हो भन्न नसकिने भएकाले कम्तीमा तीनपटकसम्म परीक्षण गरेपछि मात्र प्रमाणित गरिन्छ,’ उनले भने ।

देशभर संक्रमण देखिएका ७५ जनामध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् । ५९ संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । उनीहरूको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोसी अस्पताल विराटनगरमा ३१, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेमा १६, नारायणी अस्पताल वीरगन्जमा नौ तथा भरतपुर अस्पताल चितवन, बुटवल कोरोना अस्पताल र सेती अस्पताल धनगढीमा एक–एकजनाको उपचार भइरहेको छ ।

अहिलेसम्म ६३ हजार एक सय दुईजनाको नमुना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १३ हजार चार सय १४ जनाको पिसिआर र ४९ हजार ६ सय ८८ जनाको आरडिटी विधिबाट परीक्षण भएको हो । मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार प्रदेश १ मा पाँच हजार चार सय ९९, प्रदेश २ मा पाँच हजार सात सय नौ, बागमतीमा आठ हजार पाँच सय १५, गण्डकीमा पाँच हजार आठ सय ३४, प्रदेश ५ मा चार हजार चार सय ९२, कर्णालीमा पाँच हजार पाँच सय ६७ र सुदूरपश्चिममा १५ हजार ७२ नमुना आरडिटी विधिबाट परीक्षण भएको छ ।

विदेशमा ७३ नेपालीको कोरोनाबाट मृत्यु, पाँच हजारभन्दा बढी संक्रमित

कोरोना संक्रमणबाट शनिबारसम्म ७३ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ भने पाँच हजारभन्दा धेरै संक्रमित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिको तथ्यांकअनुसार बेलायतमा मात्रै ४९ जनाको मृत्यु भएको छ ।

बेलायतको ग्रेटर लन्डनमा २७, मिडल्यान्डमा आठ, साउथ–­इस्टमा ११, साउथ–वेस्टमा तीन गरी ४९ जनाको मृत्यु भएको एनआरएनएले जनाएको छ । अमेरिकाको मध्यन्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक गरी १५ जनाको मृत्यु भएको छ । त्यस्तै, संयुक्त अरब इमिरेट्स (युएई)मा पाँच र आयरल्यान्ड, जापान, टर्की र नेदरल्यान्डमा एक–एकजनाको ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

सापकोटाका अनुसार विश्वभर पाँच हजार दुई सय ४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । उनीहरूमध्ये एक हजार पाँच सय ७० जना निको भइसकेका छन् । कतारसहित मध्यपूर्वका केही देशले दुई हजार तीन सय नेपाली श्रमिकमा संक्रमण देखिएको तथ्यांक सार्वजनिक गरेका छन् ।

एनआरएनएले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरूको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको छ । कोरोना प्रभावित विभिन्न देशका ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको महासचिव डा. हेमराज शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...