हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएको आज एक वर्ष
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको आज बिहीबार एक वर्ष भएको छ । गएको वर्ष फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटनामा तत्काली पर्यटनमन्त्री अधिकारीसहित सातजनाको निधन भएको थियो ।
गत फागुन १५ गते पर्यटनमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर ताप्लेजुङ्गको प्रशिद्ध तिर्थस्थल पाथिभरा दर्शन गरी तेह्रथुमको आठराईमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, पर्यटनमन्त्रीका अंगरक्षक सेनाका जमदार अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।
२०२६ साल वैशाख १२ गते कास्कीको भरतपोखरी ९ मा रवीन्द्र अधिकारीको जन्म भएको थियो । अनेरास्ववियुबाट राजनीति सुरु गरेका अधिकारी कास्कीबाट पछिल्लो तीनपटकको निर्वाचनमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
२०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी प्रत्यक्ष निर्वाचित भएका थिए । अधिकारीको निधनपछि भएको उपचुनावमा कास्की–२ बाट उनकी श्रीमती विद्या भट्टराई विजयी भइन् ।


