अहिलेकै अवस्थामा बामदेव गौतम प्रधानमन्त्री बन्न नसक्ने संविधानविद्को ठोकुवा



हाम्रो इकोनोमि

 

अन्तरविरोधका बीच बालुवाटारमा बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा सार्वजनिक भएको छ ।

सचिवालय सदस्यहरूले आफ्नो राजीनामा मागेपछि प्रधानमन्त्रीले गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने धारणा राखेका हुन्। संविधानतः भने प्रधानमन्त्रीको प्रस्ताव र गौतम प्रधानमन्त्री बन्ने कुरा दुवै गलत भएको संविधानविद्हरू बताउँछन् ।

संविधानविद्हरू डा. विपिन अधिकारी, डा. भीमार्जुन आचार्य र चन्द्रकान्त ज्ञवाली विद्यमान कानूनी व्यवस्थाअनुसार वामदेव गौतम प्रधानमन्त्री बन्न असम्भव रहेको बताउँछन् ।

 

डा. विपिन अधिकारी, संविधानविद्

संविधानले प्रतिनिधसभालाई प्रधानमन्त्री बन्ने बनाउने ‘प्रिभेलेज’ दिएको छ । प्रतिनिसभामा नभएका व्यक्ति प्रधानमन्त्री बन्ने कल्पना पनि गरिएको छैन ।

राष्ट्रियसभामा लगेर पनि प्रधानमन्त्री बनाउने कुरा पनि सुनिन्छ । तर, यो पनि राम्रो कुरा होइन । उहाँलाई निर्वाचनमा जनताले अस्वीकृत गरेको हो । त्यो निर्वाचनको चक्र सकिएको छैन ।

राष्ट्रिय सभामा लगेर मात्रै पनि पुग्दैन । संविधान नै संशोधन गर्नुपर्छ । न यो अहिलेको प्राथमिकता हो, न त यस्तो प्रचलन नै छ । बरु उहाँ (वामदेव) ले अर्को निर्वाचनका लागि तयारी गर्दा राम्रो हुन्छ । चुनावै जितेर आउनुभयो भने त कसैले विरोध पनि गर्दैन ।

चुनाव हारे पनि तिकडम गरेर प्रधामन्त्री बन्छु भन्नु राम्रो होइन । संविधान संशोधनै गर्ने हो भने त मधेसी, आदिवासी जनजाति, दलितका मुद्दा छन् । ती समुदायका कुरालाई वेवास्ता गर्ने, तर एउटा व्यक्तिका लागि संविधान संशोधन गर्ने भन्ने हुनै सक्दैन ।

संविधान संशोधन गर्ने नै हो भने पनि त्यसका लागि टास्क फोर्स बनाउनु पर्ला, पर्याप्त छलफल हुनुपर्छ ।

प्रधानमन्त्रीले यस्तो विषय प्रस्ताव नै गर्नुहुँदैनथ्यो भन्ने लाग्छ । अस्थिरता निम्त्याउने प्रस्तावमा जानु सही होइन ।

डा.भीमार्जुन आचार्य, संविधानविद्

संवैधानिकरुपमा आजको दिनसम्म बामदेव गौतम प्रधानमन्त्री बन्ने भन्ने कुरा सम्भव छैन । भोलि चमत्कारै भयो भने के हुन्छ भन्न सकिँदैन ।

विद्यमान कानुनअनुसार प्रधानमन्त्री बन्नका लागि सांसद हुनैपर्छ । राष्ट्रिय सभाको सांसद बने पनि प्रधानमन्त्री बन्न सम्भव देखिँदैन ।

प्रतिनिधि सभा सदस्य हुने हो भने प्रधानमन्त्री बन्न नपाउने होइन । तर, उहाँ समानुपातिकबाट प्रतिनिधिसभामा जाने अवस्था छैन । किनभने उहाँको समानुपातीकको सूचीमा नाम गएकै छैन ।

राजनीतिक निकास निकाल्दा पनि संविधानसम्मत् त हुनुपर्छ । संविधानमा नभएको कुरा प्रधानमन्त्रीले पनि बोल्न मिल्दैन ।

यदि संविधानमै नभएको कुरा बोल्नुभएको छ भने त्यो कार्यान्वयन गर्नका लागि होइन । मेरो विचारमा यो एउटा प्रोपोगाण्डा हो । विषयान्तर गर्नका लागि मात्रै यस्तो प्रस्ताव आएको होला भन्ने लाग्छ ।

डा. चन्द्रकान्त ज्ञवाली, संविधानविद्

को प्रधानमन्त्री बन्ने भन्ने कुरामा छलफल गर्नुअघि त प्रधानमन्त्री पद रिक्त हुनुपर्ला नि । प्रधानमन्त्रीज्यूले राजीनामा दिएको छैन, फौजदारी अभियोग लागेको छैन, अविश्वासको प्रस्ताव पनि दर्ता भएको छैन ।

जहाँसम्म वामदेव गौतमको कुरा छ, विद्यमान कानूनअनुसार उहाँ प्रधानमन्त्री बन्न सक्नुहुन्न । किनभने, प्रधानमन्त्री बन्नका लागि संसदीय दलको नेता हुनुपर्‍यो । संसदीय दलको नेता बन्न सांसद हुनुपर्‍यो । सांसद हुन चुनाव जित्नुपर्‍यो । समानुपातिकबाट सांसद बन्न बन्दसूचीमा नाम हुनुपर्‍यो ।

राष्ट्रियसभाबाट जाने हो भने संविधान संशोधन गर्नुपर्‍यो । अर्थात् उहाँ संवैधानिक रुपमा हेर्दा उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ला छैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...