देउवाले प्रचण्डसँग उपसभामुख मागे
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहान प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेका छन् । देउवा निवास बुढानीलकण्ठमा अध्यक्ष दाहालले एक घण्टा छलफल गरेर फर्केका छन् ।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगको नेतृत्वका बिषयमा छलफल गर्न पुगेका दाहाललाई देउवाले सभामुख र उपसभामुखका बिषयमा पनि जिज्ञासा राखेका थिए । स्रोतकाअनुसार देउवाले उपसभामुख कांग्रेसलाई दिन माग गरेका छन् ।
‘संसद चलाउन र सहमतिको वातावरण बनाउन उपसभामुख कांग्रेसलाई दिनुहोस्’ देउवाको भनाई उर्दृत गर्दै दाहाल निकट स्रोतले भन्यो ‘तर दाहालले यस बिषयमा ठोस जवाफ दिनुभएन, म पार्टीमा कुरा गर्छु भन्दै फर्किनु भयो ।’
कांग्रेस सभापति देउवाले निरन्तर उपसभामुख मागिरहेका छन् । तर सत्तारुढ दल नेकपा भने उपसभामुख कुनैपनि हालतमा कांग्रेसलाई नदिने अडानमा छ । राजपा र राष्ट्रिय जनमोर्चालाई उपसभामुख दिने नेकपाको तयारी छ । सभापति देउवाले भने संसदको वातावरण राम्रो बनाउन र सहमतिका आधारमा चल्न उपसभामुख कांग्रेसलाई दिनुपर्ने तर्क गरिरहेका छन् ।
पौडेल–सिटौला समुहको जिल्ला सभापति भेला आज पार्टी
मुख्यालय सानेपामा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समुहलाई दवाव दिन वरिष्ठ नेता रामचन्द्र पौडेल समुहले आज राजधानी काठमाडौंमा जिल्ला सभापतिहरुको भेला बोलाएको छ । पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकमा ५० भन्दा बढी जिल्लाका जिल्ला सभापतिहरु सहभागी हुने पौडेल पक्षले जानकारी दिएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा लगातार केन्द्रीय समितिबाट निर्णय लिन थालेपछि पौडेल समुहले विरोध गर्दै आएको छ । पार्टीको १४ औं महाधिबेशनलाई लिएर देउवा र पौडेल समुहबीच यतिबेला जुहारी चलिरहेको छ ।
११ पुसमा बसेको कांग्रेस केन्द्रीय समितिले बहुमतक आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या बढाउने निर्णय गरेको थियो । महाधिबेशनको कार्यतालिका तोक्ने पौडेल समुहको मुख्य माग भएपनि देउवाले सल्लाह नै नगरी कार्यतालिका तोकेका छन् भने पार्टीका विभागको संख्या बढाएका छन् ।
पार्टीभित्रको विवाद बारे छलफल गर्न पौडेल र सिटौला समुहले जिल्ला सभापतिहरुको भेला बोलाएको हो । ‘पार्टीभित्रको समस्या, भावी महाधिबेशन र वर्तमान परिस्थितिका बिषयमा छलफल गर्न जिल्ला सभापतिहरुको भेला बोलाएका हौ’ नेता प्रकाशमान सिंहले भने ‘भेलाबाट एउटा निस्कर्ष निकालेर त्यहीअनुसार हामी अघि बढ्छौ ।’
सहमतिको प्रयासमा संस्थापन र पौडेल पक्षबीच पटक–पटक वार्ता भए पनि नेताहरु निष्कर्षमा पुग्न सकेका छैनन् । विवाद साम्य नभएपछि युवा नेताहरुले देउवा र पौडेल पक्षलाई छुट्टाछुट्टै भेटेर समस्या सुल्झाउन दबाबसमेत दिएका थिए । तर पनि समस्या सुल्भिनेभन्दा बल्झिनेतिर गएको छ ।


