नेकपामा ‘तँ’ भन्ने शब्द प्रयोग गरे पार्टीबाट निस्काशन



हाम्रो इकोनोमि

 

 

सत्तारूढ नेकपाले नेता कार्यकर्ताको आचरणमा सुधार ल्याउन ११ बुँदे आचारसंहिता जारी गरेको छ । पार्टीभित्र अराजकता र मनमौजी शैलीको विकास हुँद गएपछि नेकपाले पार्टीभित्र आचारसंहिता जारी गरेको छ । आचारसंहितामा घरभित्र र बाहिर नेकपाका नेता कार्यकर्ताले कस्तो ब्यवहार गर्ने भन्ने कुरा स्पष्टसँग लेखिएको छ ।

नेकपाले जारी गरेको आचारसंहिताअनुसार अब छुवाछुत गरे, छोरा, छोरीलाई ‘त’ भने शब्द प्रयोग गरे पार्टीबाट निस्काशनसम्मको कारवाही हुनसक्छ ।

‘कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उमेदवार बन्न बन्देज लगाउनुपर्छ’ दुई अध्यक्षले जारी गरेको आन्तरिक सर्कुलरमा भनिएको छ ‘कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।’

नेकपाको आन्तरिक सर्कुलरमा श्रमलाई बढी जोड दिएको छ । श्रम गर्ने र राज्यलाई कर तिर्ने वानीको विकास गर्न आग्रह गरिएको छ । नेकपाका बरिष्ठ नेता माधव नेपालले तयार गरेको यो आचारसंहितालाई पार्टी सचिवालयले अनुमोदन गरेपछि कार्यान्वयनका लागि सवै कमिटीहरुमा पठाइएको छ ।

आचारसंहित सर्कुलरको ७ नम्वर बुँदामा ऋण र सावटी दिँदा चनाखो बन्न आग्रह गर्दै कर छली गर्नेको सूचना सरकारलाई दिन निर्देशन दिएको छ । ‘पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ ।’

 

यी हुन् नेकपाले जारी गरेका आचारसंहिताका ११ बुँदा

१. प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्छ । उनीहरू जुनसुकै प्रकारको श्रमीक बन्न तयार हुनुपर्छ । आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्छ । पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ ।

२. सबै तहका नेता, कार्यकर्ता र सदस्यले आफ्नो परिवारमा श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्ने भावना विकास गर्नुपर्छ । बेलाबेलामा परिवारका सदस्यहरू सबै जुटेर पारिवारिक बैठक बसी हार्दिक पूर्ण वातावरणमा सबलै सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गर्नुपर्छ । १६ वर्ष पुगेका परिवारका सबै सदस्यहरूका बीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न  कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अफ्ठेरो काम आफूले लिनुपर्छ । परिवारका सदस्यहरू सबैसँगै बसेर खाना खानुपर्छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउनुहुँदैन र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्छ ।

 

परिवारमा गाली–गलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्छ । चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्छ । घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्छ । परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्णरुपले बन्द गर्नुपर्छ । छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पासनीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।

३. सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यहरूको सहयोगमा सम्पन्न गर्नुपर्छ । नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्छ । सहयोगीलाई सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्नुपर्छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिनेगरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यहरूसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्नुहुँदैन ।

४. पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ ।उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीहरूलाई न्यूनतम रुपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्छ ।

५. समाजमा रहेका कुरीति, रुढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाका विरुद्ध सधैं खडा हुनुपर्छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैँ प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भए तुरुन्तै पार्टीबाट निष्काशन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उमेदार बन्न बन्देज लगाउनुपर्छ ।

६. पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्छ । घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी हुर्काउनुपर्छ ।

७. पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । ऋण, सापटी वा आर्थिक लेनदेनमा विचार पुर्‍याएर काम गर्नुपर्छ । भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गर्न नमूना बन्नुपर्छ ।

८. समाजवादी संस्कृतिको आधार सामूहिक जीवन प्रणाली हो । सामूहिक जीवनको सुरुवात परिवारबाट हुन्छ । तर परिवारमा मात्र आधारित हुने हो भने परिवारका निम्ति मात्र सोच्ने र काम गर्ने स्वार्थी प्रवृत्तिको विकास हुन्छ । उत्पादनमा सामूहिकता, वितरणमा सामूहिकता र उपभोगमा पनि सामूहिकता कायम गर्न सकियो भने सामूहिक जीवन प्रणाली विकास गर्न सकिन्छ । त्यसर्थ, महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनका बीच वनभोज वा सहभोज गर्नुपर्दछ र सामूहिक भावना सिर्जना गर्नुपर्दछ । त्यस्ता कार्यक्रमहरूमा मद्यपान, धुम्रपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ । मनोरन्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्छ ।

९. प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्छ । आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कूल, कलेज सबै ठाउँ र संस्थानहरूमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्सोहन गर्नुपर्छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुल्ला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

१०. समाजमा रहेका कुरिती, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उँचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरिती अन्त्य गर्न सक्रियतापूर्वक लाग्नुपर्छ । यस किसिमका दुश्कार्यबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सँजायको भागीदार बनाउन सहयोग गर्नुपर्छ ।

११. उपरोक्त आचारसंहिता कार्यान्वयन गर्ने र गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरूको हो ।मुख्य जिम्मेवारी केन्द्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीको हो । पार्टीको सिद्धान्त,कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टीसदस्यको कर्तव्य हो । यसको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रनेसदस्यलाई कानुनसंग सम्बन्धित सवालमा कानुन बमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णय बमोजिम कारवाही गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा...

लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...