भारतमा सुधार नआएसम्म नेपालको लकडाउन नहटाउने प्रधानमन्त्री ओलीको संकेत
कोरोना भाइरस रोकथामको लागि सरकारले लागु गरेको लकडाउन पुन: लम्ब्याउने सम्भावना छ । प्रधानमन्त्री केपी ओलीले दिएको जानकारी अनुसार छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमणको स्थितिमा सुधार नआएसम्म नेपालमा लकडाउन जारी हुने संकेत देखिएको छ ।
ओलीले भने, ‘भारतमा कोरोनाको महामारीमा सुधार नआएसम्म नेपालको अवस्था खुकुलो हुने छैन ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संक्रमण रोकथामका लागि लकडाउनसँगै सीमा बन्द र देशभित्रै पनि आवतजावतको स्थिति नियन्त्रण गर्नु जरुरी भएको बताए ।
भारतमा हालसम्म कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । साथै संक्रमितको संख्या १५ हजार सात सय १२ पुगेको छ । पल्छिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द मोदीले बैशाख २१ गतेसम्मको लागि लकडाउन जारी गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।