आपूर्ति अनुगमनमा कडाइ गर्ने सरकारको निर्णय
आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ भने राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बैठकले समितिको निर्णय-निर्देशन कार्यान्वयनको अनुगमन गर्ने जिम्मवारी संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाइ दिएको छ ।
सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न जारी निर्देशन अवज्ञा गर्नेलाई नियन्त्रणमा लिएरै भए पनि कोरोना रोकथामको पहल गर्ने भएको छ ।
विश्वव्यापी रूपमा कोरोनाको सन्त्रास बढिरहेका बेला होम क्वारेन्टाइनमा बस्नुपर्ने, नियमित चेकजाँच गर्नुपर्नेहरूले लापरवाही गरेको पाइएपछि सुरक्षाकर्मी नै राखेर सरकारले कडाइ गर्न लागेको हो । कोरोना रोमथामसम्बन्न्धी उच्चस्तरीय समितिको शनिबार बसेको बैठकमा क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नु पर्नेहरु नबसेको, विरामी चेकजाँचमा नगएका जस्ता विषयमा गम्भीर छलफल भएको थियो । बैठकले यसमा जोखिम नलिने भन्दै सुरक्षाका साथ नियन्त्रणमा लिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर भए पनि क्वारेन्टाइन, आइसोलेसन र उपचारमा पठाइने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन र निर्देशनको कार्यान्वयन, कार्ययोजना बनाउने र अनुगमन गर्ने विषयमा बैठक केन्द्रित भएको बताए ।
मन्त्री डा।खतिवडाले जोखिम व्यवस्थापनका लागि उच्च तहको राजनीतिक एवं सामाजिक समन्वयको पनि आवश्यकता रहेको समेत बताए । उनले कोभिड–१९ का कारण आउनसक्ने सम्भावित जोखिम बहन गर्न छवटा कार्यदल गठन भएको जानकारी दिए । बैठकले देशभर आवश्यकताअनुसार क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । यसका लागि सुरक्षा निकाय समेत रहेको कार्यदल बनेको छ, जसको नेतृत्व पर्यटनमन्त्री योगेश भट्टराईले गर्नेछन् ।
बैठकले आफ्नो घर, स्कुल तथा होटलहरू क्वारेन्टाइन बनाउन सरकारलाइ दिने निजी क्षेत्रको अफर स्वीकार गरेको सरकारका प्रवक्ता डा. खतिवडाले बताए । अब सरकारले प्रदेश र स्थानीय सरकारहरूले बनाएको क्वारेन्टाइनको विवरण पनि लिनेछ र सबैमा एकरूपता कायम गर्नेछ ।
यस्तै स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्यमन्त्रीका संयोजकत्वमा समिति गठन भएको छ भने देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालयमार्फत काम अघि बढाइने मन्त्री खतिवडाले बताए ।


