प्रधानमन्त्री भन्छन्- शरीरभित्र तार राखेर पनि चल्छु



हाम्रो इकोनोमि

 

आफ्नो ६९ औं जन्मोत्सव मनाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार एकपछि अर्को संकटमा फस्न थालेको छ । यी संकट आन्तरिक र बाह्य दुबै किसिमका छन् । तर, प्रधानमन्त्री ओलीले भन्दैछन्, ‘मेरो जिन्दगी लडाइँमा बित्या छ, शरीरभित्र तार, यन्त्र-सन्त्र राखेर पनि चल्छु ।’

मंगलबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ, जुन बैठकमा प्रधानमन्त्रीले सञ्चारमन्त्रीको अडियो प्रकरणबारे जवाफ दिनुपर्ने, अन्यथा संसदै चल्न नदिने विपक्षी नेपाली कांग्रेसले माग राखेको छ ।

प्रधानमन्त्रीले संसदमा आएर जवाफ देलान्/नदेलान् त्यो दुई दिनपछि थाहा हुनेछ । तर, उनले संसदमा जवाफ दिएनन् भने प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनका बैठकहरु प्रभावित हुने देखिन्छन् ।

तर, ओली सरकार बाह्यभन्दा बढी आन्तरिक संकटमा फसेको छ । गोकुल बास्कोटा काण्डले आम जनमानसमा पनि सरकारमाथि तीव्र आलोचना भइरहेको छ ।

सरकारमाथि एकपछि अर्को बज्रपात

आफ्नो दाहिने हात मानिँदै आएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा भ्रष्टाचार प्रकरणमा विवादमा तानिएर पदच्युत बनेपछि प्रधानमन्त्री ओली रक्षात्मक बनेका छन् ।
ठीक यहीबेला प्रधानमन्त्रीमाथि अर्को बज्रपात परेको छ – एमसीसी कार्यदलको रिपोर्ट ।

एमसीसी जसरी पनि पास हुन्छ भनेर संसदभित्र र बाहिर गर्वका साथ बोल्दै आएका प्रधानमन्त्रीको चाहना विपरीत झलनाथ खनाल नेतृत्वको कार्यदलले यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने रिपोर्ट बुझाइदिएको छ ।

अब पार्टीले दिएको सुझाव कार्यान्वयन गर्ने कि पार्टीको निर्णयलाई लत्याएर अघि बढ्ने ? प्रधानमन्त्री ओली धर्मसंकटमा परेका छन् । कार्यदलको प्रतिवेदनबारे अब सचिवालयमा छलफल हुनेछ, जहाँ बहुमतले एमसीसी संसदबाट पारित नगर्ने निर्णय गरिदियो भने प्रधानमन्त्री ओली थप नैतिक संकटमा पर्नेछन् ।

सचिवालयले कार्यदलको निर्णय हुबहु लागू गर्न भन्यो भने प्रधानमन्त्रीले त्यसलाई मानेर अघि बढ्नुको विकल्प रहने छैन । पार्टीको निर्णय नमान्दा उनीमाथि बहुमतको डण्डा चल्ने खतरा छ ।

किनभने, सचिवालयमा प्रधानमन्त्री ओली अल्पमतमा परिसकेका छन् । ९ सदस्यीय सचिवालयमा ओलीको पक्षमा तीनजना र प्रचण्ड-माधव पक्षमा ६ जना छन् । ओलीतिर उनी आफू, ईश्वर पोखरेल र विष्णु पौडेल छन् भने माधव-प्रचण्ड समूहमा झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र रामबहादुर थापा बादलसमेत छन् ।

एमसीसीका बारेमा अहिलेसम्मको समीकरण कायमै रह्यो भने त्यो पारित नहुने अवस्था आउन सक्छ । एमसीसी पारित भएन भने प्रधानमन्त्रीले अहिलेसम्म संसदभित्र र बाहिर बोलेका कुराहरु अमान्य ठहरिने छन् ।

एमसीसी प्रकरणमा प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली संकटमा फसेका छन् । परराष्ट्र मन्त्रीको हैसियतले उनले अमेरिका भ्रमणदेखि लिएर विभिन्न बैठकहरुमा भाग लिँदै आएका छन् । क्याबिनेटले नै पारित गरिसकेको यो सम्झौता संसदबाट पारित गर्न भूमिका खेल्नु मन्त्री ज्ञवालीको पनि दायित्व हो । तर, झलनाथ कार्यदलमा बसेका ज्ञवालीले समेत यसलाई यथास्थितिमा पारित गर्न नहुने निश्कर्षमा सहमति जनाएको संयोजक खनालले बताइसकेका छन् ।

यदि ज्ञवालीले एमसीसी परिमार्जन नगरी पारित गर्नुहुँदैन कार्यदलको भनेर प्रतिवेदनमा सहमति जनाएका हुन् भने त्यो उनको दाहोरो भूमिका हो । मन्त्रिपरिषदबाट पारित गर्ने अनि पार्टीको कार्यदलमा हुँदैन भन्ने हो भने यसबाट परराष्ट्रमन्त्री माथि पनि नैतिक प्रश्न उठ्छ, उठेको छ । यी नैतिक प्रश्नमा उभिएर परराष्ट्रमन्त्रीले राजीनामा दिए भने प्रधानमन्त्री थप कमजोर हुनेछन् । मन्त्री ज्ञवाली अहिले जेनेभा भ्रमणमा छन्, उनी १६ गते मात्र स्वदेश र्फकँदैछन् । यहीवीचमा नेकपा सचिवालयमा कार्यदलको प्रतिवेदनमाथि छलफल हुँदैछ ।

ओली सरकारमाथिको अर्को संकट हो- अर्थमन्त्रीको पदावधि ।

आगामी फागुन २० गतेबाट अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्रीपद रिक्त हुँदैछ । गोकुल बास्कोटा र प्रदीप ज्ञवालीजस्तै डा. खतिवडा प्रधानमन्त्रीका बलिया सारथी हुन् । बहुमतमा रहेका माधव- प्रचण्ड समूह अर्थमन्त्रीलाई निरन्तरता नदिने पक्षमा छ, सचिवालयमा उनीहरुकै बहुमत छ । माधव- प्रचण्ड समूहको चाहना फागुन २० पछि निर्वाचित सांसद सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने भन्ने छ ।

यो अवस्थामा डा. युवराज खतिवडाको निरन्तरता रहेन भने ओली सरकार झनै कमजोर हुन जाने निश्चित छ । सचिवालयलाई बाइपास गरेर प्रधानमन्त्री अघि बढेमा यहाँ पनि उनीमाथि बहुमतको डण्डा चल्न सक्ने नेकपाको पछिल्लो समीकरणले देखाएको छ ।

प्रधानमन्त्री माथि ओलीमाथि आइलागेको अर्को चुनौती के हो भने यहीबेला उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ । यसका लागि केही महिना भौतिकरुपमै आराम गर्नुपर्ने हुन्छ । झनै सक्रिय हुनुपर्ने बेलामा प्रधानमन्त्रीको जिम्मेवारीमा रही रहेर किड्नी ट्रान्सप्लान्टका लागि समय निकाल्नु उनको अर्को भवितव्य अर्थात संकट हो ।

प्रधानमन्त्रीको अडान : मेरो जिन्दगी लडाइँमा बित्या छ, शरीरभित्र तार राखेर पनि चल्छु

प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र अल्पमतमा परे पनि सजिलै पछि हड्ने खालका नेता होइनन् ।

प्रधानमन्त्री कतिसम्म दृढ अठोटमा छन् भन्ने बुझ्नाका लागि उनले गत फागुन ४ गते आफ्नो निर्वाचन क्षेत्र झापाको दमकमा पुगेर दमक-चिसापानी सडकको शिलान्यास कार्यक्रममा बोलेका कुराहरु उनकै शब्दमा सुनौं-

सरकारले स्थिरता, स्थायित्व, शान्ति, सुशासन र विकासको जुन लहर सिर्जना गरेको छ, त्यसका विरुद्ध देशी विदेशी षड्यन्त्रकारी तत्वहरु र प्रतिक्रियावादी शक्तिहरु लागेका छन् । हामीले राजतन्त्रका विरुद्ध संघर्ष गर्‍यौं । अहिले पनि निरन्तर संघर्ष गरिरहनुपरेको छ । जो देश विकास भएको देख्न चाहँदैनन् । यस्ता शक्तिहरुले रोक्न खोज्छन् । तपाईहरुलाई लाग्ला बहुमत छ । बहुमत भए पनि फर्की फर्किकन, फर्की फर्किकन फेरि उनीहरु यो सरकारलाई असफल पार्ने, यसलाई ढाल्ने यसलाई बदनाम गर्ने, यी प्रयत्नमा कसरी लागिरहेका छन्, तपाईहरुले देखिरहनुभएको छ ।

तर, म भन्न चाहन्छु, अरु कसैले होइन, अरु कुनै शक्तिले होइन, हामीलाई सरकारमा पुर्‍याइदिएको तपाईहरुले हो । जबसम्म तपाईहरुको आशिर्वाद रहन्छ, सरकारलाई कसैले हल्लाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं बढ्यौं ।

०६४ सालमा मैले किड्नी बदलेको थिएँ । त्यसबेला नेपालमा ठूलो आश्चार्य भयो । मैले यस क्षेत्रमा चुनाव हारें । ठूलो आश्चार्य भयो ।

मेरो जिन्दगी रोगसँग लडेर, प्रतिक्रियावादी शक्तिहरुसँग लडेर, जनविरोधी शक्तिहरुसँग लडेर यत्तिकै बित्या छ । त्यसकारण बिमारी भएँ भनेर रोगसँग लड्न पनि मलाई अनौठो लाग्दैन, अप्ठ्यारो स्थिति गरे भने प्रतिक्रियावादीसँग लड्न पनि मलाई अप्ठ्यारो लाग्दैन । मेरो जिन्दगी लडाइँमा बित्या छ । त्यसकारण म लडाइँको मैदानमा खडा छु सधैं । अखडामा । ४६ वर्ष भो बिमारीका बिमारी लडेको ।

विरोधीहरु मुकाबिला गर्न सक्दैनन्, मनलाग्दी भनेर आश गर्छन् । मर्न त मर्छ एकदिन, तर अलि पछि । अस्ति झण्डै गा’को डाक्टरसापले चिरफार गरेर फेरि ठाकठीक ।
मेरो पेट चारपल्ट राम्रैसँग चिर्‍या छ । केही अंग फालिया छन्, केही अंग काटिया छन् । केही अंग फेरिया छन् । मेरो बानी पर्‍या छ, शरीरभित्र तार, यन्त्र(सन्त्र राखेर चल्नुपर्‍यो भने पनि चल्ने । यो बानी पर्‍या छ । रेडियोको बेट्रीजस्तो ।

म किन यसरी बाँचिरहेको छु, काम गर्न सकिरहेको छु भन्दा नेपाली जनताको स्नेह, माया, ममता, तपाईहरुको शुभकामना । र, यस देशलाई भ्रष्टाचार नगरेर, भ्रष्टाचार रोक्दै देशलाई विकासको बाटोमा अगाडि बढाउन । त्यसका निम्ति म बाँचिराख्या छु । तपाईहरुले घर गएर सबैलाई मेरो नमस्कार सुनाइदिनोस् । मैले सबैलाई सम्झेको छु । सम्झेको मात्रै होइन, तपाईहरुलाई शीरमा राखेर इमानका साथ, बिमारी हुँदा पनि बिमारी छु नभनिकन रातदिन काम गरेको छु । फेरि पनि गर्नेछु ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...