डन सांसदलाई तीन दिनमै उन्मुक्ति, गायिकालाई चार दिन थुना?



हाम्रो इकोनोमि

 

कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)माथिको अनुसन्धान प्रहरीले दुई दिनमै टुंग्यायो । उनले सार्वजनिक मञ्चमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का हानेका थिए । अभद्र व्यवहार मुद्दामा आइतबार उनी पाँच हजार धरौटीमा छुटे । तर, प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई चार दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । जबकि उनी सोमबार बिहान आफैँ महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् ।

अभद्र व्यवहार मुद्दा हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । प्रहरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)समक्ष उनलाई सात दिन हिरासतमा लिने गरी म्याद मागेकोमा सिडिओले चार दिन दिएका छन् । आस्थाको बयान सोमबार नै सकिएको छ । सामान्य विवादको विषयमा गायिका राउतमाथि फौजदारी मुद्दा चलाएपछि प्रहरीको कदम विवादमा परेको छ ।

विमानस्थलको चेकिङको विवादलाई लिएर सामाजिक सञ्जालमा प्रहरीको आलोचना गरेको भन्दै गायिका राउतलाई प्रहरीले हिरासतमा राखेको हो । मुलुकी अपराध संहिताअन्तर्गतको अभद्र व्यवहार मुद्दामा चार दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी बिरामी भएको भन्दै सोमबार बेलुका अस्पताल भर्ना भएकी छिन् ।

गत १ माघमा विमानस्थलको चेकिङमा प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोप आस्थामाथि छ । त्यस्तो अवस्थामा तत्कालै उनलाई नियन्त्रणमा लिन सक्ने भए पनि प्रहरीले त्यसलाई सामान्य रूपमा लिएको थियो । पछि आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले फेसबुकमा प्रहरीको आलोचना गरेपछि प्रहरीले उनीविरुद्ध उत्रिएको हो । महानगरीय प्रहरी कार्यालयले चेकिङमा संलग्न जवान श्रेष्ठलाई गायिकाविरुद्ध उजुरी हाल्न लगाएर उनीविरुद्ध ‘प्रतिशोध’ लिन खोजेको हो । जबकि प्रहरी आलोचनामा केही गलत शब्द बोलेको भन्दै आस्थाले माफी मागेकी थिइन् ।

‘प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा राख्यो’

गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन । यसबाट प्रहरी र कलाकारको दूरी नबढोस् भन्ने म चाहन्छु ।’ प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा लिएको उनको भनाइ छ ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी पनि प्रहरीको यो कदमबाट खुुसी छैनन् । सामान्य घटनामा मुद्दा प्रक्रियामै जानु सही नभएको उनको भनाइ छ । ‘कानुनको बर्खिलाप गर्नेलाई कारबाही गर्नुपर्छ, तर यसमा मुद्दा नै चलाउनुपर्छ जस्तो म देख्दिनँ,’ उनी भन्छिन्, ‘आस्थालाई सेलिब्रिटीभन्दा पनि म सामान्य नागरिकको रूपले हेर्छु, उनले गल्ती महसुस पनि गरेकी छिन्, यही आधारमा मुद्दा चलाउने हो भने प्रहरीबाट हजारौँ नागरिक पीडित भएका छन्, ती प्रहरीलाई के कारबाही भएको छ त ?’ प्रहरी र सर्वसाधारणलाई सबैलाई कानुन समान हुनुपर्ने उनको भनाइ छ ।

काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी महिला प्रहरीमाथि अन्याय भएकाले मुद्दा चलाउनु परेको बताउँछ । उनी भन्छन्, ‘गल्ती गर्नेहरू कानुनको दायरामा सबै आउँछन् भन्ने सन्देश दिन खोजेका हौँ ।’ यसअघि फिल्मको आलोचनात्मक समीक्षा गर्दा प्रनिश गौतम तथा प्रहरीलाई गाली गरेर गीत गाएकोमा र्‍यापर भिटेनलाई पक्राउ गर्दा प्रहरी आलोचित भएको थियो । नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...