नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
चर्को विवादका बीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु भएको जानकारी दिए ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बैठक शुरु भएको हो । पार्टीभित्र विकसित पछिल्लो स्थितिको समीक्षा गर्दै पार्टीको आगामी कार्यदिशा तय गर्न बैठक बसेको हो । सरकारले पछिल्लो समयमा राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद्को कार्यक्षेत्र संशोधनसम्बन्धी अध्यादेश जारी र खारेज गराएको, स्थायी समिति बैठकको मिति तय, पार्टी एकताका बाँकी कामले पूर्णता नपाएको, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन नगरिएकोलगायत सन्दर्भमा नेकपाभित्र विवाद देखिएको छ ।
पार्टीमा अध्यक्ष तथा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल लगायत बहुमत सचिवालय सदस्यको अर्को समूहबीच विवाद चर्किएको छ। प्रचण्ड-नेपाल समूहले स्थायी समिति बैठक राखेर सबै समस्यामाथि छलफल गर्न आग्रह गर्दै आएको छ। प्रधानमन्त्री ओली भने पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट आफुलाई हटाउन खोजिएकोमा असन्तुष्ट छन्।