सस्तो खुवाउने होडबाजीले अब सित्तैमा खाना
सस्तोमा खाना खुवाउने होडबाजीमा अब सित्तैमा खान खुवाइने भएको छ । इनरुवा नगरबासीको संयुक्त आयोजनामा इनरुवा–४ बसचोकमा निशुल्क खान खुवाउने अभियान शुरु भएको हो ।
अभियानका लागि सत्य यादवको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । निशुल्क प्राप्त हुने खानामा दाल, भात, अचार, पापड खान पाउनुका साथै पानी पनि पाउने आयोजकले जनाएको छ । गरिब, असहाय, विपन्न र सडकमा भौँतारिएर दिन बिताउनेहरुलाई लक्षित गरी निःशुल्क खानपिनको अभियान शुरु गरिएको बताइएको छ ।
केही समयदेखि प्रदेश १ मा सस्तोमा खाना खुवाउने लहर नै चल्दै आएको छ । केही दिन अघिबाट विराटनगरमा पनि १० रुपैयाँमा पेटभरी खाना खुवाउन शुरु गरिएको थियो । त्यसैगरी दमकमा पनि मासुभात १० रुपैयाँमा र सादा खाना ५ रुपैयाँमा खुवाउन शुरु भएको छ । भद्रपुर र विर्तामोडमासमेत सस्तो खाना खुवाउने अभियान शुरु भएको छ ।