उपसभामुख तुम्बाहाङफेले भनिन् म राजीनामा दिन्न
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली अनुपस्थित नेकपा सचिवालयले गरेको निर्णय उपसभामुख शिवमाया तुम्बाहाडफेले नमान्ने भएकी छिन् । शनिवार बसेको नेकपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट राजीनामा दिन आग्रह गरेको थियो ।
तर उपसभामुख तुम्बाहाडफेले पहिले सभामुखको टुंगो लगाउन नेताहरुलाई आग्रह गरेकी छिन् । -पहिले सभामुखको टुंगो लगाउनुहोस्, त्यसपछि मात्र राजीनामा दिन्छु, -उनले नेकपाका शीर्ष नेताहरुलाई जवाफ दिन थालेकी छिन् । उनले आफुलाई सभामुखको उम्मेदवार नबनाए राजीनामा नदिने अडान समेत राखेकी छिन् ।
सभामुखको उम्मेदवार छान्न नेकपालाई निकै सकस परेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखमा कुरा मिल्न सकेको छैन । ओलीले सुवास नेम्वाड च्यापेका छन् भने दाहालले अग्नी सापकोटा वा पम्फा भूसाल मध्ये एक जनालाई सभामुख बनाउने पक्षमा छन् ।
सभामुखको बिषय टुंगो नलाग्दा आज बस्ने संसदको बैठक फेरी अनिश्चित बनेको छ । दुई पटक सुचना टाँस गरी स्थगित भएको बैठक आज पनि अनिश्चित बनेको छ । तर उपसभामुख तुम्बाहाडफेले भने आज बैठक चलाउने बताएकी छिन् ।


