देउवा तानाशाह बन्दै, पौडेल पक्षले कांग्रेस केन्द्रीय समिति बैठक बहिष्कार गर्यो



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । पछिल्लो समय कांग्रेसमा देउवा पक्ष र पौडेल पक्षबीच कुरा नमिल्दा कांग्रेसको विवाद सतहमा आएको छ ।

देउवा पक्षले बारम्बार बोलाएको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गर्र्दै आएको छ । आजको बैठक पनि पौडेल पक्षले बहिष्कार गर्ने बताइएको छ । आजको केन्द्रीय समिति बैठकमा राष्ट्रियसभा बैठकबारे छलफल हुने बताइएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगातार बहिष्कार गर्दै आएपछि केन्द्रीय समितिको बैठक पटक–पटक सर्दै आएको छ । देउवा पक्षले पार्टीलाई मनोमानी रुपमा चलाएको भन्दै पौडेल पक्ष रुष्ट बन्दै आएको छ । संस्थापन पक्षले पार्टीको महाधिवेशनको मिति र विभागहरु एकलौटी रुपमा गठन गरेपछि पौडेल पक्ष झनै चिडिएको छ ।

पौडेल पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरि महाधिवेशनको मिति तोकेको भन्दै नसच्याएसम्म केन्द्रीय समिति बैठकमा नजाने अडान लिएको छ ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जीवनमा तानाशाही युगको सुरुआत गरेको आरोप लागेको छ । यो आरोप उनीइतरको समूहको नेतृृत्व गरिरहेका रामचन्द्र पौडेललगायतले लगाएका छन् । केन्द्रीय समितिको बैठकमा पौडेल समूहको उपस्थिति नहुँदा नहुँदै विभिन्न महत्वपूर्ण निर्णय गरिएको र त्यहि लागू हुने अठोट देउवाले देखाएपछि आरोप स्वभाविक हिसाबले लगाउन थालिएको छ ।

महासमितिमा अल्पमतमा रहे पनि केन्द्रीय समितिमा बहुमतमा रहेका देउवाले प्रजातान्त्रिक प्रणालीको हवाला दिँदै आफूखुसी निर्णय गराउनुलाई कतिपय कार्यकर्ताले पनि तानाशाही प्रवित्ति भनेका छन् । त्यसैले उनीइतरका नेता र समूहले अलग बैठक डाकी केही महत्वपूर्ण निर्णय गर्ने तयारीले कांग्रेसको आन्तरिक जीवनमा ठूलै धक्का लाग्ने देखिन्छ ।

मध्य धारमा देखिएका तर १३ औं महाधिवेशनको दोस्रो राउन्डमा सभापतिका लागि देउवालाई सहयोग गरेका कृष्णप्रसाद सिटौलाले पत्र लेखेरै सहमतिका आधारमा पार्टीका राजनीतिक निर्णय लिनका लागि सुझाव दिएका थिए । तर, देउवाले त्यसो गर्न मानेनन् । बरु, बुधबार बिराटनगरमा ओर्लेपछि आफूले गरेको निर्णयमा थप बल दिँदै भनिदिए,‘पार्टीको निर्णय सबैले मान्नुपर्छ ।’

 

देउवाले के–के गरे ?

अर्को कार्यकालमा पनि सभापति बन्ने अभिलाषा राखेका ७७ बर्षिय देउवाले पार्टीका विभाग २७ बाट ४७, तरुण दलको अवधि ६ महिना थप्ने, आगामी बर्षको फागुनमा मात्रै महाधिवेशन गर्ने निर्णय गरेर जंगबहादुर राणाको शैली अपनाएको कांग्रेस नेताले नै आरोप लगाउन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता भएका नाताले सरकारलाई विधि विधान र संविधानका दायरा सिकाउनेले आन्तरिक पार्टी निर्णयमा तानाशाही व्यवाहार देखाएको भन्दै उनको आलोचना पदाधिकारी, बरिष्ठ नेतालगायतबाट नै हुन थालेको छ । महामन्त्री डा. शशांक कोइरालाले त अब देउवाको नेतृत्व फेरि आए कांग्रेस समाप्त हुनसक्नेसम्मको चेतावनी दिएका छन् ।

यति मात्र होइन, कांग्रेसको जीवन बचाउन पनि देउवालाई नेतृत्वबाट हटाउनुपर्ने उनले जिकीर गरिसकेका छन् ।

यसै साता केन्द्रीय समितिको बैठक डाकी देउवाले मनलाग्दी निर्णय गराइछाडे, जसमा रामचन्द्र पौडेललगायतका नेताको सहभागीता नै थिएन । सहमतिका आधारमा हुनुपर्ने निर्णय बहुमतका आधारमा गरेर पार्टीजीवन नै ध्वस्त बनाएको नेताहरूको कथन छ ।

कतिपय ठाउँमा तत्कालिन माओवादीसँग सहकार्य गरेको, महाअभियोगलगायतका मुढे बलका काम गरेर कांग्रेसलाई जनतामा अलोकप्रिय बनाएको आरोप खेपीरहेका उनले पार्टी सत्तामा बसेर पदको दुरुपयोग गरेको आरोप खेपिरहेका छन् ।

‘जंगबहादुरका पालामा पनि यतिसम्मको अराजकता र मनलाग्दी काम भएको थिएन होला, जुन सभापतिले गरिरहेका छन् । सहमतिका आधारमा नै बहुमत र अल्पमतको निर्णय हुने गर्छ । एउटा तप्का बैठकमा सहभागी नभएको मौकामा मनलाग्दी निर्णय भयो’, एक केन्द्रीय सदस्य भन्छन्,‘भ्रातृ संगठनदेखि अनेक संस्थालाई ध्वस्त पारेपछि पार्टीलाई पनि खरानी बनाउने व्यवाहार उत्रिएको प्रस्ट देखियो ।’

त्यसो त नेपाल विद्यार्थी संघका लागि पारित गरिएको विधान मिचेरै नेतृत्व ५० कटेकालाई दिन लागेको भनी विरोध भएको थियो । जहाँ कार्यकर्तालाई अपशव्द नै बोलेर देउवाले गाली गरेका थिए । त्यसबेला पनि उनको चर्को आलोचना भएको थियो । यति मात्र होइन, देउवाको चरित्रलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले व्यंग्यात्मक रुपमा कुरा नै नबुझिनेसम्म भनेकी थिइन् ।

‘उहाँको कार्यशैली प्रधानमन्त्री हुँदा होस् वा सभापति हुँदा एउटै खालको देखिएको छ । हिजोको दिनमा जस्तै अहिले पनि पदको दुरुपयोग गरी मनपरी निर्णय लिन थाल्नु भयो’, कांग्रेस उच्च स्रोतले भन्यो,‘बुढानिलकण्ठलाई मुकाम बनाएर कांग्रेसलाई एक्लौटी ढंगले चलाउने कोशिश भएको छ यो मान्य हुँदैन ।’

देउवाको पछिल्लो निर्णयको विरोधमा नेता रामचन्द्र पौडेलले तल्ला तहसम्म नै पार्टीमा भण्डाफोर गर्दै हिँड्ने बताइसकेका छन् । यहाँसम्मकी पत्रकार सम्मेलन गरेरै आफ्ना सभापतिविरुद्ध पौडेलले आक्रोश व्यक्त गरेका थिए ।

देउवाका यस्तो हर्कतका विषयमा भने कांग्रेसमा उदाइरहेको कृष्णप्रसाद सिटौलाको समूह भने मौन रहेको छ । देउवाविरुद्ध पौडेलसहित महामन्त्री कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमानसिंहलगायतको ठूलो खेमा लागेको छ ।

‘हिजोका दिनमा कोइराला परिवारले देउवालाई जसरी पेलेको थियो, उनीहरूले पनि पेलिनुपर्दाको पीडा खेपीरहेका छन्’, स्रोतले भन्यो,‘गिरीजाप्रसाद कोइरालालेचाहिँ विधि र विधान मिचेर जे गर्दा नि ठिक थियो, अहिले देउवाले गर्दाचाहिँ गलत भयो ?’

यति मात्र होइन केन्द्रीय समितिका बैठकमा पनि कतिपयको भनाभन नै हुने गरेको थियो । यहि क्रममा महासमिति सदस्यहरूको भेला गरी महाधिवेशनलगायतका विषयमा निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...