बाँस्कोटाको हातमा थिए एक खर्बका सात प्रोजेक्ट



हाम्रो इकोनोमि

 

सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल’ गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टमा पनि चासो राखेका थिए । नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर पनि उनले स्वार्थअनुसार अघि बढाए ।

१. प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया

२. करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना

३. फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का

 ४. देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना, १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप

५. मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का

६. सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्ब पुर्‍याइयो

७. हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रम 

 

खासगरी उनले सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्‍याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनामा गम्भीर चासो देखाएका थिए ।

यी कार्यक्रमको पारदर्शितामा प्रश्न उठाउने प्रशस्त आधार देखिएका छन् । कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकनलगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रियालाई उल्लंघन गरेको देखिन्छ । बाँस्कोटाले चासोसाथ अघि बढाएको एक हजार सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने ठेक्कामा आफूले रुचाएको कम्पनीले मात्र ठेक्का पाउन सक्ने गरी ‘स्पेसिफिकेसन’ तयार गर्न लगाएका थिए । त्यति मात्र होइन, एक अर्ब ५० करोडको आयोजनाको लागत तीन अर्ब ५० करोड पुर्‍याए ।

दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटलाइट स्थापनाका लागि माग गरेको आशय–पत्र मूल्यांकन समितिले अध्ययन गरिरहेको थियो । त्यही समयमा बाँस्कोटा मन्त्रीका रूपमा सञ्चार मन्त्रालयमा आए । प्राधिकरणले अघि बढाएको काम स्थगित गरेर जिटुजी प्रणालीमार्फत सरकारले सीधै खरिद गर्ने भनेर नयाँ प्रक्रिया अगाडि बढाए । उनले त्यसका लागि २८ अर्बको प्रोजेक्ट तयार गरे ।

बाँस्कोटा मन्त्री हुनुअघि नै देशभर फोरजी सेवा विस्तार गर्न नेपाल टेलिकमले चीनको हुवावे कम्पनीलाई १९ अर्बमा ठेक्का लगाएको थियो । तर, त्यसमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थाल्यो । बाँस्कोटा मन्त्रालयमा आइसकेपछि महँगो दररेटमा ठेक्का दिएको भन्दै टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरे । लगत्तै अख्तियारले पनि छानबिन रोकेर ठेक्काको फाइल मन्त्रालयमा पठायो । तर, बाँस्कोटाले ठेक्का प्रक्रिया नयाँ शिराबाट सुरु गरेनन्, पुरानै दररेटमा हुवावेलाई नै जिम्मा लगाए । जब कि यही प्रकृतिको काम एनसेलले हुवावे कम्पनीबाटै ६ अर्बमा गराइरहेको छ ।

तत्कालीन सञ्चारमन्त्री शेरधन राईले देशभर इन्टरनेट सेवा पुर्‍याउने योजना अघि सारे । बाँस्कोटा मन्त्रालयको नेतृत्वमा आउनुअघि त्यसका लागि अप्टिकल फाइबर बिच्छ्याउन १० अर्बका तीन ठेक्का लागिसकेका थिए । त्यसमध्ये पहिलो खण्डको प्रदेश नं. १, २ र बागमतीको चार अर्ब ८८ करोडको ठेक्का नेपाल टेलिकमले पाएको थियो । तर, सम्झौताअनुसार काम अघि बढाएको थिएन । बाँस्कोटाले त्यसको फाइदा उठाउँदै टेलिकम मातहत नै रहने गरी आफूअनुकूलको चिनियाँ कन्स्ट्रक्सन कम्पनीलाई अप्टिकल फाइबर बिछ्याउने काम दिलाए । त्यस्तै, दोस्रो खण्डको गण्डकी प्रदेश र प्रदेश ५ को तथा तेस्रो खण्डअन्तर्गत कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउने झन्डै पाँच अर्बको ठेक्का पनि मन्त्रिपरिषद्बाट खारेज गराएका थिए नयाँ पत्रिको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...