सार्क नेताबीच भिडियो कन्फरेन्स



हाम्रो इकोनोमि

 

सार्क राष्ट्रका नेताहरूले ‘भिडियो कन्फरेन्स’ मार्फत सहकार्य अघि बढाउने भएका छन्। पाँच वर्षदेखि सार्क अवरुद्ध छ। २०७१ सालमा १८औं शिखर सम्मेलनपछि शिखर सम्मेलन हुन सकेको छैन। आइतबार हुने भिडियो कन्फरेन्सलाई सार्क ब्युँताउने रणनीतिका रूपमा लिइएको छ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली सिंहदरबार पुगेर भिडियो कन्फरेन्समा सहभागी हुने जानकारी दिए।

कन्फरेन्स ५ बजे सिंहदरबारमा हुनेछ। प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य लाभ गरेर शुक्रबार डिस्चार्ज भएका थिए। प्रधानमन्त्री ओलीले केही राजनीतिक नेता र आफ्ना सल्लाहकार समूहलाई भेटेका छन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था असहज देखिएमा कन्फरेन्समा परराष्ट्रमन्त्री र सल्लाहकार समूह सहभागी हुनेछन्।

सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो। कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ।

परराष्ट्र सचिव शंकरदास बैरागीले भने, ‘कन्फरेन्सको हब दिल्ली भए पनि नेपाल अध्यक्ष हुनाले हामीले पनि भूमिका निर्वाह गर्नेछौं।’ सम्मेलनमा सबै सदस्य मुलुकबाट राजनीतिक नेतृत्व सहभागी हुनेछन्।

‘हामी भिडियो कन्फरेन्सको तयारीमा छलफल गरिरहेका छौं’, परराष्ट्र सचिव बैरागीले शनिबार राति अन्नपूर्णसँग भने, ‘सार्क क्षेत्रमै कोरोना भाइरस संक्रमण बढेपछि भारतको प्रस्तावमा नेपालले अध्यक्षको नाताले यसको व्यवस्थापन र छलफल अघि बढाएको हो।’ उनले कन्फरेन्सले जटिल परिस्थितिमा सार्क सहकार्यमा अग्रसर रहेको सन्देश दिने बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोरोनासविरुद्ध लड्न सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रस्ताव राखेका थिए। ‘हाम्रा नागरिकलाई स्वस्थ राख्न हामी भिडियो कन्फरेन्समार्फत छलफल गर्न सक्छौं,’ मोदीले ट्विटमार्फत भनेका थिए, ‘संयुक्त रूपमा हामीले विश्वलाई नै एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान पुर्‍याउन सक्छौं।’

कन्फरेन्सबारे अन्य सदस्य मुलुकहरूले तत्काल सहमत भए पनि पाकिस्तानले सबैभन्दा अन्तिममा सहमति जनाएको थियो। पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता आयसा फारुखीले शनिबार दिउँसो भारतको प्रस्तावलाई समर्थन गर्ने सन्देश नेपाललाई दिएकी थिइन्।

कन्फरेन्समा पाकिस्तानबाट मन्त्री सहभागी हुने भए पनि अन्य राष्ट्रबाट कार्यकारी प्रमुख या परराष्ट्रमन्त्री सहभागी हुनेछन्।

सन् २०१६ मा पाकिस्तानको इस्लामाबदमा सार्क शिखर सम्मेलन हुने कार्यक्रम थियो। काश्मीरको उरीमा आतंकवादी आक्रमण भएका कारण भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएको थियो। त्यसपछि शिखर सम्मेलन हुन सकेन। यस्तै कर्मचारी स्तरमा बैठक भइरहे पनि मुख्य कार्यक्रम हुन सकेको छैन।

भारतीय प्रधानमन्त्री मोदीले कोरोना महामारीविरुद्ध लड्न सार्क राष्ट्रबीच साझा रणनीति प्रस्ताव पाकिस्तानले समर्थन गर्दै सार्कलाई नयाँ मोड दिन लागेको देखिएको परराष्ट्रका एक अधिकारीले बताए। ती अधिकारीले भने, ‘छिमेकी साथ लिएर भारतले पकड बलियो राखेको सन्देश दिनुले सार्कको औचित्य पुनः पुष्टि भएको छ।’

कोरोनाको कारण अघि बढेको मोदीको पछिल्लो प्रस्तावलाई कूटनीतिज्ञहरूले सार्कको पुनर्जीवनका रूपमा धारणा बनाएका छन्। दुई महिनाअघि चीनको हुपई प्रान्तबाट फैलिएको कोरोना संक्रमण विश्वका १ सय ४० भन्दा बढी मुलुकमा पुगेको छ। भारतमा शनिबारसम्म दुई जनाको मृत्यु भएको छ। यस्तै पाकिस्तानमा एक जनाको मृत्यु भएको छ। नेपाल, बंगलादेश, भुटान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्समा पनि कोरोना प्रभावित बिरामी देखिएका छन्।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...