ओलीलाई प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–नेपालवीच गोप्य सहमति भएको हाे ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले राजनीतिक दलसम्बन्धि अध्यादेशले पुष्पकमल दाहाल ‘प्रचण्ड’ कमजोर नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले अध्यादेशले अध्यक्ष प्रचण्ड कमजोर वा बलियो हुने भन्ने विषय नरहेको बताए । उनले भने, ‘यो अध्यादेश ल्याउनु हुँदैन थियो । यसले जनमानसमा राम्रो सन्देश दिएको छैन । सबैले विरोध गरेका छन् ।’
केन्द्रीय सचिवालयको बैठकमा राजनीतिक दलसम्बन्धि अध्यादेशमा नेताहरूवीच सर्वसम्मत निर्णय हुन नसकेको उनले बताए ।
‘दुई वटा अध्यादेश आइसकेपछि यसलाई मान्नुको बिकल्प रहेन यो बेला’, नेकपाका नेता पौडेलले भने, ‘कोरोनाको संक्रमणबाट बच्ने बेला अध्यादेश ल्याउने माग जनताको होइन ।’
प्रधानमन्त्री केपी ओलीले पार्टी छाडेर आउनेहरूका लागि अध्यादेश ल्याएको भनेपनि त्यसमा आश्वस्त हुने ठाउँ नरहेको उनले बताएका छन् ।
‘प्रधानमन्त्री ज्यूले भन्ने कुरा जनताले बुझ्नेछन् । पार्टी फुट्छ वा फुट्दैन त्यो आफ्नो ठाउँमा छ’, उनले भने, ‘प्रचण्ड कमजोर हुनु हुन्न ।’
नेकपाका नेता पौडेलले अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीको विरुद्धमा कहिल्यै पनि नलागेको बताए । उनले भने, ‘प्रचण्डले प्रधानमन्त्रीको आलोचना वा विरोध गर्नु हुन्छ भन्ने कुरा कसैले नसोँचे पनि हुन्छ ।’
‘प्रचण्ड र माधवकुमार नेपालवीच गोप्य साँठगाँठ गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै गोप्य सहमति भएको छैन । हटाउन पनि खोजिएको छैन’, नेता पौडेलले भने, ‘ओलीलाई यस्ता गलत कुरा सुनाउनेहरू पार्टीभित्र भाँडभैलो बनाउनेहरू हुन् ।’
‘यो अध्यादेश कसैलाई चाहिएको थिएन । कसैले माग गरेका थिएनन्’, उनले भने, ‘यस्तो अवस्थामा अध्यादेश किन ल्याइयो मैले पनि बुझेको छैन ।’


