ओली–प्रचण्डको कार्यकक्षमा ताला



हाम्रो इकोनोमि

 

 

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ ०७५ मा पार्टी एकता भएको अर्को दिन दुवै अध्यक्ष ओली र प्रचण्ड पहिला धुम्बाराही र त्यसपछि पेरिसडाँडा गएर पार्टी केन्द्रीय कार्यालयको अवलोकन गरे । धुम्बाराहीमा प्रचण्डको कार्यकक्ष बनेको थिएन, त्यसैले प्रचण्डलाई ओलीकै कार्यकक्षमै कुर्सी राखियो । र, यस्तै अवस्था पेरिसडाँडामा पनि भयो । लगत्तै धुम्बाराही र पेरिसडाँडामा दुवै अध्यक्षका भिन्दाभिन्दै कार्यकक्ष बने । 

 

धुम्बाराहीको आ–आफ्ना कार्यकक्षमा वेलावेला ओली र प्रचण्ड जान्छन्, तर पेरिसडाँडामा ओलीको कार्यकक्ष बनेको साढे १९ महिना भयो ओली एकपटक पनि कार्यकक्ष पुगेका छैनन् । पार्टी एकतापछि प्रचण्ड तीन-चारपटक मात्र पेरिसडाँडाको कार्यकक्षमा पुगेका छन् । त्यसैले पेरिसडाँडामा रहेको ओली र प्रचण्डको कार्यकक्ष ताल्चा लगाएर राखिएको छ । मुसाले कुर्सी टेबुल र सोफा बिगार्यो कि भनेर कहिलेकाहीँ कोठा खोलेर कर्मचारीले हेर्छन् र सरसफाइ गरेर फेरि ताला लगाउँछन् । 

 

नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको कार्यकक्ष छ । अध्यक्ष प्रचण्ड, महासचिव पौडेल र प्रवक्ता श्रेष्ठ कहिलेकाहीँ पेरिसडाँडा पुग्ने गरे पनि अर्का अध्यक्ष ओली भने एकपटक गएपछि दोहोर्याएर पुगेका छैनन् । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षमा प्रायः ताला झुन्ड्याएको हुन्छ । पार्टीको कार्यक्रममा ओली धुम्बाराही जाने गरे पनि पेरिसडाँडाको आफ्नो कार्यकक्षमा भने दोहोर्याएर छिरेका छैनन् ।

 

तत्कालीन एमाले र माओवादीबीच ३ जेठ, ०७५ मा राष्ट्रिय सभागृहमा एकीकरणको घोषणा गरिएपछि ४ जेठमा अध्यक्ष ओली र प्रचण्डले धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय संयुक्त रूपमा अवलोकन गरेका थिए । त्यसवेला प्रचण्डको कार्यकक्ष पहिलाकै थियो । ओलीको कोठा मात्रै थियो । ओलीका लागि तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई बस्ने कोठा खाली गरिएको थियो । तर, कुर्सी, टेबुल बनेका थिएनन् । त्यस दिन ओली र प्रचण्ड दुवैले कार्यकक्ष हेरे । तर, दुवै जना केहीबेर एकै ठाउँ कुर्सी राखेर प्रचण्डको कार्यकक्षमा बसे ।

 

दुवै ठाउँमा कार्यालय भएकाले एकतापछि पेरिसडाँडामा नेताहरूको कम उपस्थिति हुने गरेको तत्कालीन माओवादी पार्टी कार्यालयका मुख्य सचिव एवं नेकपा केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले बताए । ‘पार्टी कार्यालय अवलोकनका दिन अध्यक्ष, महासचिव, प्रवक्तालगायत नेताहरू आउनुभयो । आ–आफ्नो कार्यकक्षमा एकछिन बस्नुभयो । कोठा–कोठा हेर्नुभयो । पुस्तकालय अवलोकन गरेर जानुभयो,’ बुढाथोकीले भने, ‘अध्यक्ष ओली दोहोर्याएर आउनुभएको छैन । अध्यक्ष प्रचण्ड तीन–चार पटकभन्दा बढी आइसक्नुभयो ।’ महासचिव र प्रवक्ता भने प्रायः आउने गरेको उनले बताए ।

 

पार्टी एकता हुँदा दुवै केन्द्रीय कार्यालयमा दुवै अध्यक्षका कार्यकक्ष राख्ने निर्णय गरिएको थियो । त्यसैअनुसार, पेरिसडाँडामा ओली र प्रचण्डको कार्यकक्ष बन्यो । तर, आफ्नो कार्यकक्ष बनेको झन्डै २० महिना हुन लाग्दासमेत ओली एकपटक पनि पेरिसडाँडा गएका छैनन् । अहिले नेकपाले धुम्बाराहीलाई केन्द्रीय कार्यालय तथा पेरिसडाँडालाई केन्द्रीय विभाग र जनसंगठनहरूको सम्पर्क कार्यालयका रूपमा प्रयोग गर्दै आएको छ ।

 

धुम्बाराहीस्थित कार्यालयमा अध्यक्षद्वय, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित नौ सदस्यीय सचिवालयका सबै नेताको फरक–फरक कार्यकक्ष छ । धुम्बाराहीमा तेस्रो तल्लामा दायाँतिर प्रचण्ड र बायाँतिर ओलीको कार्यकक्ष छ भने बीचमा ‘वेटिङ’ कक्ष छ । दुवै अध्यक्षको कार्यकक्षबीच रहेको ‘वेटिङ’ कक्षमा नेकपाले सचिवालय बैठक गर्दै आएको छ । तर, पार्टी एकतायता प्रचण्डको अध्यक्षतामा तीनपटक धुम्बाराहीमा सचिवालयको बैठक बस्दा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भने सहभागी भएका छैनन् ।

 

अध्यक्ष प्रचण्डले पनि निवासलाई नै भेटघाटमा प्रयोग गर्दै आएकाले बैठक र अत्यावश्यक काममा बाहेक धुम्बाराही केन्द्रीय कार्यालय धेरै कम पुग्छन् । ‘कार्यालयमा महासचिव मात्र नियमितजस्तै आउनुहुन्छ,’ धुम्बाराहीस्थित कार्यालय सचिव श्रीराम ढकालले भने, ‘अन्य सबै नेताहरू प्रायः व्यस्त भएर होला कमै आउनुहुन्छ । त्यसैले, अध्यक्षहरूको कार्यकक्ष पनि आएको वेला मात्र खोलिन्छ, अघिपछि ताल्चा लगाएरै बन्द गरिएको हुन्छ ।’ नेकपाले पार्टीका केन्द्रीय कार्यक्रम र बैठकहरू धुम्बाराही र जनवर्गीय संगठन विभागीय कार्यक्रमहरू पेरिसडाँडामा गर्दै आएको छ ।

 

पेरिसडाँडास्थित नेकपा कार्यालयको दोस्रो तलाको पश्चिमतिरका दुई अलग–अलग कोठालाई अध्यक्षको कार्यकक्ष बनाइएको छ । अध्यक्ष ओली र प्रचण्डको कार्यकक्षका सोफा, टेबुल, दराज, भित्तामा राखिएका माक्र्स, एंगेल्स, लेनिन र माओका तस्बिर एउटै राखिएको छ । तर, सोफा, टेबुल, दराजको रंग भने फरक छ, प्रचण्डको रातो र ओलीको कालो । अध्यक्ष ओली–प्रचण्डका अतिथि कुर्ने कोठामा रातो र खैरो रंगका सोफा राखिएका छन् । नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपालको पेरिसडाँडामा कार्यकक्ष बनाइए पनि बाहिर नेमप्लेट राखिएको छैन ।

 

ओलीको कार्यतालिका डेढ वर्षदेखि अलपत्र

नेता–कार्यकर्ता र सांसदहरूले भेट्न मात्रै होइन, समस्या सुनाउनसमेत नपाएको भन्दै व्यापक आलोचना गरेपछि प्रधानमन्त्री ओलीले सचिवालयमार्फत सम्पर्कमा रहन, जनगुनासो सुन्नका लागि नियमित कार्यतालिका नै बनाए । १३ असार, ०७५ मा प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले महिनाको १ गते धुम्बाराही र १५ गते पेरिसडाँडा कार्यालय पुगेर बिहान ११ देखि दिउँसो ३ बजेसम्म नेता–कार्यकर्ता भेट्ने कार्यतालिका नै सार्वजनिक गरे ।

त्यसपछि कार्यतालिकाअनुसार, उनी एकपटक धुम्बाराही पुगे । त्यसयताको डेढ वर्षमा भने कार्यतालिका लागू हुन सकेको छैन । ‘प्रधानमन्त्रीज्यू व्यस्त बन्नुभएकाले पनि कार्यतालिकाअनुसार, भेटघाट हुन सकेन,’ प्रधानमन्त्री ओलीका तत्कालीन प्रेस संयोजक चेतन अधिकारीले भने । नयाँपत्रिकाबाट शुरोजङ्ग पाण्डे

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...