सचिवालयमा ओली समुहको बहुमत, प्रचण्ड – माधव गुट संकटमा
प्रधानमन्त्री ओलीले शनिबारको बैठकमा जुनसुकै प्रक्रियाबाट भए पनि बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याइहाले भने यसबाट प्रचण्ड-माधव समूहलाई पनि अप्ठ्यारो पर्नेछ ।
संविधान संशोधन गरेर बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा यसअघि नै प्रचण्ड-माधव समूहका नेताहरुले समर्थन जनाइसकेका छन् । तर, व्यापक विरोध भएपछि प्रचण्ड समूहका नेताहरु यो विषयमा पछि हटेको अवस्था छ ।
अब शनिबारको बैठकमा यही प्रस्ताव प्रधानमन्त्रीले ल्याए भने प्रचण्ड-माधव समूहले विरोध गर्न सक्ने अवस्था छैन । प्रधानमन्त्रीको प्रस्तावको विरोध गर्दा बामदेव गौतमले चित्त दुखाउने डर प्रचण्ड माधव समूहलाई छ । तर, त्यसलाई समर्थन गर्दा असंवैधानिक निर्णयमा सही गरेको प्रचण्ड-माधवमाथि पनि लाग्ने निश्चित छ । यो अवस्थामा उनीहरुले या त आफ्नो राजनीतिक साख गुमाउनुपर्ने हुन्छ, या त वामदेवको साथ ।
किनभने, ९ सदस्यीय सचिवालयमा बामदेव गौतम बिच्किएर केपी ओलीतिर लागे भने ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, वादल र वामदेव समेत गरी ओली पक्ष बहुमतमा पुग्ते छ । बाँकी चार जना प्रचण्ड, माधव, झलनाथ र नारायणकाजी अल्पमतमा पर्ने छन् ।
संविधान संशोधन गरी उपचुनाव गरेर वामदेवलाई प्रधानमनत्री बनाउने प्रस्ताव आयो भने के हुन्छ ?
यो प्रस्तावमा प्रचण्ड-माधव समूहले सहमति जनाएमा असार-साउनयता चुनावको गुञ्जायस हुने छैन, त्यसका लागि आगामी छठ पछिसम्म कुर्नुपर्ने हुन्छ । त्यसबेलासम्म प्रधानमन्त्री केपी ओलीको सरकारलाई नै प्रचण्ड-माधव नेपालले सघाउनुपर्ने छ । र, यसबाट ओली सरकारमाथिको आन्तरिक संकट करिब ६ महिनासम्म सहजै टरेर जाने छ ।
त्यसपछि हुने चुनावमा बामदेव गौतमले जितिहाल्ने सम्भावना रहँदैन । वामदेवले चुनाव जितेको भन्दा नजितेकै फाइदा हुने भएकाले उनलाई ओली पक्षले पनि भित्रैदेखि साथ दिने अवस्था हुँदैन । अर्को पक्षले पनि भित्रैदेखि साथ दिँदैन । मतदाताहरुले पनि राजनीतिक अस्थिरतालाई बढाउनका लागि हुने उपचुनावमा नेकपालाई साथ दिने अवस्था हुँदैन । र, त्यो चुनाव नेकपाविरुद्धको ‘जनमत संग्रह’मा परिणत भइदिन सक्छ ।
के अब प्रचण्ड, झलनाथ खनाल र माधव नेपाललगायतका शीर्ष नेताहरुले शनिबारको बैठकमा त्यस्तो आत्मघाती उपचुनावको निर्णयमा हस्ताक्षर गर्लान् ? गरे भने प्रधानमन्त्रीजस्तै उनीहरु सबै आलोचनाको पात्र बन्ने छन् ।
यसअघि नै बामदेव गौतमका लागि संविधान संशोधन गर्न तयार देखिएर प्रचण्ड- माधव समूह पनि जनतामाझ चर्को आलोचनाको शिकार बनिसकेका छन् । आफ्नो गुटको बहुमत देखाउन यो समूह पनि जायज/नाजायज जुनसुकै निर्णय गर्न तयार छ भन्ने विगतको घटनाक्रमले देखाइसकेको छ । त्यसैले, जुनसुकै विधिबाट भए पनि बामदेवलाई प्रधानमन्त्री बनाउने निर्णय आगामी शनिबारको बैठकले सर्वसम्मत रुपमै गर्यो भने पनि त्यसमा अचम्म नमान्दा हुन्छ ।
दाहाल-नेपाल फोन वार्ता
दाहाल र नेपालबीच प्रधानमन्त्रीको प्रस्तावबारे टेलिफोन संवाद भएको छ। त्यस क्रममा नेपालले ओलीको प्रस्ताव आफूले नमान्ने बताएका थिए। दाहालले पनि प्रस्ताव मानेर जान असम्भव रहेको जानकारी दिएर गठबन्धन थप बलियो भएको निकट नेताले बताए। दाहालले बिहीबार आफ्नो निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनालसँग पनि छलफल गरे। ‘उक्त प्रस्ताव स्वीकार्य हुँदैन, पहिले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। त्यसपछि अबको प्रधानमन्त्रीका विषयमा के गर्ने भनेर पार्टीभित्र छलफल गर्नुपर्छ। राजीनामा नदिने उट्याङपट्याङ प्रस्तावहरू अगाडी सार्ने कुरा उपयुक्त हुँदैन’, नेपालनिकट नेताले भने।


