बाबुराम भट्टराईले भने ओली हिटलर जस्तै खतरनाक



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि विदा गर्न आह्वान गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले ओली प्रवृत्ति भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । उनले भष्मासुर, हिटलर, स्टालिनलगायतको कार्यशैलीसँग ओली प्रवृत्तिलाई तुलना गरेका छन् ।

यद्यपि स्पष्ट नाम उल्लेख नगरी डा. भट्टराईले फेसबुकमा लेखेका छन्, ‘अति भएपछि खति हुन्छ भनिन्छ । त्यसैले अब छिटोभन्दा छिटो सबै पार्टीहरू, संसद, अदालत, मिडिया, नागरिक अभियन्ता र आम जनताको सक्रियतामा यो कोरोनाभाइरसभन्दा खतरनाक ओली प्रवृत्तिको भाइरसलाई सदाका निम्ति विदा गरौं ! नत्र यो भष्मासुरले सबैलाई सखाप पार्नेछ !’

भष्मासुरसँग तुलना गर्दै डाक्टर भट्टराईले लेखेका छन्, ‘ओली प्रवृत्तिले पनि अहिले नेपाली जनता र नेकपा पार्टीको वरदानले सत्तामा पुगेर त्यसको चरम दुरूपयोग गर्दै आफ्नै पार्टीका नेता, सांसद, विपक्षी दल, मिडिया, नागरिक अभियन्ता र आम जनता सबैको टाउकोमा हात राख्ने र आतंकित पार्ने हर्कत गरिरहेको छ ।’

स्टालिनसँग तुलना गर्दै भट्टराईले ओलीलाई झापा आन्दोलनमा चौध वर्ष जेल बसेको जस भजाएर सत्ता पाएपछि निरंकुश शैली अपनाएको टिप्पणी गरेका छन् । ‘पार्टीभित्र र बाहिरका विरोधीहरूमाथि विविध ढंगले दमन गर्ने, स्वेच्छाचारी र लहडी पाराले विकासका सपना बाँड्ने तर गलत नीति अवलम्बन गरेर देशमा चरम बेरोजगारी लगायत आर्थिक संकट निम्त्याउने, कोरोना संकटको बेला पार्टी फुटाउने खेलमा लागेर चरम गैरजिम्मेदारी र असंवेदनशीलता प्रदर्शन गर्ने काम गरिरहेछ,’ भट्टराईले लेखेका छन् ।

भट्टराईले यति प्रकरण, ओम्नी प्रकरण, कार्यकर्ताहरुको लाभको पदमा नियुक्ति लगायतलाई रुमानियाका कम्युनिष्ट पार्टीका सुप्रिमो एवम् राष्ट्रपति निकोलाइ चाउचेस्कुको शैलीसँग पनि तुलना गरेका छन् ।

भट्टराईले लेखेका छन्, ‘पूर्वी युरोपेली ‘कम्युनिष्ट’ देश रूमानियाका कम्युनिष्ट पार्टी सुप्रीमो तथा राष्ट्रपति निकोलाइ चाउचेस्कु र उनकी पत्नी तथा उपराष्ट्रपति एलिना चाउचेस्कुले कम्युनिष्ट पार्टी र सर्वहारावर्गको आवरणमा यति धेरै भ्रष्टाचार, विलासिता (उनको दरवार विश्वकै सबभन्दा ठुलो भवन मध्येमा गनिन्छ), फजुल खर्च, स्वेच्छाचारिता, आफन्त/आसेपासेवाद, मनपरीतन्त्र गर्थे । पार्टी नेता कार्यकर्ता तथा जनता यति निरीह, लाचार, पीडित थिए कि अन्ततः जनता र पार्टी कार्यकर्ता नै खुला विद्रोहमा उत्रिएर उनीहरूको अन्त्य गर्नुपरेको थियो ।’

भट्टराई थप लेख्छन्, ‘नेपालमा ओली प्रवृत्तीले हुर्काएको यति प्रकरण/ओम्नी प्रकरण लगायतका अनगिन्ति भ्रष्टाचार, राष्ट्रपति/प्रधानमन्त्रीको फजुल खर्च/विलासी शैली/ढाँटबाँट, आसेपासेको बाक्लो घेरा/उदण्ड शैली, मदन भण्डारी फाउन्डेशन लगायतका अनगिन्ति फाउन्डेशन/एनजीओ/आइएनजीओको विशाल तथा अपारदर्शी आर्थिक साम्राज्य एकातिर र अर्कोतिर संवैधानिक लगायत राज्यका अंगहरूको निरीहता, आम पार्टी कार्यकर्ता तथा जनताको दीनहीन अवस्था सबैको सामु छर्लंग छ ।’

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...