सरकारमाथि कसले रच्यो षड्यन्त्र ?



हाम्रो इकोनोमि

 

 

नेकपाको सरकारले दुई वर्षे कार्यकाल सहजै पूरा गरेसँगै अविश्वास प्रस्ताव आउने बाटो संविधानतः खुल्नु र आइतबार गृहजिल्ला झापा पुग्नुभएका प्रधानमन्त्रीले ‘सरकार ढाल्ने षड्यन्त्र शुरु भयो’ भन्नुमा के तादात्म्यता छ ? के प्रतिपक्षी त्यस्तो बलियो छ, जसले यो सरकार ढाल्ने हैसियत राखोस् ? वा, भित्रभित्रै नेकपा विभाजित भएर प्रतिपक्षीको योजनामा पो सामेल हुँदैछ कि ? या सैनिक, विप्लव नेकपा वा कुनै विदेशी शक्तिको चलखेल त्यति घनिभूत रुपमा प्रकट भइसकेको छ ?

 

दुई तिहाईको सरकार छ, संख्या नपुगेको कांग्रेस हार खाएर बसेको छ । राष्ट्रिय सभा चुनावमा मिल्न आएका राजपाहरु संघीय सरकारमा सामेल नहुने सन्देशसहित दिल्लीबाट फर्केका छन् । यस्तो स्थितिमा सरकार ढाल्छ कसले ? एकथरि नेकपा नेताहरुको भनाइ छ, ‘आफैँ विपक्षी खडा गर्ने र त्यही पिर लिएर बस्ने प्रधानमन्त्रीको बानी छ ।’ जसरी कम्युनिष्ट पार्टीका बैठक र छलफलहरुमा कुरा राखिन्छ, मुख्य शत्रु र प्रधान अन्तरविरोधबारे ।

 

निशाना प्रष्ट नभई आन्दोलन अगाडि बढ्न सक्दैन भनेरै प्रत्येक राजनीतिक प्रतिवेदनमा शत्रु किटान गर्नु कम्युनिष्ट सूत्र नै हो । कतै यो सरकारमाथि षड्यन्त्रको छर्रा छाडेर विषयान्तर गर्ने र पार्टी नेताहरुलाई दायाँबायाँ लाग्न नदिने सुविचारित योजना त हैन ? प्रधानमन्त्रीले झापामा बोल्नुभएको कुरालाई पार्टीको आन्तरिक पक्षमा रक्षात्मक भइयो भन्ने अर्थमा लिन सकिने कतिपय नेकपा नेताको ठहर छ । यसो गर्दा विरोधीहरु सरकारै ढाल्ने कोशिसमा लागे भने पनि पार्टीभित्र नमिलेका पक्ष भित्रभित्रै मिल्ने सम्भावना रहन्छ । ‘बाहिर सरकार ढाल्न खोजेका छन्, तपाईं पनि त्यसमा सामेल हो ?’ भनेर प्रश्न गर्न सकिने अर्थमा प्रधानमन्त्रीको भनाइ आएको नेताहरुको बुझाइ छ ।

फुट्न नमिल्ने
तर, नेकपा नफुट्दासम्म सरकार तल–माथि हुने कुनै सम्भावना छैन । पार्टी फुट्न केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्यको हस्ताक्षर चाहिन्छ । एक्लै कसैको पुग्दैन, न पूर्वएमालेको न पूर्वमाओवादीको । यी दुई पूर्वपार्टीका नेता अहिले पनि एक्लाएक्लै बस्दा माछा, सर्प र भ्यागुतोजस्ता हुन्छन् । अर्थात्, एकले अर्कालाई नाश गर्नैपर्ने मानसिकता जिउँदै छ । तर, मिल्नुको विकल्प छैन, फुट्ने कानुनी छूट कसैसँग छैन ।

एमसिसीको झ्याउलो
एकजना स्थायी कमिटी सदस्यले जनआस्थालाई बताएअनुसार अमेरिकी सहयोग परियोजना एमसिसीका विषयमा प्रधानमन्त्री पार्टी पंक्तिसँगै असन्तुष्ट हुनुभएको छ । उहाँले केन्द्रीय कमिटी बैठकमा एमसिसीलाई सर्लक्क पारित गराउने योजना बनाउनुभएको थियो । तर, त्यो कुरा कार्यदलमा गएर लन्ठियो । जुन कुरा प्रधानमन्त्रीलाई मन परेको छैन । त्यसमाथि १० दिनभित्र सुझाव दिने भनिएको कार्यदलले थप समय माग्यो । अनि, कार्यदलका सदस्यहरु नबोलेर खुरुखुरु अध्ययनतिर लागे हुनेमा आ–आफ्ना तर्कसहित भाषणवाजीमा उत्रिन थालिसके । यसरी एमसिसीको मामिला झन्झन् गहिरिँदै गएको छ । त्यसमाथि संसदलाई संबोधन गर्दा सभामुखले पेश गर्नेबित्तिकै एमसिसी पास हुन्छ भनेर प्रधानमन्त्रीले ठोकुवा गरिसक्नुभएको छ । आफ्नो पार्टीमा पास गर्न नसकेर कार्यदल बनाउनुपरेको छ । संसदमा गएर सर्लक्कै पास हुन्छ पनि भन्नुभएको छ ।

 

अविश्वासको खेलो
संविधानको धारा १००, उपधारा ४ ले सरकारलाई दिएको सुविधाको समयसीमा समाप्त भएको छ । अर्थात्, दुई वर्षसम्म सरकारलाई सुविधाजनक हिसाबले अविश्वासको प्रस्तावजस्ता अवरोधबाट उन्मुक्ति दिने सहजता उक्त धाराले प्रदान गरेको छ । तर, त्यो दुई वर्ष शनिबारबाट पूरा भएको छ । त्यसैले मुलुक अब जटिलतातर्फ प्रवेश गर्ने खतरा छ । अहिले नेकपासँग सुविधासम्पन्न बहुमत भएरमात्र हो । नत्र, विगतका नजिरहरुले भन्छन्, जुनकुनै हालतमा सरकार ढल्न सक्थ्यो ।
नेपालमा लामो समयदेखि अस्थिरताको खेल चल्दै आयो । ०५१ देखिकै श्रृंखला हो यो ।

 

०४८ पछि ०५१ सम्म गिरिजाप्रसाद कोइरालाले शासन सम्हालेपछि मात्रै हो, एउटा दलले ढुक्कसँग सरकार सञ्चालन गर्न पाएको । प्रचण्डको सरकार एमालेको बलमा, माधव नेपालको सरकार नेपाली कांग्रेसको बलमा, झलनाथ खनालको सरकार माओवादीको बलमा, बाबुरामको सरकार कांग्रेस र मधेसवादीको बलमा टिक्यो । बहुदलीय प्रजातन्त्रको बहाली भएयता सुविधाजनक बहुमतसहित एउटै पार्टीको सरकार चलाउने ०४८ मा गिरिजा र त्यसपछि अहिलेकै सरकार हो । यो सरकारले विपक्षीलाई जतिसक्दो सन्तुष्ट गराएर, उनीहरुको माग र गुनासो संबोधन गरेर जानुमा जति फाइदा छ, त्यसै गरी त्योभन्दा ठूलो खतरा आफँैभित्र गुटहरुको व्यवस्थापन, नेताहरुको इज्जत प्रतिष्ठा, आपसी सौहाद्र्रता, सहजतालाई कायम गर्न सकियो भने खड्गोहरु टर्दै जाने निश्चितप्रायः छ । अहिले समस्या प्रमुख प्रतिपक्षी दलका सामु होइन, नेकपाभित्रै छ । पार्टीभित्र असन्तुष्टि कायम रह्यो भने त्यहाँभित्रै खेलेर विपक्षी वा विदेशीले टुटफुट गराउने खतरा रहन्छ । तर, त्यो सम्भावना धेरै पर छ ।

 

नबिच्क्याउने कुरा
केही समयअगाडि नेकपाभित्रैको असन्तुष्टिले एउटा समयमा सरकारमाथि खतरा आउने अवस्था देखिएको थियो, त्यो टरेको छ । तर, सधैँ त्यही स्थिति रहन्छ भन्ने पनि छैन । किनभने, नेकपा दुई ठूला कम्युनिष्ट मिलेर बनेको हो । पूर्वमाओवादी ४० र पूर्वएमाले ६० को हिसाबले एक भएका हुन् । त्यसमाथि पूर्वएमालेमा माधव–केपीको ३०–३० प्रतिशतको स्थिति थियो । अहिले एउटा कित्ताका माधव, ओली या प्रचण्डमध्ये दुईथरी मिल्नेबित्तिकै अर्को खेमा बलियो हुन्छ ।

ठेल्दै ठेल्दै माधव समूहलाई भित्तामा पु¥याइयो भने उक्त समूह प्रचण्डसँग मिल्छ र त्यहाँ ६० प्रतिशत हुन जान्छ । त्यसैले माधवलाई बिच्क्याउनु हुँदैन भन्नेमा केपी पक्ष सचेत भएको अघिल्लो सोमबार पशुपति प्लाजास्थित मदन भण्डारी फाउण्डेशनको छलफलबाट बुझ्न सकिन्छ । त्यहाँ ओलीनिकट १३ नेता थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालहरुको भेला हो त्यो । प्रचण्डसँग नजिकिने गरी माधवलाई किनारामा पार्दै जानु ठीक भएन भन्ने प्रसंग त्यहाँ उठाइयो । ईश्वर पोखरेललाई स्पष्ट भनियो, ‘तपाईं सरकारको दोस्रो बरियताको नेता, प्रधानमन्त्री बिमार हुनुहुन्छ । राजकीय मामिला, विदेशी भेटघाटमा उहाँको समय बित्छ । तपाईंले सन्तुलन मिलाउँदा हुन्छ । किन माधव समूहलाई बिच्क्याउने ? माधवलाई प्रचण्डको नजिक पर्नै दिनु हुँदैन । त्यो स्थिति ल्याउन दिनु घातक छ ।’

 

खुशी पारे पनि…
पहिल्यै आन्तरिक एकताको खाँचो महसूस गर्दै वामदेव गौतमलाई उपाध्यक्ष, नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य, झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएकै हो । अर्थात्, विभिन्न नेतालाई विभिन्न हिसाबले व्यवस्थापन गरिएकै थियो । तर, पनि सभामुख प्रकरणमा भने यो सबै अस्त्रले काम गरेन । भैंसेपाटी गठबन्धन भयो । विभिन्न कालखण्डमा अलग भएका नेता एक ठाउँमा पुगे । प्रधानमन्त्रीले एकलौटी गरेकोमा रुष्ट पूर्वएमालेहरु प्रचण्डबाट सभामुखको प्रस्ताव आउनुपर्छ भन्नेमा अडिग भइदिए । र, उनीहरुकै कारण पाइसकिएको पद गुम्न गयो । यसपछि राष्ट्रियसभामा पूर्वमाओवादीका तीनजना खालि हुँदा उसले सात जना लिन सक्यो । माधव नेपाललाई पनि प्रधानमन्त्रीले चार घण्टे भेटमा भन्नुभयो, ‘हेर्नुस् त, तपाईं र म बाझ्दा माओवादीलाई कति फाइदा भयो ?’ माधवले स्मरण गराउनुभयो, ‘तपाईंले पनि त प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रियसभासहित विभिन्न नियुक्तिमा एउटा पक्षलाई दरकिनार गर्दै जानुभयो नि !’

 

अब पनि यो स्थिति कायम रह्यो भने बहुमत देखाउनुपर्ने माधव वा प्रचण्डले हैन । केपी ओलीले नै हो । यी दुई पक्षलाई त रमिता हेर्नुमै फाइदा छ । किनभने, महाधिवेशनमा अध्यक्षका आकांक्षी यी दुई नेता नै हुन् ।
त्यसैले यो सरकारको दुई वर्ष पार भएकोमा हर्षबढाईं भन्दा पनि अबका चुनौतिलाई कसरी सामना गर्ने भन्ने कुरा निर्णायक रहन्छ । संख्याको हिसाबले प्रतिपक्षी कांग्रेसले अविश्वासमार्फत उथलपुथल मच्चाउने सम्भावना छैन । तर, प्रतिनिधिसभाको तत्काल कायम एक चौथाई सांसदले हस्ताक्षर गर्दा अविश्वासको प्रस्ताव दर्तासम्म हुन सक्छ । यो कुरालाई मध्यनजर गरेर जान सकियो भने नेकपाको सरकारसामु कुनै पनि अप्ठेरा आउन सक्दैन भनिन्छ । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...